सीआईडी भन्दै ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ परे

  असोज ११, २०७८

असोज ११ गोरखा / नक्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ ।आबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो बजार नजिकै उनीहरूले सोमवार राति २ वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पुर्‍याएका थिए । उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको २ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेका थिए ।

राति २ बजेतिर उनीहरूले प्रहरीको सीआईडी हौँ भन्दै जबरजस्ती मालवाहक गाडी नियन्त्रणमा लिने, धाकधम्की दिने, सहचालकको मोबाइल खोस्ने र ट्रकमा भएको सामानमा समेत क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले बताए।

घटनामा संलग्न गोरखा नगरपालिका ११ का २० वर्षीय निरञ्जन तामाङ, त्यही ठाउँका २१ वर्षीय निरज कोइराला र १९ वर्षका सुरज तामाङलाई घटनास्थलबाट गए राति नै पक्राउ गरिएको हो । घटनापछि फरार रहेका त्यही ठाउँका २० वर्षीय ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई आज बिहान पक्राउ गरिएको दाहालले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर