छुट्टाछुट्टै स्थानमा डुबेर सप्तरीका दुई बालिका सहित तीन जनाको ज्यान गयो

  असोज ०५, २०७८

असोज ५ सप्तरी / सप्तरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ । खडक नगरपालिका तथा महादेवा र तिलाठी-कोइलाडी गाउँपालिकामा एक/एक जनाको डुबर मृत्यु भएको हो ।

खडक नगरपालिका-८ मुसहरिनयाँमा तीन वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय राजेशकुमार चौधरीकी छोरी एलिजाकुमारी चौधरीको घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबिरहेको अवस्थामा उनलाई काका रामकुमार चौधरीले निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
महादेवा गाउँपालिका-४ परसाही टोलकी एक युवतीको पोखरीमै डुबेर मृत्यु भएको छ । सार्वजनिक पोखरीमा भाडा माझ्न गएकी ३० वर्षीया लक्षनकुमारी सदाको पोखरीमा लडेर मृत्यु भएको हो । अविवाहित रहेकी उनलाई छारे रोग थियो । पानीमा अचानक लडेकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, तिलाठी कोइलाडी गाउँपालिकामा एक बालिकाको नहरमा डुबेर मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ लौनियाकी १२ वर्षीया सबना खातुन घर नजिकैको नहरमा कपडा धुने क्रममा पानीमा डुबेकी थिइन । त्यही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र तीनै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर