छुट्टाछुट्टै घटनामा सप्तरीमा एकै दिन ३ जनाको ज्यान गयाे

  भदौ २५, २०७८

भाद्र २५, सप्तरी / सप्तरीमा एकै दिन भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम राजबिराज नगरपालिका-५ मा पर्ने राजविराज–कुनौली सडक खण्डमा बिहीबार साँझ विष्णुपुर तर्फ जाँदै गरेको ७ प ४४१० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउँपालिका-५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको ज्यान गएकाे प्रहरीले जनाएको छ । ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । प्रहरीका अनुसार ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ ज्यान गएको छ । चन्दनले आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रममा उहाँलाई करेन्ट लागेर घटना स्थलमा नै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका – ३ कचन्दाहा बस्ने २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर ज्यान गएको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर