घोराही । दाङको घोराही उपमहानगरपालिका -१६ सर्रास्थित राप्ती इञ्जिनियरिङ कलेजमा छैटौँ जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुनेभएको छ । शैक्षिक तथा बौद्धिक विकासको अभियानलाई निरन्तरता दिँदै कलेजले यसवर्ष पनि जिल्ला भित्रका कक्षा १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आगामी मंसिर २६ गते जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो ।

कलेजले जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूमा ज्ञान, सिर्जनशीलता, प्रतिस्पर्धात्मक क्षमता र बौद्धिक विकास गर्ने उद्देश्यले विगत ६ वर्षदेखि जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आइरहेको कलेजका प्रिन्सिपल रेशम गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगितामा विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति, तत्काल निर्णय गर्ने क्षमता, विषयवस्तुको बुझाइ तथा समूहगत प्रतिस्पर्धात्मक क्षमताको परीक्षण गरिनेछ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न र शैक्षिक प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने कलेजले विश्वास लिएको छ । प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन गत वर्षकै पुरस्कार राशिलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना चौथो र सान्त्वना पाँचौ स्थान हासिल गर्ने विद्यार्थीले दुई हजार पाँचसय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कलेजले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन, बौद्धिक क्षमता र शैक्षिक चेतनाको अभिवृद्धि गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले यस प्रतियोगितालाई निरन्तरता दिँदै आएको कलेज प्रशासनले जनाएको छ । कलेजले प्रतियोगितामार्फत विद्यार्थीहरूमा ज्ञान, सिर्जनशीलता, तार्किक क्षमता र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास हुने विश्वास गर्दै जिल्लाका सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गरेको छ ।

२०६५ सालमा स्थापना भएको राप्ती इञ्जिनियरिङ कलेजले इञ्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । कलेजले पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी बिई सिभिल, बिई कम्प्युटर, बिबिए तथा बिसिए कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साथै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्यूटर इञ्जिनियरिङ, प्रि—डिप्लोमा इन सर्भे (अमिन), सिभिल, र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।






