हल्लाको शक्ति  !

  माघ २७, २०८०

काठमाडौं । एउटा रुखमुनि एउटा गधा आराम गरिरहेको थियो । बस्दाबस्दै उसले सोच्यो यदि यो धर्ती फाट्यो भने हाम्रो के हालत होला  ? अचानक नजिकै ठूलो आवाज सुनियो । आवाज सुन्नासाथ गधा ‘बचाऊ, बचाऊ’ भन्दै बेतोडले भाग्न थाल्यो ।

गधा भागेको देखेर अर्को गधाले प्रश्न गर्‍यो– ए साथी ! तिमी किन भागिरहेका छौ ? उसले आत्तिँदै भन्यो– तिमी पनि भाग, धर्ती फाट्दै छ ! उसको कुरा सुनेपछि प्रश्नकर्ता गधा पनि चिच्याउँदै भाग्यो । एकैछिनमा सयौँ जनावर उनीहरूसँगै आत्तिँदै चिच्याउँदै भाग्न थाले । हेर्दाहेर्दै जंगलमा हाहाकार मच्चियो ।

यो भागदौडबारे जंगलको राजा सिंहले थाहा पायो, भागिरहेका जनावरलाई रोक्दै उसले प्रश्न गर्‍यो– होइन, तिमीहरू किन यसरी भागिरहेका छौ ? भिडको अगाडि रहेको बाँदरले हात जोडेर भन्यो– महाराज ! धर्ती फाट्दै छ । हजुर पनि आफ्नो ज्यान बचाउने भए यहाँबाट भाग्नुहोस् । सिंहले गर्जिंदै प्रश्न गर्‍यो– कसले भन्यो

यो सब ? सिंहको प्रश्न सुनेपछि सबै एक–अर्काको मुख ताक्न थाले । सबैले आफूले अर्काबाट सुनेको भन्दै जाँदा सुरुमा गधाले भनेको थाहा भयो ।

 

गधालाई सिंहको अगाडि ल्याइयो । सिंहले प्रश्न गर्‍यो– तँलाई धर्ती फाट्दै छ भन्ने कसरी थाहा भयो ? गधाले भन्यो– मैले आफ्नै कानले धर्ती फाटेको आवाज सुनेको थिएँ सरकार ! सिंहले भन्यो– त्यसो भए मलाई त्यो धर्ती फाटेको ठाउँ देखाउन हिँड् । सिंहको आदेश पाएपछि गधा अघि लाग्यो । सिंह र अन्य जनावर उसको पछि लागे ।

आफू पहिले बसिरहेको रुखको फेदमा पुगेपछि गधाले भन्यो– महाराज ! म यहीँ थिएँ । अचानक धर्ती फाटेको आवाज आयो र धुलो पनि उड्यो । अनि म यहाँबाट भागेँ । सिंहले रुखको वरिपरि घुमेर हेर्‍यो र त्यसको कारण पत्ता लगायो अनि भन्यो– मेरा प्यारा जंगलवासीहरू हो ! यहाँ नजिकै एउटा नरिवलको अग्लो रुख रहेछ । हावा चल्दा नरिवल झरेर एउटा ठूलो ढुंगामा बजारिएछ । त्यही फुट्दा आएको आवाज र धुलो देखेर यस मूखले धर्ती फाटेको ठानेछ । यो त गधा हो, यसको बुद्धि छैन । तर, तपाईंहरू पनि कसैले ‘कागले कान लग्यो’ भन्दैमा कानै नछामी दौडिनुभयो, होइन ? नयाँ पत्रिकाबाट

 

 

तपाईंको प्रतिक्रिया

थप खबर