मिलन आफन्त
आदरणीय पाठकहरू, अहिले मेरो हातमा ‘गौतम बुद्ध : उनको जीवन र दर्शन’ भन्ने पुस्तक रहेको छ। पुण्य प्रसाद प्रसाईंद्वारा प्रस्तुत र डिकुरा पब्लिकेसन पालिद्वारा प्रकाशित उक्त पुस्तकलाई आधार बनाएर यो महत्त्वपूर्ण आलेख तयार पार्ने जमर्को गरिएको छ। यसले लेखबाट तपाईंले गौतम बुद्धको जीवनी, बुद्ध धर्म र उनको ज्ञान, दर्शनबारे यथेष्ट जानकारी प्राप्त गर्नु हुनेछ।
नेपालको पश्चिम तराईमा कपिलवस्तु जिल्लामा ‘कपिलवस्तु’ नाम गरेको एउटा रमणीय स्थल छ। आजभन्दा लगभग २६०० वर्ष तिरको कुरा हो, राप्ति नदीको किनारमा शाक्य जातिको अति सुन्दर तथा समृद्धिशाली एक गणराज्य थियो जसलाई कपिलवस्तु भनिन्थ्यो। एक अथवा अनेकौं गाउँको सर्वाधिकारी जमिनदार जसलाई राजा भनिन्थ्यो। एक अथवा अनेकौं गाउँको सर्वाधिकारी जमिनदार जसलाई राजा भनिन्थ्यो, उनीहरू लोकतान्त्रिक पद्धतिबाट आफू मध्येबाट कुनै एकलाई महाराज छान्थे। आफ्नो पालो आएपछि शुद्धोदन कपिलवस्तुको राजगद्दीमा बसे। शुद्धोदन धर्मात्मा, प्रतापी र प्रजावत्सल राजा थिए। महामाया जसलाई मायादेवी पनि भनिन्थ्यो राजा शुद्धोदनकी रानी थिइन। राजा शुद्धोदन तथा महारानी महादेवीको विवाहित जीवनमा धेरै समयसम्म पनि सन्तान जन्मिएनन्। पछि उनीले सिद्धार्थ गौतमलाई जन्म दिइन्। यसरी शुरु हुन्छ, गौतम बुद्धको जीवनी, ……. ।
सिद्धार्थको जन्म : सुत्केरी हुने दिन नजिकिँदै जाँदा रानीलाई माइत जान मन लाग्यो। सायद आज भोलिका कतिपय चलन जस्तै त्यो बेला पनि पहिलो बच्चा माइतमा नै जन्माउनु पर्छ भन्ने चलन रहेको होस्। उनले राजासित माइत देवदह जानका लागि अनुमति मागिन्। राजाले उनको अनुरोध सहर्ष स्वीकार गरे। राजाले महारानी सवारी हुने बाटो सजाउन लगाए। राजा शुद्धोधनले महामयका लागि रथ आदिको व्यवस्था गरिदिए। यसरी महामाया आफ्ना सेविकालाई साथमा लिएर हिँडिन्। कपिलवस्तु र देवदहको बीचमा लुम्बिनी भन्ने उद्यान थियो। यो उद्यानमा सालवृक्षको घारी थियो, जहाँ दुवै देशका मानिसहरू घुमफिर गर्न आउँथे। उद्यानमा मनमोहक फुलहरू फुलेका थिए। चराचुरुङ्गीको सुमधुर आवाज गुन्जिरहेको थियो। महारानी मायादेवी शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनी उद्यानमा पुगिन्।
महारानीले त्यहाँको शीतल छहारी डुल्न चाहिन्। त्यसै बेला रानीलाई आफ्नो शारीरिक स्वभावमा केही परिवर्तन भएको अनुभव भयो। त्यसैले महारानीले यहाँ नजिकैको सालवृक्षको एउटा हाँगो समातिन्। लावालस्कर पर हटे। परिचारिकाले महारानीको स्थिति बुझेर चारैतिर कपडाको घेरा लगाई दिए। केही क्षणमा नै मायादेवीले सालवृक्ष मुनि एउटा बत्तीस लक्षण युक्त छोरा जन्माइन्। बालक राजकुमार जन्मेकै दिन अन्य सात कुराको पनि जन्म भयो। ती हुन्-यशोधा देवी, सारथि छन्न, कालुदायी अमात्य, मंगल हात्ती, कन्थक घोडा, बोधिवृक्ष र धनले भरिएका चार वटा घडा। यसरी बालक कुमार (बोधिसत्य)को जन्म लुम्बिनीमा वैशाख पूर्णिमाको दिन भयो। बालक कुमारलाई लिएर मायादेवी सिन्दूर जात्रासँगै कपिलवस्तु फर्किन्। कपिलवस्तुमा मायादेवी र बालक कुमारको भव्य स्वागत भयो।
सिद्धार्थ गौतमको नामकरण : बच्चाको नाम सिद्धार्थ राखियो, आमा गौतमीको छोरा भएकाले उनलाई गौतम पनि भनि न थालियो। सिद्धार्थको अर्थ मनोकामना पूर्ण हुनु र गौतम उनको कुलमान थियो। लुम्बिनी उद्यानमा जन्मिएका आफ्ना छोरालाई हेर्न पाउँदा राजा शुद्धोदनको हर्षको सीमा रहेन। उनले मायादेवी र छोरालाई विशेष रूपले हेर विचार गर्न लगाए। कपिलवस्तु देखि उत्तरी पहाडी भूभागमा धेरै ऋषिहरू बस्थे। यो तपोभूमि नै थियो। राजा शुद्धोधनले त्यो बेलाको प्रचलित प्रथा अनुसार आफ्नो छोराको भविष्य थाहा पाउनका लागि पुरोहितलाई बोलाए। ती मध्ये कालदेवल नामक एक वृद्ध ऋषिलाई राजा शुद्धोदन र कपिलवस्तुका जनताले खुब मान्थे। राजा शुद्धोदनका छोरा जन्मेको थाहा पाएर उनी कुमारलाई हेर्न राजदरबार आए। महाराज शुद्धोदनले आफ्नो छोरालाई क्रृषिबाट आशीर्वाद दिलाउन चाहे। राजकुमारलाई ऋषिको खुट्टा छुवाउन खोज्दा कृषिले राजकुमार अत्यन्त पुण्यवान भएको लक्षण देखे। त्यसैले ऋषि साहै खुसी भएर हाँसे। तर मुख निन्याउरो पार्दे ऋषिले आँखाबाट आँसु झार्न थाले। यो देखेर राजा शुद्धोदनलाई आश्चर्य लाग्यो।
ऋषि कालदेवलले राजकुमारमा महापुरुषको लक्षण भएको, अति पुण्यवान् तथा भविष्यमा ठूलो ज्ञान पाएर बुद्ध हुने कुरा राजा शुद्धोदनलाई बताए। तर आफू अहिले नै वृद्ध भइसकेकाले उनको उपदेश सुन्न नपाउने भएकाले आफू हाँसेको र रोएको कुरा राजालाई सुनाए। यति भन्दै ऋषि कालदेवलले राजकुमारलाई दण्डवत् गरे। यस्तो आश्चर्यमय घटना देखेर महाराज शुद्धोदनले आफ्ना छोरा साधारण नभई ठूला हुन्, नत्र यत्रा महाऋषिले किन वन्दना र दण्डवत गर्थे भनि आफूले पनि पुत्र रत्नलाई दण्डवत् गरे। उनी आफ्नो आँखाबाट आँसु झार्दै असीम आनन्दको महासागरमा डुबे।
शाक्यकुलमा बालक जन्मेको पाँचौं दिनमा नामकरण गर्ने परम्परा थियो। उनले विद्धानहरूलाई बोलाए। त्रिवेदमा पारङ्गत १०८ जना ब्राह्मणलाई आमन्त्रण गरे। राजाले आमन्त्रित ब्राह्मणलाई मिष्टान्न भोजन गराए। त्यसपछि राजाले ब्राह्मणलाई बालकको नामकरण के गर्ने भनी सोधे। ती १०८ ब्राह्मण मध्ये राम, धज, लक्षण, मन्ती, कौण्डन्य, भोज, सुयान, सुदत्त नाम गरेका ज्योतिष विद्यामा पारङ्गत अति श्रेष्ठ आठ जना पण्डितले राजकुमारमा शुभ लक्षण देखे। ती विद्धानहरूले राजकुमारको नाम सिद्धार्थ राखे। सिद्धार्थको अर्थ आफूले चाहेको सिद्ध हुनु हो। ती विद्धानहरूले राजकुमार राजपाट सम्हालेर राज्यमा बसेपछि महान चक्रवर्ती राजा हुने छन्। यदि दरबार छोडेर प्रव्रजित भएमा संसारभरिका बुद्ध हुनेछन् भनी घोषणा गरे।
ती आठ जना मध्ये सबैभन्दा कान्छो कौण्डन्यले सिद्धार्थ कुमार ठूलो भएपछि राज्य छोडी प्रव्रजित हुनुहुनेछ र संसार भरिका महान् बुद्ध हुनु हुनेछ भनी घोषणा नै गरे। उनले भने, ‘एक वृद्ध, एक रोगी, एक मृतक र एक सन्यासिलाई देखेर राजकुमार संसारबाट विरक्त हुनेछन्।’ सिद्धार्थ ठूलो भएपछि महान् सम्राट हुने कुराले शुद्धोदन धेरै खुसी भए। तर राजकुमारले राजपाठ छोडेर प्रव्रजित हुने कुराले उनी साहै चिन्तित भए। राजा शुद्धोदन आफ्ना राजकुमार सिद्धार्थ गृहस्थलमा बसुन्, राजपाठ सम्हालुन् र आफ्नो उत्तराधिकारी बनुन् भन्ने चाहन्थे। यसरी राजकुमारलाई सर्वाथसिद्ध, अर्थात् सिद्धार्थ भन्ने नामकरण राजाका चौरासी हजार नाता कुटुम्बले उपस्थितिमा सम्पन्न भयो।
मायादेवीको मृत्यु र सिद्धार्थ कुमारको शैशवकाल : सिद्धार्थको पालनपोषणका लागि राजा शुद्धोदनले असंख्य धाईता सुसारेको प्रबन्ध गरिदिएका थिए। तर मातृ प्रेमको अनुभूति गर्न नपाउँदै नामकरण भएको दुई दिनपछि सिद्धार्थकी आमा महामायाको देहान्त भयो। बालकको जन्मबाट सबै प्रसन्न भए, तर यो नवजात शिशुले आफ्नी आमाको प्रेम पाउन सकेनन्। हुन त बच्चाले दोस्रो आमा प्रजापति गौतमीको प्रेम पाए। महारानीको देहान्त भएकोमा सबै शोकमग्न भए। राजा शुद्धोदन सबैभन्दा बढी शोकमग्न भए। किनकि मायादेवी उच्च कुलिन, गुणवती, शीलबती थिइन्। मायादेवीको देहान्तपछि राजा शुद्धोदनले सिद्धार्थ कुमारको पालन पोषणका लागि प्रजापति गौतमीसँग विवाह गरे। प्रजापति गौतमी माया देवीकी बैनी थिइन्। उनले राजकुमार सिद्धार्थलाई आफ्नै छोरा जसरी पालन पोषण गरिन्।
सानी आमा प्रजापति गौतमीको स्याहार सुसारबाट राजकुमार सिद्धार्थ क्रमशः हुर्किए। उनको शारीरिक विकास हुँदै गयो। समुचित लालन पालनका कारण सिद्धार्थको शरीर हृष्टपुष्ट हुँदै गयो। उनी आठ वर्षको छँदा शुद्धोदनले अनेकौं विद्यान पारङ्गत गुरुहरू राजप्रासादमा ल्याएर राजकुमारलाई शिक्षादीक्षा प्रदान गरे। राजकुमार सिद्धार्थ अति तीक्ष्ण बुद्धिका थिए। राजकुमार धेरै विद्यामा छिट्टै नै पारङ्गत भए जसले गर्दा गुरुहरू सहित सबै जना आश्चर्य चकित भएका थिए। एक पटक सिकेको कुरा उनी कहिल्यै बिर्सँदैनथे। उनी विद्यामा चलाख र निपुण थिए। उनी आफ्ना गुरुको आदर गर्थे र सबै प्रति असल व्यवहार गर्थे।
सिद्धार्थ गौतम बहुमुखी प्रतिभाशाली व्यक्तित्व : सिद्धार्थ कुमार प्रतिभाशाली थिए। विद्या हासिल गर्ने कुरामा होस् या कला प्रदर्शनको कुरामा उनी पारङ्गत थिए। शारीरिक तथा मानसिक रूपमा पनि उनी सक्षम थिए। उनी अनुशासित हुनुको साथै आँटिला पनि थिए। उनी साहसिला घोडसवार थिए। रथ हाँक्नमा पनि सानै उमेरदेखि सिपालु थिए। समय बित्दै गएपछि राजकुमार सिद्धार्थ किशोरावस्थामा प्रवेश गरे।
राजा शुद्धोदनले राजकुमारका लागि रम्य, सुरम्य र शुभ नामका साहै रमणीय तथा मनोहर तीन वटा महल बनाई दिए। रम्य नामक महल नौ तले हेमन्त ऋतुका लागि, सात तले सुरम्य नामक महल वर्षा ऋतुका लागि र पाँच तले शुभ महल ग्रीष्म ऋतुका लागि थियो। राजकुमारले घरबार त्यागेर सन्न्यासी बन्ला भन्ने डर राजा शुद्धोदनलाई लागेको थियो। सिद्धार्थ पनि एउटा क्षेत्रीको बच्चा उस बेला जसरी हुर्कन्थ्यो त्यसैगरी हुर्कन थाले। उनी हरेक कुरामा निकै तीक्ष्ण थिए तर अलिक बढी संवेदनशील पनि थिए। केही ठूलो भएपछि सिद्धार्थको शिक्षादीक्षाको उत्तम व्यवस्था गराइयो जस्तो घोडसवारी, तर्क शास्त्र र दर्शन शास्त्र। सिद्धार्थ छिटै यी सबै कुरामा निपुण भए।
मानिसहरूले सिद्धार्थको पुरुषार्थमा शंका गरेर कुरा काट्न थालेपछि राजा शुद्धोदनले सिद्धार्थलाई शिल्पकलाको परीक्षा लिने अभिप्रायले कपिल बस्तुमा धनुर्विद्या प्रतियोगिताको आयोजना गरे। विभिन्न देशबाट पोख्त धनुर्धारी क्षेत्रीय राजकुमारहरू कपिलवस्तुमा जम्मा भए। सिद्धार्थ गौतम पनि आफ्ना साथीहरू सित मैदानमा उपस्थित भए। त्यहाँ विशाल जन समूह भेला भएको थियो। विभिन्न स्थानबाट आएका राजकुमारले आ-आफ्नो कौशल प्रदर्शन गरे। सिद्धार्थ कुमारले पनि बाह्र प्रकारका योग्यता प्रदर्शन गरे। उनले धनुर्विद्याको चमत्कार देखाए जसबाट सारा मानिस आश्चर्य चकित भए। उनी रथ हाँक्ने प्रतियोगितामा पनि सर्वोत्तम भए। यसरी सिद्धार्थ हरेक विषयमा पारङ्गत थिए र बहुमुखी प्रतिभाका धनी थिए।
सिद्धार्थ गौतम करुणाका प्रतीक : सिद्धार्थ बाल्यकाल देखि नै धेरै संवेदनशील थिए। उनको सबैभन्दा धेरै रुचि चिन्तन-मनन, ध्यान, साधना र दर्शनमा थियो। उनी जब खेतमा मजदुरले घाममा पसिनाले लतपत भएर हलो जोतको देख्थे तब उनलाई बेचैनी हुन्थ्यो। उनी पुरोहित, राजा र श्रमिक वर्गको भेदको कारण थाहा पाउन चाहन्थे, तर पुरा गणराज्यमा उनले यसको सही जवाफ दिने मानिस भेट्टाउन सकेनन्। उनी केही मानिसले रातो दिन श्रम गरेर अन्न फलाउनु पर्ने र केही मानिसहरू चाहिँ बिना परिश्रम नै सारा सुख सुविधा भोग गर्ने परम्पराबाट निकै चिन्तन थिए।
सिद्धार्थको करुणा मात्र मानवमा सीमित थिएन। उनी त समस्त प्राणीका लागि संवेदनशील थिए। सिद्धार्थ गौतम अरूलाई दुःख हुने कामबाट सधैँ पछि हट्थे। अरू प्राणीको दुःखमा आफू पनि दुःखी हुने उनको स्वभाव थियो। एक दिन एक जना दरबारिया राजकुमारले एउटा सर्पलाई पिट्न खोज्दा उनले रोके र सर्पको ज्यान बचाए। सिद्धार्थ आफू पनि अरूलाई दुःख दिँदैनथे र कसैले अरूलाई दुःख दिएको हेर्न पनि सक्दैनथे। एक दिन राजकुमार देवदत्तले उडिरहेको एउटा हाँसमाथि बाण प्रहार गरे। बाण त्यो हाँसको पखेटामा लाग्यो। बाणको पीडाले छटपटाई हाँस सिद्धार्थको सामु खस्यो। हाँस रगताम्य थियो। सिद्धार्थले हाँसलाई विस्तारै उठाए र अंकमाल गरे प्वाँखमा लागेको बाण सुरक्षापूर्वक निकाले। हाँसको चोट लागेको ठाउँमा शीतल रस भएको रुख पात लगाई दिए।
आफूले बाण हानेर खसालेको हाँस लिएको देखेर देवदत्तलाई साहै रिस उठ्यो। देवदत्त सिद्धार्थका काकाका छोरा थिए। उनी प्राणीहरूको काटमार गर्न रमाउँथे। उनको स्वभाव सिद्धार्थको भन्दा विपरीत थियो। उनले सिद्धार्थसँग आफूले बाण हानेर खसालेको हाँस मागे। तर राजकुमार सिद्धार्थले हाँस देवदत्तलाई दिन मानेनन्। सिद्धार्थले भने, ‘यदि हाँस मरेको भए पो मार्नेले पाउँछ। तर यो त जिउँदै छ। त्यसैले यसको अधिकार यसलाई बचाई राख्नेको हो।’ देवदत्तले यो हाँस आफ्नै हुन्छ, यसलाई आफूले बाण हानेर खसालेको हुँ भने। यसरी राजकुमार सिद्धार्थ र देवदत्तका वीचमा हाँस कसको हो भन्ने विषयमा विवाद चल्यो। आखिर त्यो झगडा देशका विद्धानहरूको सभाबाटै टुङ्गो लगाउने कुरामा दुवै जनाको सहमति भयो। फैसला गरिने सभामा त्यो दिन हाँसको मुद्दा पनि चल्यो। यस विषयमा सभामा धेरै वादविवाद भए। सभामा विभिन्न विद्धानका विभिन्न विचार आए।
एक जना विद्धानले भने, ‘हाँस राजकुमार सिद्धार्थको हुनुपर्छ। कारण सिद्धार्थको बिचार जीवन बचाउनु हो।’ अर्को विद्धानले भने, ‘हाँस देवदत्तको हुनुपर्छ। कारण सिद्धार्थको विचार जीवन बचाउनु हो। तर त्यो हाँसलाई देवदत्तले बाण हानेर खसालेका हुन।’ यसरी विभिन्न विद्धानले आ-आफ्नो तर्क अगाडि सारेकोले मुद्दा टुङ्गिएन। अन्तमा एक जना युवा विद्धानले ठूलो स्वरमा भने ‘सत्यतः जीवनको अधिकार भनेको बचाउन खोज्नेको हुन्छ। त्यसो हुनाले जीवनलाई नाश गर्न खोज्नेको अधिकार विल्कुल हुँदैन। यो घाइते हाँसको बारेमा न्यायपूर्वक बोल्दा यसको जीवन रक्षा गर्न खोज्नेको पक्षको मात्र हुन्छ। तसर्थ यो हाँस बचाउन खोज्नेको अर्थात् सिद्धार्थ कुमारको होस्।’
युवक विद्धानको तर्कसंगत कुरालाई सभासद्ले स्वीकृति प्रदान गर्यो। त्यो मुद्दामा जीत सिद्धार्थको भयो। हाँस सिद्धार्थलाई नै दिइयो। उनले हाँसलाई खुब माया गरेर घाउ निको नहुन्जेलसम्म पालेर पछि त्यसलाई आकाशमा छोडिदिए। यसरी सिद्धार्थ कुमार करुणाको प्रतिकका रूपमा थिए। यो घटनापछि देवदत्त सिद्धार्थका विरोधी भए। सानो उमेरदेखि नै देवदत्त सिद्धार्थको ईर्ष्या गर्न थाले। किनकि उनी कुनै पनि प्रतिस्पर्धामा सिद्धार्थलाई उछिन्न सक्दैन थिए। कुनै पनि प्रतियोगितामा होस् या तर्कशास्त्रमा होस् हार्नु परेपछि उनमा एक किसिमको कुण्ठा बन्यो। र, यसको असर उनमा पुरा जीवनमा देखियो। देवदत्त कुनै पनि कुरामा आफूलाई सिद्धार्थ भन्दा कमजोर देखाउन चाहँदैन थिए। सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि उनले पनि आफूले बुद्धत्व पाएको घोषणा गरेका थिए। उनले अन्तिम समयसम्म सिद्धार्थका विरुद्ध बेयन्त्र रचिरहे।
सिद्धार्थ गौतमका शारीरिक लक्षणहरू : गौतम बुद्ध शारीरिक रूपमा कस्ता देखिन्थे भन्ने हामीलाई थाहा छैन। लाखौंको संख्यामा उनको जुन चित्र (मूर्ति आदि) पाइन्छन् ती सबै उनको मूल्य भएको धेरैपछि बनाइएको हुन्। ती पनि उनको युवा अवस्थाको परिकल्पना गरेर बनाइएको छ। उनी असी वर्षसम्म बाँचेका थिए भनिन्छ। उनले दाह्री पनि पालेका थिए तर त्यो रूपमा उनलाई कतै पनि देखाइएको छैन। यी मूर्तिहरू पनि उनको मृत्यु भएको ५०० वर्षपछि मात्र बनेका थिए। किनकि उनले आफ्नो मूर्ति बनाउन पूर्ण रूपमा निषेध गरेका थिए। तर पनि उनको बाल्यकालको आधारमा हामी पत्ता लगाउन सक्छौ उनको कपाल कालो थियो, बिस वर्षको उमेरपछि उनले दाह्री पालेका थिए पनि भनिन्छ। अविश्वास गरिहाल्न पनि सकिन्न, किनभने त्यसबेला क्षेत्रीयहरूले दारी जुँघा राख्ने चलन नै थियो। उनको रंग सेतो थियो र शरीर सुगठित।
गौतमका पिताले उनको पालन पोषण कुलीन शाक्य योद्धा परम्परा अनुरूप गरे। भनिन्छ जब उनका बाबु शाक्य कुलका मानिसको आपसी विवादमा फैसला गर्न बस्थे तब युवक गौतम उनको छेउमा बस्ने गर्थे। उनका बाबुले त्यो बेलाका कुलिन परिवारका बच्चाले पाउने हरेक सुख सुविधा गौतमलाई उपलब्ध गराउने कोसिस गरे। धेरै साधारण ढंगले जीवन जिउने समाजका मुखियाको घरमा यो खासै धेरै भएन होला। सिद्धार्थ गौतमका बाहिरी शारीरिक बनोट अत्यन्त आकर्षक थियो। यो भन्दा पनि उनको आन्तरिक दिव्य नयन तेजिलो थियो। उनमा धेरै प्रकारका शुभ लक्षण निहित थिए। उनलाई बत्तीस लक्षण युक्त महापुरुषका रूपमा पनि चिनिन्छ।
राजा शुद्धोदनको सिद्धार्थलाई भोगविलासमा अलमल्याउने नीति : भनिन्छ जसको चेतनाको स्तर जति उच्च हुन्छ, उसमा संवेदनशीलता उति बढी हुने गर्छ। सिद्धार्थको तीव्र संवेदनशीलताको कारणले राजा शुद्धोदन पनि आफ्नो एक मात्र उत्तराधिकारी छोरा सन्न्यासी बन्ला भनेर राजालाई खुब चिन्ता थियो। सिद्धार्थलाई आफूसँग राख्ने इच्छाले राजाले यसको लागि हरेक सम्भव उपाय गरे र सावधानी अपनाए। यस्तो कथन पनि छ कि सिद्धार्थले कहिल्यै रोगी र बुढो मानिस देखेनन्। वैराग्य आउला भनेर उनलाई मृत मानिसको बारेमा पनि थाहा थिएन र गेरु वस्त्र धारीहरू पनि उनले कहिल्यै देखेनन्। उनी सधैँ युवाहरूबाट घेरिएर रहन्थे। शुद्धोदनले राजकुमारलाई छेउछाउ भोगविलास र आमोद प्रमोदका हरेका बस्तु जम्मा पारेर थिए जुन उनको वशमा थियो। भनिन्छ राजाले राजकुमारलाई उनको उमेर अनुसारका कन्या साथीको व्यवस्था गरेका थिए। युवा कालमा उनी हरबखत सुन्दरीबाट घेरिएका हुन्थे। यो कुराको पर्याप्त संकेत उपलब्ध छ। राजकुमार सिद्धार्थले उत्तम शिक्षा प्राप्त गरे। कारण त्यो बेला ज्ञानले धेरै महत्त्व पाएको थियो, अश्वघोष कृत बुद्ध चरितमा गरिएको एक टिप्पणी अनुसार कपिलवस्तु नगरको यो नाम सांख्यो दर्शनका साथ प्रतिपादक महर्षि कपिलको नाममा राखिएको थियो।https://lokpati.com