बिएएलएलबी का विद्यार्थीले प्रकाशन गरे ‘मेट्रो म्यागजिन प्रकाशन

  माघ १५, २०८०

तुलसीपुर, माघ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको मेट्रो डिजिटल म्यागजिनको बिमोचन गरिएको छ ।

कानून सम्बन्धि विभिन्न विषयगत कुरा र गतिविधिहरु समेटेर प्रकाशन गरेको बुलेटिनको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले विमोचन गर्नुभएको हो । डिजिटल रुपमा मात्रै प्रकाशन हुने बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै जिएमले विद्यार्थीहरुको कार्यको प्रशंसा गर्नुभयो । उहाँले कानूनका विभिन्न विषयमा आधारित रहेर बुलेटिनमा सामग्रीहरु प्रकाशन हुनुपर्ने बताउनुभयो । ‘हामीले जानेको विषयलाई सर्वसाधारणसम्म पनि पुर्याउनु पर्दछ त्यसैले तपाईहरुले राम्रो काम गर्नुभएको छ ।’ उहाँले पत्रकारिता डिजिटल युगमा प्रवेश गरीसकेको हुँदा डिजिटल संस्करणमा प्रकाशित गरिनु समय सुहाउँदो कुरा भएको पनि बताउनुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले विद्यार्थीहरुको पहलमा म्यागजिन प्रकाशन जस्तो महत्वपूर्ण काम भएकोमा खुसी व्यक्त गर्नुभयो । इन्सेक दाङका प्रतिनिधि जेएन सागरले कानूनका धेरै कुराहरु संवेदनशिल हुने भएको हुँदा विद्यार्थीहरुले सर्वसाधारणलाई बुझाउनुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले कानूनका विषयमा समाचार लेख्ने पत्रकारको संख्या कम भएको अवस्थामा विद्यार्थीहरुले गरेको कामको प्रशंसा गर्नुभयो ।

कलेज प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरुलाई नयाँ नयाँ काममा संलग्न गराउँदै लगेको बताउनुभयो । उहाँले पढ्ने मात्रै भन्दा पनि पढेको कुरालाई व्यवहारमा लागु गराउनका लागि कलेजले भुमिका खेलेको बताउनुभयो । कानून संकाय संयोजक विजय पोख्रेलले विद्यार्थीहरुलाई सृजनात्मक बनाउनका लागि पत्रिका प्रकाशन गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी दुरविन वलीले पत्रिका प्रकाशन गर्नुको उद्देश्यका बारेमा जानकारी गराउनुभयो । विद्यार्थी दिपा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी पारस वलीले गर्नुभएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर