विद्यार्थीहरूलाई उत्पादनसँग जोड्न आवश्यक ःडिन

  पुष २६, २०८०

२६ पुस तुल्सीपुर । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा डिल्लीराज शर्माले विद्यार्थीहरूलाई उत्पादनसँग जोड्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । कलेजहरूले विद्यार्थीलाई उत्पादनसँग जोड्न नसक्दा विदेश पलायनको अवस्था सृजना भएको उनको भनाई थियो ।

तुल्सीपुर मेट्रो कलेजमा आयोजना गरिएको उद्यमशीलता सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले दक्ष जनशक्तिहरूलाई रोजगारसँग जोड्ने नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । ‘सरकारले पनि ठूलो आकारका जनशक्तिहरूले रोजगार पाउने खालका उद्योगहरूको स्थापनामा ध्यान दिनुपर्ने देखिन्छ ’ उनले भने । विद्यार्थीहरूले नेपालमा उचित अवसर नपाएर विदेश गएको बताउँदै उनले अवसर सृजनाका लागि सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका बोल्दै कलेजका अध्यक्ष एवम् तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले प्राविधिक शिक्षाका माध्यमबाट युवाहरूलाई स्वरोजगार बनाउनका लागि कलेजको स्थापना गरिएको कुरामा जोड दिए । ‘हामीले सबै खालका तालिमहरू पनि यहाँ सञ्चालन गरिरहेका छौ’ उनले भने ।

सो अवसरमा ह्याङ्दोङ ग्लोबल युनिभर्सिटी करियाका प्राध्यापक सु वाई चाङले सीप र रोजगारीलाई सँगसँगै लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले तुल्सीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले विद्यार्थी र युवाहरुलाई व्यवसायमा लगाउनका लागि इन्क्युबेसन सेन्टर स्थापनाको आवश्यकता रहेको बताए ।

तुल्सीपुर मेट्रो कलेज, ह्याङ्दोङ ग्लोबल युनिभर्सिटी कोरिया र त्रिभुवन विश्वविद्यालयको साझेदारीमा युवाहरूलाई व्यवसाय प्रवर्धन सम्बन्धित २ दिनसम्म आयोजना गरिएको गोष्ठीको समापन कार्यक्रमको अध्यक्षता कलेज प्रमुख वसन्त आचार्यले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर