अबको युग इलेक्ट्रोनिक्स इन्जिनियरिङको

  मङि्सर ०८, २०८०

प्रा. डा. दिनेश कुमार शर्मा इलेक्ट्रोनिक्स इन्जिनिरिङमा नेपालको पहिलो पी. एच. डी. हुन्। इन्जिनिरिङ अध्ययन संस्थान  पुल्चोक क्याम्पसमा ३२ वर्ष भन्दा बढी प्राध्यापन गराइसकेका डा. शर्मा नेपाल टेलिकम प्राधिकरण (NTA) का पूर्व अध्यक्ष  पनि हुन्। अहिले उनी काठमाडौँ इन्जिनियरिङ कलेज, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ विभागका सल्लाहकार छन्। नेपालको इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षा, यसको भविष्य र चुनौतीबारे उनीसँग गरिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ-

अहिले इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षाको आवश्यकता र अवस्था कस्तो छ

अहिले इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षाको आवश्यकता र  महत्व वढेको छ ।  दैनिक जीवनमा इलेक्ट्रोनिक्स सामानको उपयोग वढ्दो छ । त्यस निम्ति इलेक्ट्रोनिक्स उत्पादन  वढाउन पर्छ । इलेक्ट्रोनिक्स उत्पादन  वढाउन इलेक्ट्रोनिक्स इन्जिनियरिङको तीव्र विकास र प्रयोग अनिवार्य हुन्छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङको प्रयोग र  विकासको निम्ति इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षा आवश्यक हुन्छ ।

 

इलेक्ट्रोनिक्स इन्जिनियरिङको प्रयोग संचार माध्यम, वन्द व्यापार, मनोरंजनदेखि औषधी मूलो  र अत्याधुनिक खोज – अनुसन्धानसम्म सवै जसो  क्षेत्रमा  भइरहेको छ । अवको भविष्य ड्रोन (drone), रोबोटिक्स (robotics), मेसिन लर्निङ (machine learning),  बिग डाटा (big data), ए. आई. (AI) हो । यी सवैमा इलेक्ट्रोनिक्स इन्जिनियरिङको व्यापक प्रयोग, हुन्छ, भइरहेको पाइन्छ ।  त्यसैले अवको युग भनेको इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गको युग हो ।

 

इलेक्ट्रोनिक्स इन्जिनियरिङको यति धेरै प्रयोग छ भन्नुहुन्छ, तर इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विद्यार्थी भर्ना त कम छ, आकर्षण छैन, किन होला ?  

यसका केही कारण छन् । यथार्थ कुरा बुझाउन नसक्दा कतिपय ठाउँमा भ्रमले काम गरेको छ, कतिपय केसमा लहडवाजीले काम गरेको छ ।  मैले अघि नै भने, अवको युग भनेको  इलेक्ट्रोनिक्स इन्जिनियरिङको  युग हो । मानिसको नवीनतम खोज नै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अडेको छ । दिनानुदिन प्रयोग गरिने संचार माध्यम्, गजेट, इ- कारोवार्, खेलकुद्, मनोरंजनदेखि अनुसन्धान सवैमा, हार्डवेयरदेखि सफ्टवेयर सवैमा इलेक्ट्रोनिक्स इन्जिनियरिङको प्रयोग भइरहेको छ । संसारमा यान्त्रिकरण र यान्त्रिकरणपछि स्वचालितिकरणमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ र शिक्षाको भूमिका अहम् छ । यसैले इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग रोजगारीको ठूलो क्षेत्र वन्ने निश्चित छ । तर इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढेर रोजगारी पाइँदैन भन्ने भ्रम छ ।

अर्को कुरा, कतिपय विश्वविद्यालयमा इलेक्ट्रोनिक्स इन्जिनियरिङको कोर्स परिवर्तन गरेको पनि कतिलाई थाहा छैन । त्रिभुवन विश्वविद्यालयले लगभग ४ वर्ष भयो, इलेक्ट्रोनिक्स इन्जिनियरिङको कोर्स परिवर्तन गरेको । अहिले इलेक्ट्रोनिक्स इन्जिनियरिङको नाम इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन राखेको छ र कोर्स पनि  कम्प्युटर इन्जिनियरिङसँग ८५ प्रतिशतभन्दा बढी मिल्ने वनाएको छ । हार्डवेयर र सफ्टवेयर दुवैतिर काम गर्न सक्ने गरी कोर्स परिवर्तन गरिएको छ । यो कुरा नव आगन्तुक विद्यार्थी भाइ-वहिनीहरुलाई वुझाउनु पर्छ ।

इलेक्ट्रोनिक्स इन्जिनियरले नेटवर्किङ, प्रोग्रामिङ, वेबसाइट डिजाइन, डाटावेस, इमेज प्रोसेसिङ लगायतमा गर्न सक्छन् र गरिरहेको पनि पाइन्छ। आइटी कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, दूरसञ्चार कम्पनीहरू, हार्डवेयर कम्पनीहरू, सफ्टवेयर कम्पनीहरू, वेबसाइट बनाउने कम्पनीहरू, रेडियो टेलिभिजन, उड्डयन, स्याटेलाइट अफिसहरू, निजी, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, उद्योग, कलकारखानाहरूका सूचना प्रविधिसम्बधी कामहरू इलेक्ट्रोनिक्स इन्जिनियरहरूले गरिरहेको देखिन्छ ।

 

तर यहाँ इलेक्ट्रोनिक्स इन्जिनियरिले खाली हार्डवेयरमा मात्र काम गर्न पर्ने हुन्छ भन्ने भ्रम छ । यो भ्रम हटाउन सक्यौं र यथार्थ कुरा राम्रोसँग बुझाउन सक्यौं भने समस्या रहन्न ।

विदेशको इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षा नेपालको भन्दा गुणस्तरीय  हो

होइन । पाठ्यक्रम्, नतिजा, उच्च शिक्षा अध्ययन, रोजगारी, परफर्मेन्स कुनै पनि हिसावले  नेपालको इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षा विश्वको कुनै पनि शिक्षा भन्दा कम छैन । नेपालको इन्जिनियरिङ शिक्षामा कति कडा फलामे अनुशासन छ भन्ने जगजाहेर छ । नेपालको इलेक्ट्रोनिक्स इन्जिनियरिङ शिक्षाले परिवर्तित इलेक्ट्रोनिक्स प्रविधीलाई समेट्न सकेको छ ।

विश्वका शक्ति राष्ट्रहरुको व्यापार युद्ध (Trade War) अहिले चिप युद्ध (Chip War) मा परिणत भएको छ भनिन्छ, खास कुरा के हो

अमेरिका, चीन, भारत लगायतका शक्ति राष्ट्रहरुको व्यापार युद्ध (Trade War) अहिले चिप युद्ध (chip war) मा परिणत भएको छ ।

सेमिकन्डक्टर चिप आधुनिक र डिजिटल जीवनका लागि निकै महत्त्वपूर्ण छ। साना स्मार्टफोनदेखि ठूला डेटा केन्द्रहरूमा यसको प्रयोग गरिन्छ। सेमिकन्डक्टर प्रविधिले उपभोग्य उपकरण, स्वचालित कार, जलवायु अनुकूल विद्युतीय सवारी साधनहरू जस्ता नयाँ र लोकप्रिय आविष्कारमा साथै आर्टिफिशल इन्टेलिजन्स (एआई) एप्लिकेशनहरूको विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ।

अत्याधुनिक चिपहरूलाई सुपरकम्प्युटर, कृत्रिम बौद्धिकता (आर्टिफिशल इन्टेलिजन्स) तथा सैन्य सामग्रीहरूको क्षमता बढाउन समेत  प्रयोग गरिन्छ।

नयाँ सामग्रीको उत्पादन गर्दा अझ परिष्कृत चिप उत्पादन गर्ने दबाव चिप निर्माताहरूमाथि परिरहेको छ। प्रतिष्पर्धा कहाँसम्म चुलिएको छ भने,  एपल कम्पनीको नयाँ ल्यापटपमा ताइवानको अगुवा कम्पनी ताइवान सेमिकन्डक्टर म्यानूफ्याक्चरिङ कम्पनीद्वारा निर्मित जम्मा तीन नानोमिटर आकारको चिप जडान गरिएको छ। जव कि मानिसको एउटा केश ५० हजार देखि १ लाख नानोमिटर मोटो हुन्छ।

विश्वभरका चिप डिजाइन गर्ने कामदारमध्ये २० प्रतिशत भारतीयहरू छन्।  तर भारत विश्वको चिप मागको पाँच प्रतिशत पूरा मात्र गर्न सक्षम छ। भारत क्षमता वढाउन चाहन्छ । इलेक्ट्रोनिक्स उत्पादन १०० अर्ब डलर नाघेको भारतले  २० औं अरव डलर चीपमा लगानी गर्न खोजिरहेको छ ।

चिप बनाउन धेरै चरणहरू छन् – उत्पादन, विकास, डिजाइन, फेब्रिकेशन, एटीपी (असेम्ब्ली, परीक्षण, प्याकेजिङ) र सहायता । चिप डिजाइन काममा मात्र ५० हजार भारतीयहरू संलग्न छन्। इन्टेल, एएमडी र क्वाल्कमलगायत अधिकांश सेमिकन्डक्टर उत्पादक कम्पनीहरूको भारतमा विकास केन्द्रहरू छन्। तिनले भारतकै इन्जिनियरिङ जनशक्ति प्रयोग गर्छन्। तर आगामी दिनमा त्यस्ता दक्ष जनशक्ति पाउन कम्पनीहरूलाई कठिन हुन सक्छ। यदि लगानी आउन थाल्यो भने  करिब २.५ लाख मानिसको आवश्यकता पर्नेछ। त्यसैले शैक्षिक क्षेत्र र उद्योगबीच सहकार्य महत्त्वपूर्ण हुनेछ।

यही मागलाई मध्यनजर गर्दै भारत सरकारले आफ्नो ‘चिप्स टु स्टार्टअप’ योजनाअन्तर्गत ८५ हजार इन्जिनियरहरूलाई तालिम दिइरहेको छ।

नेपालमा चाहिँ कति जना छन् इलेक्ट्रोनिक्स इन्जिनियर

अहिले नेपालका लगभग ६१,३०० जना इन्जिनियरमा ८२३९ जना इलेक्ट्रोनिक्स  एन्ड कम्युनिकेसन इन्जिनियर र २०५१ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर  छन् ।

काठमाडौँ इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स इन्जनियरिङको पढाइ र नतिजा कस्तो छ ?

काठमाडौँ इन्जिनियरिङ  कलेजबाट अहिलेसम्म १२३२ जना विद्यार्थीहरु इलेक्ट्रोनिक्स इन्जिनियर भइसके । जम्मा १५८८  जना विद्यार्थीमा १२३२ पास भनेको ७७.५८ % पास हो । अझ एक – दुइटा विषय मात्र लाग्ने र मौका परीक्षाको नतिजा आउन बाँकीहरु पनि धेरै छन् ।

हाम्रा विद्यार्थीहरु ५% विशिस्ट श्रेणी (८०% वा माथि) र ७०% प्रथम श्रेणी (६५% – ८०%) मा समुत्तीर्ण भइरहेको रेकर्ड छ । काठमाडौँ इन्जिनियरिङ कलेजका इलेक्ट्रोनिक्स इन्जनियरिङका विद्यार्थीहरु वर्षेनी इन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले  नै निकाल्ने कार्यक्रमगत वा संकायगत (faculty wise) उत्कृष्टदेखि सवै संकाय (faculty) मध्यमा सर्वोत्कृष्टसम्म नै पर्न सफल भएका छन् ।

२०६६ भर्ना समूह (batch) मा केईसीका विक्रान्त पौडेल ८३.६८%  ल्याएर इलेक्ट्रोनिक्समा इ.अ. सं. सर्वप्रथम हुनु भएको थियो । त्यस्तै २०६८ भर्ना समूह (batch) मा केईसीकै विभुषा रावल ८४.४३ %  ल्याएर इलेक्ट्रोनिक्समा इ.अ. सं. सर्वप्रथम हुनु भएको थियो । २०७१ भर्ना समूह (batch) मा त ८७.५०% ल्याएर केईसी इलेक्ट्रोनिक्सका आदर्श घिमिरेले सवै संकाय (faculty) मध्यमा सर्वोत्कृष्टसम्म हुनु भएको थियो ।

यति राम्रो नतिजा ल्याउन सफल हुनुको मुख्य कारण के होला ?

पहिलो कुरा त काठमाडौँ इन्जिनियरिङ कलेज नेपालको पहिलो ISO : 9001 : 2008 सर्टिफाइड कलेज हो । अर्को, यस कलेजको राम्रो नतिजा ल्याउन सफल हुनुको मुख्य कारण अध्ययन र अनुसन्धानमा जोड नै हो । अत्यन्तै अनुभवी प्राध्यापक, पूर्णकालिन (full time) शिक्षक, कर्मचारी, प्रशासन, दृढ इच्छाशक्ति, लगाव र मेहनत, सहयोगी भावना र आवश्यक सुविधाको व्यवस्थापन नै मुख्य हो । सवैभन्दा धेरै पुस्तक भएको पुस्तकालय,  सुविधासम्पन्न ल्याव, इकुप्मेन्टले  अध्ययन – अध्यापनमा महत्वपूर्ण भूमिका खेलेको छ । विद्यार्थीको केयरिङ्ग, दैनिक फोनकल, अभिभावक भेला  वैठक (parent’s meeting), आवश्यक मार्गनिर्देशन आदिले पनि विद्यार्थीलाई अध्ययनमा संकेन्द्रित हुन सहयोग गरेको छ ।

अझ मुख्य कुरा हरेक दिन विराएर जाँच (ADT) हप्तामा ३ दिन हुन्छ । विद्यार्थीहरुमा नियमित अध्ययन गर्ने वानी बसाल्नको लागि ADT परीक्षा संचालन गरिएको हो । सेमेस्टर प्रणालीमा वार्षिक प्रणालीमा जस्तो अन्तिममा मात्र पढेर पास गर्न सकिन्न । दैनिक नियमित पढ्नु, वुझेर पढ्नु र अवधारणा (concept) स्पष्ट नवुझी घोक्नु, जाँचको अघिल्लो दिन मात्र पढ्नुमा धेरै फरक हुन्छ । शिक्षा भनेको वानीहरुको निर्माण पनि हो । त्यसैले हामी विद्यार्थीहरुमा सही वानी बसाल्न कृतसंकल्पित छौं ।  सही वानी वसाल्ने ADT परीक्षा जस्तो वैज्ञानिक विचार र अभ्यासले उत्कृष्ट नतिजा ल्याउन मद्दत गरेको छ । यसलाई दैनिक परीक्षा वनाई नियमित अध्ययनको वानीलाई अझ निखार्न खोज्दैछौं ।

नियमित परीक्षा लिने र त्यसको समयमै नतिजा निकाल्ने अनि आवश्यकताअनुसार मार्गनिर्देशन गर्ने गर्नाले विद्यार्थीहरुलाई आफ्नो सवल पक्ष वढाउन र दुर्वल पक्ष हटाउन ठूलो सहयोग पुगेको छ । साथै परीक्षा र नतिजा सम्वधी हरेक रेकर्ड, डकुमेन्ट चुस्तदुरुस्त राखी आवश्यकता अनुसार अभिभावक भेला-वैठक पनि वोलाउनाले समयमै समस्या र समाधान पहिचान गर्न सजिलो भएको छ ।

अरु कलेज भन्दा अर्को पृथक व्यवस्था यहाँको कार्य विभाजन पनि हो ।  परीक्षा शाखा, गाइडेन्स एन्ड काउन्सिलिङ शाखा, year coordinator (yc), ल्याव कोअर्डिनेटर, प्रोजेक्ट कोअर्डिनेटर, विभागीय उपप्रमुख, प्रमुख आदीको व्यवस्था गरी कार्य विभाजन गर्नाले कार्य सम्पादन प्रभावकारी भई नतिजा राम्रो आएको हो ।

अनिवार्य नियमित योग कक्षा, Art of Living  सत्र, आदी इत्यादीले पनि विद्यार्थीको स्वास्थ्य, स्मरण शक्ति, सकारात्मक सोच, सहयोगी भावनामा वृध्दि भएको पाइएको छ ।

अन्तमा केही भन्नुहुन्छ कि ?

अव दक्ष इन्जिनियरमार्फत नेपालमै वसेर श्रमिक होइन, सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था सिर्जना भएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS)ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातमार्फत नेपालले ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरेको छ । रातोपाटीबाट

 

तपाईंको प्रतिक्रिया

थप खबर