काठमाडौं / १८ कार्तिक – नेपाली समाजमा एक दशक पहिले सम्म एसएलसी उत्तीर्ण गरेका युवालाई पहिलो तहको शिक्षा प्राप्ति पछिको मानक योग्यता प्राप्त गरेकाले व्यवहार चलाउन योग्यता पुगेका नागरिकका रूपमा चिनाइन्थ्यो । अहिले योमानक तह संसारका अन्य देशमा झैँ कक्षा १२ बनेको छ । सामान्यतः कक्षा बाह्र उत्तीर्ण भएका ब्यक्तिले कुनै सामान्य काम सम्पादन गर्न वा तत्काल आइपर्ने समस्या हल गर्न र सानो समूहको नेतृत्व गर्न सक्ने अड्कल काटिन्छ । यद्यपि बाह्र कक्षा उत्तीर्ण हुँदा सम्म पनि आफ्नो व्यवहारका लागि आवश्यक भाषिक, गणितीय, सामाजिक तथा सांस्कृतिक र स्वास्थ्य तथा पोषण सम्बन्धी आधारभूत साक्षरता कायम हुन नसकेको गुनासो गुञ्जेकै छ। यस्तै गरी जीवनमा आइ पर्ने सामान्य समस्या हल गर्न नसकेको, भविष्यमा अपनाईने पेशाको आधार नकोरिएको र स्तरीकृत र पूर्ण सम्वाद गर्न नसकेका उदाहरण प्रशस्तै नभएका पनि होइनन् । एकातर्फ अङ्ग्रेजी भाषामा साधारण बोलचाल गर्न सक्ने कक्षा १२ उत्तीर्ण ग्य्राजुएटहरू विदेश झरिरहेका छन् भने अर्कातर्फ सडकमा विद्यालय तहको पाठ्यक्रमले बेरोजगार उत्पादन गरेको आरोप पनि खेपीरहेकै छ ।
यी र यस्तै परिवेशमा विद्यमान समस्या समाधान गर्ने ध्येयकासाथ विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को अधिनमा रही वि सं २०७७ साल देखी विद्यालय तहमा सुरु भएको नयाँ पाठ्यक्रम वि सं २०८० सम्ममा आइपुग्दा सबै तह र सबै कक्षामा कार्यान्वयनमा आएको छ । माध्यमिक तहका ऐच्छिक विषयहरू भने तयार भै नसकेकाले पुरानै प्रयोगमा छन् ।
विद्यार्थी चापका आधारमा ऐच्छिक विषयका नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक बन्ने क्रम निरन्तर चिलरहेको छ भने बनीसकेर लागु भएका सामग्रीका हकमा शिक्षक निर्देशिका बनाउने कामले निरन्तरता पाएको छ ।नयाँ पाठ्यक्रम कार्यान्वयन गर्दाको अनुभव हासिल भएकी मात्र यससँग जोडिएका पक्षहरूले नयाँ पाठ्यक्रमको स्वाद रसास्वादन गर्लान तर पाठ्यक्रम कार्यान्वयनसँग प्रत्यक्ष रूपमा नजोडिएका पक्षलाई नयाँ पाठ्यक्रमले के कुरामा फरक पहिचान कायम गर्यो भन्ने जानकारी गराउन यस पाठ्यक्रमले उत्पादन गरेका विद्यार्थीको जीवन प्रस्तुतिबाट मात्र देखाउन सकिनेछ । अति व्यस्त हाम्रो समाजमा आजकल धेरै मानिसहरू कुनै नयाँ कुराको जानकारी अक्षरको जङ्गलबाट भन्दा पनि श्रव्य र श्रव्य दृश्यात्मक तस्विरबाट ग्रहण गर्न रुचाउँछन भन्नेथाहा पाउँदा पाउँदै पनि नयाँ पाठ्यक्रममा के कुराले नविनता दिने प्रयास गरेको छ भन्ने प्रस्ट्याउन बनेको यो अक्षरात्मक टिपोट अभिलेखका रुपमा रहोस् भन्ने अपेक्षाकासाथ प्रस्तुत गरिएकोछ ।
के हो त पाठ्यक्रम ?
शिक्षाका सम्बन्धमा विश्वप्रसिद्ध शिक्षाविद् जोनडिवे भन्ने हुन्छ शिक्षा जीवनको तयारी नभएर यो त आफैँमा जीवन हो । शिक्षा कसैको जीवनलाई हेरेर मात्र तय गरिने नभइ यो आफैँमा पूर्ण हुनु पर्छ । अर्थात् यो एक साधन मात्र नभइ समग्र हो । पाठ्यक्रमका विषयमा कुरा गर्दा पनि सानो औजारका रूपमा मात्र नबुझी समग्र पद्धतिका रूपमा व्याख्या गर्न सकिन्छ । विद्वान् Charles Handy का अनुसार शिक्षामा राष्ट्रिय पाठ्यक्रमको सट्टामा हरेक बालबालिकाका लागि व्यक्तिगत पाठ्यक्रमको जरुरत पर्दछ । Lilian Katz ले पाठ्यक्रमले बालबालिकालाई उनीहरूको आफ्नै अनुभवको गहिरो र पूर्ण बुझाइ बनाउनु पर्ने मानेका छन् । Dylan Wiliam पाठ्यक्रमलाई सिक्ने विषयवस्तुको थुप्रोका रूपमा स्विकार्दैनन् । उनी भन्छन्, यो त विद्यालयमार्फत् हस्तान्तरण गरिने हाम्रा नयाँ पुस्ताले चाहेका सावधानीपूर्वक संगठन गरिएको, क्रमबद्ध, संरचनागत कार्यक्रम हो । Bertrand Russell ले पाठ्यक्रमको मूल पक्ष सिकाउने विधि र शिक्षणको आशयलाई उजागर गरेका छन् ।
Audrey Nicholls ले आफ्नो पुस्तक “Developing a Curriculum” मा पाठ्यक्रमका तत्वहरू निम्नानुसार हुने बताएका छन् :
१. उद्देश्यहरू
२. विषयसूची
३. विधिहरू
४. मूल्याङ्कन
पाठ्यक्रमको व्यापक अर्थ लगाउँदै शर्मा एण्ड शर्मा (२०६२) भन्दछन् – पाठ्यक्रमले के कसरी र कहिले शिक्षा प्राप्त गर्ने भनी निर्देशन गर्दछ । पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, कक्षागत उद्देश्य, विषयगत उद्देश्य, उद्देश्य पूरा गर्ने पाठ्यांश, पाठ्यांश मिल्दो अध्यापन विधि, शैक्षिक क्रियाकलाप, शैक्षिक सामग्री र मूल्याङ्कन विधिहरू समेत विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ ।पाठ्यक्रम विद्यालयका शैक्षिक कार्यक्रमहरूको मेरुदण्ड हो ।
पाठ्यक्रम विकास केन्द्रले तयार गरेर सार्वजनिक गरेको पाठ्यक्रमका पुस्तकमा एउटा कुनै विषयको पाठ्यक्रममा देहायका अंश उल्लेख गरेको छ :
क. परिचय (कक्षा पाठ्य घण्टा र वार्षिक कार्यघण्टा खुलेको)
ख. तहगत सक्षमता
ग. कक्षागत सिकाइ उपलब्धि
घ. विषयवस्तुको क्षेत्र, क्रम तथा विस्तृतीकरण
ङ. सम्भावित प्रयोगात्मक तथा परियोजना कार्यहरु
च. सिकाइ सहजीकरण विधि र प्रक्रिया
छ. विद्यार्थी मूल्याङ्कन
मातृ दस्ताबेज : विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६
शिक्षाको अभ्यासमा केही प्रगति हासिल गरीसकेका देशमा पाठ्यक्रमको खाका वा प्रारूप राज्यले बनाइ दिने र सो को अधिनमा रही पाठ्यक्रम बनाउने काम विद्यालय वा शिक्षकले गर्ने प्रचलन स्थापित मान्यतामा आधारित छ । हाम्रो देशमा विद्यालय वा शिक्षकलाई पाठ्यक्रम बनाउन अझै दिइएको छैन । हालका तीन तहका सरकार मध्ये सङ्घीय सरकारलाई धेरै अर्थात् ८० प्रतिशत भन्दा बढी र स्थानीय सरकारलाई १२ देखी २० प्रतिशत सम्म यो जिम्मेवारी छ । प्रदेश सरकारलाई ऐच्छिक विषयको छनोट गर्ने, तोकिएको खाका भित्र पाठ्यपुस्तक निर्माण गर्ने र संघ र स्थानीय तहले बनाएका पाठ्यक्रम कार्यान्वयनमा सघाउने भूमिका तोकिएको छ ।यो सबै व्यवस्था विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा गरिएको छ । हाम्रा छिमेकी चिन, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका मुलुकहरूमा विद्यालय तहको शिक्षाको रूपरेखा राष्ट्रिय पाठ्यक्रम प्रारूपले नै कोरेको छ ।
नेपालमा विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप वि सं २०६३ मा सर्वप्रथम कार्यान्वयनमा आयो । समसामयिक परिवर्तनलाई सुधार गरी वि सं २०७१ मा यसमा परिमार्जन गरिएकोमा नेपालमा लोकतान्त्रिक गणतन्त्र सहितको सङ्घीयताको स्थापना भइ यसको संस्थागत प्रबन्ध वि सं २०७२ मा जारी गरिएको नेपालको संविधानले गरे बमोजिमका पक्षहरूको कार्यान्वयन शिक्षाको मूल प्रवाहबाट गरिनु पर्ने भएकोले राष्ट्रिय पाठ्यक्रमको प्रारूपमा फेरबदल आउनु स्वाभाविक ठहरीयो । विद्यालय तहमा हाल लागु भएको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्देशन गरे बमोजिमको ढाँचामा छ ।
पाठ्यक्रम कार्यान्वयन र परिमार्जन चक्र
प्रारूपले वि सं २०७६ मा कक्षा १ मा नयाँ पाठ्यक्रमको परीक्षण गरी २०७७ मा कक्षा २, ३र ६ मा परीक्षणर कक्षा १ र ११ मा कार्यान्वयन गरी सुरुवात गरियो । त्यस्तै गरी वि सं २०७८ मा कक्षा ४, ७ र ९ मा परीक्षण र २, ३, ६ र १२ मा कार्यान्वयन गरियो । २०७९ मा कक्षा ५ मा परीक्षण र कक्षा ४, ७र ९मा कार्यान्वयन गरियो । त्यस्तै गरी कक्षा ५, ८ र १० मा कार्यान्वयन गरिएपछी पूर्ण रूपमा प्रयोगमा आएको छ । पाठ्यक्रममा समसामयिक सुधार हरेक वर्ष हुने भएता पनि साधारणतया पाँच वर्षमा अद्यावधिक गरिने र हरेक १० र १० वर्षमा फेरबदल गर्ने प्रचलित अभ्यास छ ।
वर्तमान पाठ्यक्रमको जग र मूल खाँबाहरुः
हरेक पाठ्यक्रमको कुनै न कुनै धरातल हुन्छ । यस पटकको हाम्रो विद्यालय तहको पाठ्यक्रम केही विशिष्ट धरातलमा बनेको छ । पाठ्यक्रम बन्दाका बखत नेपाली समाज केही सचेत, सम्बेदनशिल र समालोचक बनेको अवस्था थियो जसले यो पाठ्यक्रमलाई धारिलो बनाउन मद्दत पुर्यायो । पाठ्यक्रम बनाउँदा प्रयोग भएको मार्ग निर्देशक दस्ताबेज नै राष्ट्रिय पाठ्यक्रम प्रारूप हो । वर्तमान पाठ्यक्रमले टेकेका खम्बाहरूलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
१. पाठ्यक्रममा मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक लगायतका विशिष्ट पक्षलाई ख्याल राखिएको छ ।
२. पाठ्यक्रम विकास तथा परिमार्जन प्रक्रियामा पाठ्यक्रमसँग सम्बन्धित सरोकारवालाहरूको सुझाव, सल्लाह तथा बिचारहरूको प्रयोगभएको छ ।
३. पाठ्यक्रममा तहगत, कक्षागत, विषयगत सामञ्जस्यता, सन्तुलन र निरन्तरता कायम गरिएको छ ।
४. शिक्षालाई मूल्य र मान्यतामा आधारित बनाउने प्रयास भएको छ ।
५. जीवनोपयोगी सिप मार्फत शिक्षा प्रदान गर्ने विषयवस्तु र क्रियाकलाप चयन गरिएको छ।
६. रोजगारी सिर्जना गर्ने तथा तथा स्वरोजगारका लागि पनि उपयोगी हुने शिक्षाको प्रबन्ध मिलाएको छ ।
७. शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढावा दिएको छ ।
८. आधारभूत तह सम्म मातृभाषामा शिक्षा आर्जन गर्न पाउने व्यवस्था गरेको छ ।
९. पाठ्यक्रममा समावेशी अभ्यास गरेको छ ।
१०. नवीनतम शैक्षणिक पद्धतिको प्रयोगलाई जोड दिएको छ ।
११. संस्कृत शिक्षा र पूर्वीय दर्शनमा आधारित शिक्षाको योगदानलाई कदर गरेको छ ।
१२. परम्परागत पद्धतिमा आधारित शिक्षाको संरक्षण र संबर्द्धनमा जोड दिएको छ ।
१३. स्थानीय आवश्यकतामा आधारित शिक्षालाई प्राथमिकता दिएको छ ।
१४. सिकाइका व्यापक क्षेत्र समेटेको छ ।
१५. वैकल्पिक तथा खुला शिक्षा मार्फत हुने सिकाइलाई स्विकारेको छ ।
१६. शिक्षामा विश्वव्यापीकरणको उचित सम्बोधन गर्ने प्रयास गरेको छ ।
१७. मूल्याङ्कनलाई विद्यार्थीको थप सिकाइका लागि गरिने अनिवार्य क्रियाकलापका रूपमा परिभाषित गरेको छ ।
१८. शैक्षिक गुणस्तरीयता सुनिश्चित गर्ने मापदण्ड बनाइ यसको सान्दर्भिकता कायम गरेको छ ।
१९. पाठ्यक्रम कार्यान्वयनकर्ताबाट अनुसन्धानात्मक कार्य संस्कृतिको विकासको अपेक्षा गरेको छ ।
२०. पाठ्यक्रमको सफल कार्यान्वयनका लागि संस्थागत क्षमता विकास हुनु पर्ने उल्लेख छ ।
वर्तमान पाठ्यक्रमका सैद्धान्तिक र नीतिगत आधारहरू
१. कुन उमेरका विद्यार्थीले कुन विषयको अध्ययन गरेपश्चात् कस्ता सक्षमता हासिल हुने हो किटान गरिएको छ ।
२. पाठ्यक्रमलाई विद्यार्थीको सर्वाङ्गीण विकासको साधनका रूपमा अर्थ्याएको छ ।
३. विद्यार्थीको रुची चाहना आवश्यकता र विकासको गति अनुरूप हुने गरी बालकेन्द्रित विकासात्मक पद्धति अनुरूप पाठ्यक्रम विकास गरेको छ ।
४. विषयगत पृथक् पहिचानलाई मात्र ध्यान नदिइ समष्टिगत रूपमा सिकाइ उपलब्धिको व्यवस्था गरी एकीकृत सिद्धान्तका आधारमा पाठ्यक्रम विकास गरिएको छ ।
५. बालबालिकाको विविध अनुभव, चाहना, मूल्य, मान्यतालाई समावेश गरी सबै प्रकारका बालबालिकाको सिकाइ आवश्यकताको सम्बोधन हुने गरी समावेशी सिद्धान्तका आधारमा पाठ्यक्रमको तर्जुमा भएको छ ।
६. मुलुकको सङ्घीय संरचना अनुकूल शासकीय स्वरूप र विविधतालाई सम्बोधन गर्ने गरी स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम विकास गरिएको छ ।
७. सूचना तथा सञ्चार प्रविधिलाई विद्यालय शिक्षामा शैक्षिक रूपान्तरणका लागि विषय विषयवस्तु र माध्यमका रूपमा प्रयोग गर्ने गरी पाठ्यक्रमको विकास गरिएको छ ।
८. आधारभूत तह देखी नै पाठ्यक्रम तथा पाठ्यसामग्रीमा जीवनोपयोगी सिप तथा व्यवहार कुशल सीपको समायोजन गरिएको छ ।
९. शिक्षक विद्यार्थी अभिभावक र समुदायको सहभागीतामा लैङ्गिक मैत्री, बालकेन्द्रित र समावेशी बनाउन सम्बन्धित विज्ञ र समुदायलाई पाठ्यक्रम विकासमा सहभागी गराइएको छ ।
१०. पाठ्यक्रमले फरक भाषिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, लैङ्गिक परिवेशका कारण विद्यार्थीमा आउने विविधतालाई लचिलो बनाउँदै सम्बोधन गरेको छ ।
११. नेपाली मूल्य र मान्यता तथा पूर्वीय ज्ञानमा आधारित पाठ्यक्रमलाई महत्व दिएको छ ।
१२. राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित सिकाइका प्रमुख क्षेत्रहरूको व्यवस्थापन गरेको छ ।
१३. विद्यालय शिक्षामा शैक्षिक गुणस्तर सुनिश्चित गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यास समेतका आधारमा विद्यालय शिक्षा सम्बन्धी राष्ट्रिय गुणस्तर मानक तथा मापदण्डको परिकल्पना गरेको छ ।
१४. पाठ्यक्रममा निरन्तर खोज तथा अनुसन्धान गरी यसलाई पाठ्यक्रम विकास एवम् सुधारको अभिन्न अंगका रूपमा लिइएको छ ।
विद्यालय शिक्षाको पाठ्यक्रम सम्बन्धी नीति
राष्ट्रिय पाठ्यक्रम प्रारूप र राष्ट्रिय योग्यता प्रारूप बिचमा सामञ्जस्यता कायम गरिएको छ । कक्षा १-३ को पाठ्यक्रम एकीकृत ढाँचामा तयार गरिएको छ । अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय अनुभव समेतका आधारमा अक्षराङ्कन पद्धति अनुकूल विद्यार्थीको सिकाइ उपलब्धि प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ ।पाठ्यक्रमको संरचनामा नै कार्यघण्टा तोकी एक पाठ्यघण्टा बराबर ३२ कार्यघण्टा कायम गरिएको छ जसमा माध्यमिक तह कक्षा ९-१२ सम्म एकलपथीय पाठ्यक्रम कार्यान्वयन गरिएको छ । माध्यमिक तहमा कुनै एक विषयमा नन क्रेडिट कोर्सका रूपमा अध्ययन गर्ने व्यवस्था गरिएको छ । माध्यमिक तहमा ब्रिजकोर्स मार्फत तयार गरी एक धारबाट अर्को धार परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ । विद्यार्थीको विविध क्षमता तथा झुकावलाई मध्यनजर गरी पाठ्यक्रममा विविधीकरण मार्फत सिकाइमा अधिकतम अवसर दिने प्रबन्ध मिलाइएको छ ।
पाठ्यक्रम निर्माण, पाठ्यक्रम प्रबोधीकरण, पाठ्यपुस्तक विकास, स्थानीय पाठ्यक्रम, सिकाइ मूल्याङ्कनका आधार तयारी र वाह्य परीक्षा सञ्चालन गर्ने सम्बन्धमा सहकार्य गर्न तीन तहका सरकारका बिचमा अधिकार बाँडफाँड गरिएको छ । विद्यालय तहमा पठनपाठनको भाषा किटानी गरिएको छ ।नेपाली, अङ्ग्रेजी र मातृभाषामा सिक्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।
विद्यालय शिक्षामा गुणस्तर र मानक तय गरिएको छ । बहुपाठ्यपुस्तक नीति अपनाइएको छ । प्रारम्भिक कक्षामा कार्यपुस्तकको प्रयोगमा जोड दिइएको छ । पाठ्यक्रमको सही कार्यान्वयनकर्ताका रूपमा शिक्षकलाई जिम्मेवार बनाइएको छ । शिक्षकलाई सहजकर्ताको भूमिकामा विकास गराउने प्रयास गरिएको छ । कुशल शिक्षकमा हुनु पर्ने सक्षमता तोकिएको छ । हरेक तहको सबै विषयको पाठ्यक्रममा सिकाइ सहजीकरण क्रियाकलाप र सहजीकरण सामग्री उल्लेख गर्ने प्रबन्ध मिलाएको छ ।
नयाँ पाठ्यक्रमका प्रमुख विशेषताहरुः
१. सक्षमतामा आधारित पाठ्यक्रम :
वर्तमान पाठ्यक्रममा कुन तह उत्तीर्ण भएपछी कम्तीमा के जानेको हुनु पर्छ भन्ने किटान गरिएको छ । कुन कक्षा र कुन विषयको अध्ययन गरे पश्चात् कति ज्ञान, सिप र क्षमताको विकास भएको हुनु पर्ने हो तोकिएको छ । यसले विगतमा जस्तो कुनैक्षमता हासिल नगरे पनि उत्तीर्ण हुने अव्यवस्थाको खारेज गरेको छ । पाठ्यक्रमले समग्रमा तहगत सक्षमता, विषयगत आधारमा तहगत सक्षमतालाई कक्षागत सिकाइ उपलब्धिले पूरा गर्ने गरी सिकाइ चक्र पार गर्ने ढाँचा तयार गरेको छ ।
२. व्यवहार कुशल सिपमा आधारित पाठ्यक्रम :
वर्तमान पाठ्यक्रमले हरेक तहको कक्षा र विषयको पाठ पढाएपछी के के सिप विकास हुन्छ भन्ने किटान गरिएको छ ।प्रत्येक दिनको पाठ सहजीकरणको अन्त्यमा कुन कुन सिपको विकास गराउने भन्ने सूचि पाठ योजनामा उल्लेख गर्ने निर्देशन छ ।विभिन्न देश तथा संस्थाहरूले प्रयोग गर्ने गरेका व्यवहारोपयोगी सिपहरूलाई समेटेर प्रमुख पाँच समूहमा विभाजन गरी ती अन्तर्गत अन्य २९ वटा सहायक सीपहरू समेटेको छ । प्रमुख पाँच वटा सिपहरूमा सोचाइ सिपहरू, मुख्य वैयक्तिक सिपहरू, अन्तरवैयक्तिक सिपहरू, सूचना प्रविधि तथा बहुसाक्षरता सिप र नागरिक सिप समेटिएका छन् ।दैनिक समस्या समाधान गर्न सक्ने बनाउने हेतुले विकास गरिने सीपहरूलाई जीवनोपयोगी र ब्यवहारकुशल सिपका नामबाट चिनाइएको छ ।
३. एकीकृत पाठ्यक्रम :
विषय शिक्षणको सट्टामा बालबालिकाको सर्वाङ्गीण विकासका लागि बहु र अन्तरविषयक थिममा आधारित पाठ्यक्रमको अभ्यास गरिएको छ जसमा विभिन्न विषयसँग सम्बन्धित सिप समावेश गरेर सिकाइ क्रियाकलाप सञ्चालन गर्ने अभ्यास गरिन्छ । सिकाइ मूल्याङ्कनका लागि रुब्रिक्स बनाएर हरेक दिनको शिक्षण सिकाइ क्रियाकलाप पश्चात् सिकाइको मापन गरिने र न्यून सिकाइ भएमा सुधारात्मक तथा क्लिनिक शिक्षण मार्फत सिकाइ उपलब्धि बढाउने व्यवस्था मिलाइएको छ ।
एकीकृत ढाँचामा फरक पदावली
४. परियोजना कार्य, खोज र अन्वेषणमा आधारित पाठ्यक्रम :
विद्यार्थीहरूले आफ्नै प्रयासमा खोज तथा अन्वेषण गरी सिक्न पाए भने सिकाइ वास्तविकतामा आधारित भइ दिगो हुने भएकोले उनीहरूलाई नै सक्रिय हुन दिने रणनीति बनाएको छ । साना कक्षा देखी ठूला कक्षा सम्म तह र स्तर अनुसारका परियोजना कार्य गणित लगायतका सबै विषयमा प्रयोगमा ल्याइएको छ ।सिप सिक्न आफैँ सहभागी हुनु पर्छ । आजको सिकाइ भनेको सिप सिक्नु हो । सिप भन्नाले हातले गर्ने कडा कामगर्ने कलालाई मात्र जनाउँदैन । जीवनमा आइपर्ने समस्या समाधान गर्ने कला पनि सिप नै हो । यसका लागि विद्यार्थीलाई वास्तविक वातावरणमा काम गर्ने मौका दिनुपर्ने मान्यता यो पाठ्यक्रमले राखेको छ ।
५. विद्यार्थी मूल्याङ्कनमा नविनता :
एकीकृत पाठ्यक्रममा निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रबन्ध मिलाइएको छ भने कक्षा ४ देखी ८ सम्म आन्तरिक ५० प्रतिशत र वाह्य ५० प्रतिशतका दरले मूल्याङ्कन गर्ने व्यवस्था मिलाएको छ । त्यस्तै कक्षा ९-१२ मा आन्तरिक २५ प्रतिशत र वाह्य ७५ प्रतिशत गरी विद्यार्थी मूल्याङ्कनको परिपाटी मिलाइएको छ ।आन्तरिक तर्फ सहभागिता, प्रयोगात्मक कार्य र त्रैमासिक परीक्षाको व्यवस्था गरिएको छ भने सहभागिता र प्रयोगात्मक तथा परियोजना कार्यलाई हरेक एकाइ पिच्छे सम्पादन गर्न सकिने गरी त्रैमासिक विभाजन गरिएको छ । माध्यमिक तहमा दुई पटक गरिने त्रैमासिक परीक्षाको अंक विभाजन ३ र ३ छ भने आधारभूत तह कक्षा ४-८ मा यो अंक ५ र ५ छ ।
६. समावेशी सिद्धान्तलाई आत्मसाथ गरिएको :
विद्यार्थीमा वैयक्तिक भिन्नता हुन्छ । एकै प्रकारको क्रियाकलाप, सिकाइ सामग्री, शिक्षण विधि र मूल्याङ्कन सबैका लागि प्रयोग योग्य हुँदैनन् ।शिक्षणमा व्यक्तिको खाँचो हेरेर सिकाइ सहजिकरण क्रियाकलाप सञ्चालन गरिन्छ । त्यसैले भनिन्छ Teach to the individual, not to the curriculum।
७. प्रविधिको प्रयोगमा जोड दिइएको :
आज मानव जीवन प्रविधिको प्रयोगले थोरै समयमा, थोरै लागतमार थोरै श्रमको प्रयोग गरेर धेरै उपलब्धि हासिल गर्न सक्षम भएको छ ।शिक्षण सिकाइमा पनि प्रविधिले गर्दा ठूलो परिवर्तन ल्याईदिएको छ । सिक्दा, सिकाउँदा र विषयवस्तुको चयन गर्दा प्रविधिको प्रयोग अपरिहार्य मानिएको छ । वर्तमान पाठ्यक्रमले सूचना तथा सञ्चार प्रविधिलाई साना कक्षा देखी नै अनिवार्य विषय र गतिविधिका रूपमा स्थापित गरेको छ ।
सिकाइ सुनिश्चित भएको कसरी थाहा पाउने ?
विषयगत सक्षमतालाई सिकाइ उपलब्धिले समेटेको छ । सिकाइ उपलब्धिमा सिकाइने सिपको कुशलताका डिग्री उच्च, राम्रो, सामान्य र कमजोर गरी चार तहमा मापन गर्ने व्यवस्था मिलाइएको छ ।राम्रो स्तर कायम गरेका विद्यार्थीलाई उच्चस्तर कायम गर्न अवसर दिने, सामान्य र कमजोरस्तरमा रहेका सिकाइ उपलब्धिहरूलाई सुधारात्मक शिक्षणको माध्यमबाट उच्चस्तरको सिकाइमा विकास गर्ने अवसर दिने र सुधारात्मक शिक्षणले पनि सन्तोषजनक नतिजा ल्याउन नसकेमा क्लिनिक शिक्षणका माध्यमबाट सिकाइमा सुधार ल्याउने प्रबन्ध मिलाइको छ । यसका लागि सिकाइ मापनीय बनाउनु पर्छ । हरेक सिकाइ उपलब्धि पूरा भए वा नभएको जानकारी शिक्षक र विद्यार्थी स्वयंलाई नै हुनु पर्छ र यसका लागि रुब्रिक्स वा चेकलिष्ट बनाएर सिकाइ मापन गरनु पर्ने प्रबन्ध नयाँ पाठ्यक्रमले मिलाएको छ ।
कार्यान्वयनको अवस्था के छ ?
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पाठ्यक्रम कार्यान्वयनका लागि सङ्घीय, प्रदेश र स्थानीय तहमा संस्थागत संयन्त्र बनाएको छ तर त्यो संयन्त्रका बारेमा सरोकारवालामा जानकारी कम हुनाले क्रियाशीलताको अभाव देखिएको छ । मुलुकमा कोभिडको महामारी चलीरहेको बेलामा कक्षा १(३मा एकीकृत पाठ्यक्रम लागुभएको थियो । यसको प्रबोधीकरण शिक्षकहरू माझ पुग्न सकेन । देशभरका सबै शिक्षकले एकीकृत पाठ्यक्रमको मर्म बुझ्न पाएका छैनन् ।माथिल्ला कक्षाका पाठ्यक्रमका नयाँ व्यवस्था पनि शिक्षकहरू माझ पुग्न सकेका छैनन । शिक्षक तालिम दिने निकाय प्रदेश सरकारमा छ । शिक्षक र विद्यालय स्थानीय सरकारको अधिनमा छन् । तालिम दिने विषयवस्तु सङ्घीय सरकारसँग छ ।एक आपसको समन्वयमा हुने तालिम तथा अभिमुखीकरण छैन ।पुराना शिक्षकहरू नयाँ विषय अध्यापन गर्न सक्ने अवस्थामा छैनन् । आर्थिक स्रोत स्थानीय सरकारसँग छ । तालिमको स्रोत सङ्घीय सरकारसँग छ ।स्थानीय सरकारलाई नयाँ र पुरानो पाठ्यक्रमको भिन्नता थाहा छैन ।निजी पुस्तक विक्रेता नयाँ कभर र डिजाइनमा पुरानो पाठ्यक्रम अनुसारका भण्डारमा विक्री हुन बाँकी रहेका पुस्तकको खपत गरिरहेका छन् । अभिभावकलाई नयाँ र पुरानो पाठ्यक्रमको कुनै जानकारी छैन र सुन्ने फुर्सद पनि छैन । यद्यपि सामुदायिक विद्यालयमा नयाँ पुस्ताका शिक्षक र नवनियुक्त शिक्षकहरूले पाठ्यक्रम अध्ययन गरी बसेकाले केही सहज भएको छ । अहिले स्थानीय स्तरमा केही शिक्षकहरू प्रशिक्षकको स्थान लिइरहेका छन् । उनीहरूले नयाँ पाठ्यक्रमको अभिमुखीकरणमा सघाइ रहेका छन् ।
पाठ्यक्रम कार्यान्वयनको प्रमुख जिम्मेवारी
पाठ्यक्रम प्रत्येक विद्यार्थीका लागि बनाइएको हो । पाठ्यक्रमको कार्यान्वयन गर्ने प्रमुख थलो विद्यालय हो । यसका कार्यान्वयनकर्ता शिक्षक नै हुन्। शिक्षक स्वयँ पाठ्यक्रमका विषयमा अनभिज्ञ भए भने यसबाट अपेक्षा गरिएका कुराहरू पूरा हुन सक्दैन । J. A. Hale, (2008) ले भने झैँ पाठ्यक्रमको नक्शाङ्कनले शिक्षकको निरन्तर तयारी र सक्रिय सहभागिताको अपेक्षा गर्दछ । यस कार्यमा शिक्षा प्रशासनले निरन्तर सहयोग गरीरहनु पर्दछ । Ann Parker ले”Effective teachers don’t cover the curriculum…they uncover it” भनेर शिक्षक पाठ्यक्रमका विषयमा अनभिज्ञ भइ बस्न मिल्छ भन्ने आशयमा होइन, हुबहु रटानको कुरा नभइ रचनात्मक प्रयोगको कुरा उठाउन खोजेका हुन् । नेपाली विद्यालय शिक्षकमा धेरै निर्भर हुनु अमिलो पक्ष हो जहाँ शिक्षक कुशल भए विद्यार्थी सप्रिन्छन्, शिक्षक कमसल भए विद्यार्थी बिग्रिन्छन् । विद्यालयको मुख्य काम सिकाइ वातावरणको सिर्जना गरीदिने हो । यसका लागि विद्यालयको व्यवस्थापन पक्ष धेरै जिम्मेवार छ ।कुनै एक पक्षबाट मात्र सबै कुराको आशा राख्नु राम्रो होइन । त्यसैले शिक्षाविद् Louise El Yaafouri ले “The perfect teacher, the perfect curriculum, the perfect lesson do not exist. We are all works in progress” भनेका हुन् ।
सारां
आज विद्यालय शिक्षाको पाठ्यक्रमका विषयमा विभिन्न कोणबाट आलोचना गरिएको छ । एसईई उत्तीर्ण गरेका वा कक्षा १२ पूरा गरेका विद्यार्थीमा सामान्य व्यावहारिक ज्ञान नहुनु आजको विद्यालय शिक्षाको मूल दशा हो । विद्यार्थी विदेश जानु शिक्षाको समस्या होइन, यो त राज्यका अन्य नीतिसँग जोडिएका कुरा हुन् । भावी पुस्तालाई सही आकारमा ल्याउने काम पाठ्यक्रमको सही कार्यान्वयनले गर्ने भएकोले राज्यको ध्यान गम्भीरतापूर्वक पर्नु स्वाभाविक छ । मुलुकमा भएको ठूलो परिवर्तन पछि आएको हालको पाठ्यक्रमले परम्परागत मान्यताबाट फड्को मार्ने शृङ्खला बनाएको छ । यसमा अन्तर्निहित नविनता जुन पक्षमा पुग्नु पर्ने हो सो नभएमा यस पटकको मेहनत पनि खेर जाने निश्चित छ ।
यस पटकको पाठ्यक्रमले सिकारु, शिक्षक, सिकाइ सामग्री, सिकाइ वातावरण, सहजीकरण विधि र विद्यार्थी मूल्याङ्कनको पुनर्व्याख्या गरेको छ । यसले पाठ्यक्रमलाई जीवनसँग जोडेर विषयवस्तुलाई सिपमा ढाली साना साना शृङ्खला मार्फत सिकाइ गराइ विद्यार्थीलाई सफल बनाउने लक्ष्य लिएको छ । यो कामको जिम्मा सहजकर्ता शिक्षकमा निहित छ । फरक स्वार्थमा विद्यालयमा समय बिताउने शिक्षकबाट यो जिम्मेवारी पुरा गराउन सम्भव नभएकोले शिक्षकले आफ्नो भूमिका परिवर्तन गर्ने बेला आएको छ । वर्तमान पाठ्यक्रमले चाहेको सिकाइ सम्भव भएमा विद्यार्थी स्वदेशमा रहँदा पनि सिर्जनशील र विदेश गएपनि गुणस्तरीय जीवन जीउन सक्ने हुन्छ । त्यसैले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो । यसका लागि प्राविधिक र व्यवस्थापकीय दुबै पक्षको उत्तिकै भूमिका रहन्छ । खबर एजुकेशन
लेखक डा. बाबुराम ढुङ्गाना पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशक हुन् ।