एउटा काग मयूरलाई देख्दा मनमनै भन्ने गर्थ्यो– भगवान्ले यसलाई कति सुन्दर रूप दिएका छन् । मेरो पनि यस्तै सुन्दर रूप भइदिएको भए कति मजा आउँदो हो ! एक दिन उसले जंगलमा छरिएका मयूरका प्वाँख देख्यो । उसले मनमनै भन्यो– वाह भगवान् ! हजुरले मेरो पुकार सुनेर ममाथि निकै ठूलो उपकार गर्नुभयो ।
अब म पनि यिनै प्वाँख शरीरमा लगाएर सुन्दर बन्छु । कागले मयूरका प्वाँखलाई यताउता गरेर टाँस्यो । नयाँ रूप देख्दा ऊ मख्ख पर्यो र मनमनै भन्यो– अब त म मयूरभन्दा पनि सुन्दर देखिएँ । अब उनीहरूकै साथमा गएर रमाइलो गर्नुपर्यो ।
निकै गर्वसाथ काग मयूरको बथान भएको ठाउँमा पुग्यो । उसलाई त्यो विरूप अवस्थामा देख्दा मयूरहरू खित्का छाडेर हाँस्न थाले । एउटा मयूरले भन्यो– साथीहरू ! यो कागलाई हेर त ! हामीले फ्याँकेका प्वाँख लगाएर यो दुष्ट मयूर बनेको भ्रममा यहाँ आइरहेको छ । यसलाई सबैले कसेर ठुँगौँ ।
साथीको आग्रह सुन्नासाथ सबै मयूर एकसाथ कागमाथि जाइलागे । सबैले ठुँगीठुँगी कागलाई अधमरो बनाइदिए । त्यहाँबाट ज्यान बचाएर ऊ आफ्नै समूहमा पुग्यो । उसले रुँदैरुँदै मयूरहरूले आफूमाथि गरेको आक्रमणबारे बतायो । उसको गुनासो सुन्नासाथ कागको मुखियाले भन्यो– साथीहरू ! तिमीहरूले यस अधमको कुरा सुन्यौ ? यो जहिल्यै हाम्रो उपहास गर्थ्यो ।
आज मयूरका प्वाँख शरीरमा लगाएर मयूर बन्न गएको थियो, रामधुलाइ खाएर आएछ । यसलाई त जो आफ्नो जाति र समाजबाट सन्तुष्ट हुँदैन, उसले हरेक स्थानमा अपमान मात्र पाउँछ भन्ने पनि थाहा छैन । आज पिटाइ खाएपछि मात्र यो हामीकहाँ आएको हो । यस धोकेबाजलाई सबैले एक–एक थप्पड लगाओ त ! वृद्धको आदेश पाउनासाथ सबैले उसको राम्रैसित मर्मत गरे ।
साभार नयाँ पत्रिका डेली