मार्क्सवादी ज्ञान सिद्धान्त : प्रकृति-जीवन सजाउने विज्ञान

  पुष २८, २०८०

  • विश्वेश्वर कट्टेल

मार्क्सवादी ज्ञान वस्तुवादी हुन्छ। वस्तु सिर्जनाको जननी हो। यो आफै सिर्जनशील शक्ति हो। वस्तु मूर्त हुन्छ, तर यसले अमूर्त जगतलाई पनि आफू पछाडि बोकेको हुन्छ, जसलाई हामी भौतिक जगत् भन्दछौ। भौतिक जगतभित्र प्रकृति, समाज, विश्व-ब्रह्माण्ड र तीनका चाल, अवस्थिति र घटनाहरू पर्दछन्। भौतिक जगत्, पदार्थ र पदार्थबाट उत्पन्न वस्तुहरूको योग हो। योगभित्रका नियम, विधि, पद्धति र प्रक्रियाले सिर्जना गरेका कला र रूपबीचका अन्तर सम्बन्ध र संघर्षहरु बोध गराउने विज्ञान नै मार्क्सवाद हो।

कहिल्यै अन्त नहुने विज्ञान

मार्क्सवाद मार्क्सको मात्र बौद्धिक उपज हो भन्ने भ्रम पाल्नु हुँदैन। प्रकृति र समाजका आ-आफ्नै अवस्थिति, चाल, रूप र पक्ष भित्र विज्ञान छन्, यसलाई मानव जीवनमा कसरी सजाउन सकिन्छ भन्ने ज्ञानमा प्राण भर्ने वस्तुवादी जुन विचार पद्धतिको जन्म दिए त्यो मार्क्सवाद बन्न पुग्यो। मार्क्सवाद विज्ञानमा आधारित छ, र त जीवन्त र सिर्जनात्मक छ। मार्क्सवादी ज्ञानले कुनै पनि वस्तु, घटना र प्रवृत्ति कहिल्यै अन्त नहुने विज्ञान छिपेको बताउँछ। अतः प्रकृति र समाजसँग रहेको रहस्यमय ठानिएका तर निश्चित वस्तु र पद्धतिमा सामेल भएको क्रियात्मक चरित्रभित्रको ज्ञान बुझ्ने कलालाई नै हामी मार्क्सवादी ज्ञान भन्दछौ। यसको पद्धतिलाई मार्क्सवादी दर्शन भन्दछौ। यो दर्शन, कला र विज्ञानसम्मत छ। जो सत्यको खोजीमा छ।

विचार र विज्ञानको दर्शन

पहिले भनिसकियो कि, मार्क्सवाद मार्क्सको विचार मात्र हैन, यो त सबै विचार र विज्ञानको दर्शन हो। समाजसँगै विकास हुँदै आएका ज्ञानमा जीवन भरेर जुन वैज्ञानिक विधिको मार्क्सले आविष्कार गर्नुभयो, त्यही मार्क्सवादी दर्शन बन्यो। त्यसैले दर्शन ज्ञानको परिणाम हो। समुच्च ज्ञान व्यवहारको परिणाम हो। त्यही ज्ञानको स्वरूप दर्शन हो, र त मार्क्सवादी दर्शन विज्ञानसम्मत छ। विज्ञानले आगम र निगमको स्पष्ट मार्ग चित्रण गर्दछ। यसमा राखिएका काल्पनिक कथालाई रद्धिको टोकरीमा फाल्दछ। जीवन र जगत बिच वैज्ञानिक ज्ञानको बीजारोपण गर्दछ। भ्रम हटाउँछ। सत्यको मार्ग देखाउँछ।

मानव सभ्यताको विकासक्रममा प्रकृति र समाजलाई मानिसले जसरी, चिन्यो, जान्यो, बुझ्यो र त्यसलाई आफ्नो जीवनमा सजाउन सिक्यो। सभ्यताको लामो अभ्यासका क्रममा प्राप्त वस्तुवादी ज्ञानको निचोडहरूको संग्रहलाई मार्क्सको वस्तुवादी खोज अभियान थियो। त्यही खोजले दिएका तथ्यहरूको जोडलाई हामी मार्क्सवादी ज्ञान सिद्धान्त भन्दछौ। मानव प्रकृतिले नै सिर्जना गरेको जीव हो। प्रकृतिले नियम भित्र रहेर यसले लाखौंलाख वर्ष विकास प्रक्रियाको एउटा पद्धतिको रूपमा मानिसको उत्पत्ति हुन पुगेको हो भन्ने वस्तुगत तथ्यमा आधारित विज्ञान मार्क्सवाद हो। यही विज्ञानको आधारमा तयार भएको ज्ञान सिद्धान्त नै मार्क्सवादी सिद्धान्त हो।

ज्ञान मानवीय उत्पादन

भनियो कि, ज्ञान मूलतः मानवीय उत्पादन हो। प्रकृति र मानवबीचको सम्बन्धले समाजमा पारेको प्रभाव र त्यो प्रभावले सिर्जना गरेको सामाजिक व्यवहारको उपज ज्ञान हो। जीवनमा, रोजेका रोजाइबाट ज्ञान प्राप्त हुन्छ। खोजेका खोजाइबाट ज्ञान प्राप्त हुन्छ। भोगेका भोगाइबाट ज्ञान प्राप्त हुन्छ। त्यस्तो भोगाई व्यक्ति स्वयंका स्वार्थ समूह, शक्ति समूह र ती समूहको स्वरूपको रूपमा रहेको समाज र समाजले अपनाएका विधि व्यवस्थाबाट सिर्जित सामाजिक संस्कृति सभ्यताको प्रभाव र प्रवेगबाट ज्ञान निर्देशित हुन्छ। र, त ज्ञान सापेक्ष वा निरपेक्ष नभई पक्षपाती हुन पुग्दछ। ज्ञान पक्षपाती भएकै कारण मानिस पनि पक्षपाति बन्न पुगेको हुन्छ।

विचारको जन्म

जसरी प्रकृति क्रियाशील र सिर्जनशील छ, त्यसै गरी समाज पनि क्रियाशील र सिर्जनशील छ। प्रकृति र समाजको सक्रिय सिर्जनाबाट वातावरणको जन्म हुन्छ। समाजको सक्रियता समाजमा बस्ने मानिसको सोचाइमा आधारित हुन्छ। वातावरणका रूपमा घट्ने जुन घटनाहरू मानिसले देखेको हुन्छ, त्यसबाट उसको मस्तिष्कका संवेदनशील तन्तुहरू तरङ्गित हुन पुग्दछन्। तरङ्गका विम्बहरू भावनामा लहरिन पुग्दछन्। तिनै भावनाका लहरलाई मानिसले मूर्तिकृत गर्ने प्रयास गर्‍यो, त्यसले विचारको जन्म दियो।

वास्तवमा जसरी पोखरी, तलाउ र समुद्र आफ्नै गतिमा चलायमान छन्। देख्दा स्थिर जस्तो लाग्छ। हावाका झोक्काहरूले मात्र यसलाई उफारिरहेको लाग्दछ। हावा अदृश्य वस्तु (आँखाले देख्न नसक्ने) भएकाले मानिसले यसमा बेग्ला बेग्लै तर्क वितर्क निकाल्न थाले। कहिले पानी पर्ने, कहिले घाम लाग्ने कहिले बादल हावाहुरी आउने कहिले महिनौँ पानी नपर्ने। कहिले हरियाली देखिने कहिले खुरिखण्ड देखिने कहिले जाडो कहिले गर्मी आखिर किन ? यस्तो विविधता प्रदान कसले गरिरहेछ ? किन गरिरहेछ ? यिन कौतूहलले विचारको जन्म दिन पुग्यो।

भ्रमप्रति विश्वासको कमजोरी

भ्रमप्रतिको विश्वास मानिसको कमजोरी हो। विविधताले जिज्ञासा, जिज्ञासाले सोच्ने र तर्क गर्ने क्षमता पैदा गरिदियो। थुप्रै तर्कहरूबीच एउटा कुतर्कले जित्यो। ज्ञानभन्दा बाहिर कुनै शक्ति छ र त्यो शक्तिले यी सब लीला(खेल) रचेको छ। हामी उसको रचनाका एक अंश हौं। हामी आफ्नो सुख र उन्नतिको सपना देख्दछौं भने उसलाई खुसी पार्नुपर्ने धारण आयो। यसले समुदायको अज्ञान र अचेतनमाथि नराम्रोसँग गाँज्न पुग्यो। यसका हाँगाबिँगा शाखा प्रशाखा समूह पिच्छे, शक्ति केन्द्र पिच्छे आफ्नो स्वार्थ अनुकूल व्याख्या र परिभाषा गरिए। एउटा भ्रमले सधैँ र सबैमा भ्रम सिर्जना गर्न सफल रह्यो। यद्यपि आजको विज्ञान प्रविधिको जमानामा पनि यो भ्रम मानिसको कमजोरी कायरपन र कठमूल्लावादी सोच बनेर जमिरहेको छ। रगत रगतमा, जिन जिनमा, वंश वंशमा परम्परागत जीवित सेल बनेर राज गरिरहेछ।

सत्य समयको पछि

आज पनि भनिरहेका छन् कि, ईश्वर नै सृष्टिकर्ता हुन्। पालन कर्ता हुन् र विनाश कर्ता पनि हुन्। यही सोच बनाए। यही कुराको व्याख्या गरे। सहज रूपमा कसले नकार्ने ? त्यसभन्दा अरू कुनै देखिँदैन भने देखेको सत्य पनि हो! तर त्यहाँ देखेको सत्य नहुन सक्छ, अन्य कुनै वस्तुका कारण पानी तरङ्गित हुन पुग्दछ भन्ने तर्क गर्ने तागत कसकैको भएन। चेतना त्यो स्तरमा पुगुन्जेलसम्म भ्रम शक्तिशालीहरूको व्यापारिक अखडा बनिसकेको थियो। त्यस समयका शक्तिशालीहरूको तर्क कसले कट्ने! आफ्नै गर्दन काटिने डर। समयले एक दिन सबै बाहिर ल्याउने प्रयास गर्‍यो। खोज र सोच रुपी तरङ्गका कारण लहरहरू चल्न थाल्छन्, छालहरू उर्लन थाल्दछन्। मानिसभित्रको मस्तिष्क रुपी समुद्रमा पनि दृष्टिले लहरहरू पैदा गरे। खोज कार्य हुन थाले बल्ल सत्य बाहिर आयो, तर सत्यको समयपछि परी सकेको अवस्था बन्यो।

सत्यको भविष्य आज पनि अन्योल ग्रस्त

असत्यहरू नै सत्यको रूप धारणा गरेर विक्री भइसकेका थिए। असत्यको व्यापार चलिरहेको थियो। शक्तिकेन्द्रको रूपमा असत्य हुनहुनाइ रहको थियो। यसरी सभ्यताको उषाकाल देखिनै मानिस असत्यको जालमा फस्न पुग्यो। किनकि, सत्य प्रमाणित हुन्छ, प्रमाण खोज्न समय लाग्छ। खोज अनुसन्धान गर्न धेरै शक्ति सामर्थ्य जुटाउनु पर्दछ। तर असत्यको गुड्डी हाँक्नेले पिँडीमा बसेर हुक्का बजाएको भरमा छाल र लहरहरू उत्पन्न गरिदिन्छ। आफ्नो इगो र घमन्डको लागि कहिलेकाहीँ त सुनामीसम्म सिर्जना गरिदिन सक्दछ। यसरी ज्ञानको अपव्याख्या गरेर ज्ञान नै लुटिन पुग्दा आज पनि सत्यको भविष्य अन्योलग्रस्त छ।

धारण दुई किसिमबाट बन्दछ, एउटा दृष्टि प्रभावबाट तरङ्गित भएर निस्केका लहरमा पैदा भएको शक्तिका आधारमा र अर्को मानिसले भोगेको र सुनेको घटनाबाट ऊ प्रभावित बन्दा उत्तेजना वा संवेदन स्वरूप उसको मस्तिष्कका तन्तुहरूमा पैदा हुने झंकारबाट। त्यस झंकारको बलबाट पैदा भएका प्रवेश र संवेगका कारण उत्पादन भएको तरङ्गबाट जुन धारणा वा व्यवहार प्रकट हुन्छ, त्यो उसको ज्ञान हो। यसरी ज्ञानको स्रोत भनेको प्रकृति र समाजमा घट्ने घटनाले जीवमा पारेको प्रभाव हो।

मुटु मस्तिष्क र जीवन कला

वस्तु र घटनाभित्रका मर्म, मर्मभित्र छिपेका तत्त्व र तत्त्वका कारण पैदा हुने गुणहरूलाई चिन्नु सक्ने कला नै ज्ञान हो। ज्ञान मानिसले आफ्ना इन्द्रियहरू मार्फत प्राप्त गर्दछ। त्यसमा आँखा, कान, छाला, जिब्रो र नाक हुन्। यी सबैका हेडक्वार्टर भने मस्तिष्क नै हो। यी बाहिरका पाँच अंगलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ भने प्रभावको सञ्चालक भने मुटु हो।

मुटुले भित्री पाँच अङ्गलाई सन्तुलन गरिरहेको हुन्छ। त्यसमा, मुटु, किड्नी, फोक्सो, कलेजो र गिदी(मस्तिष्क) मुख्य रूपमा पर्दछन्। मुटुको धड्कन वा ढुकढुकी नै जीवनको जिउने आधार हो। विज्ञानले बताए अनुसार सामान्यतः धड्कन सबैभन्दा पछि मर्दछ अर्थात् मस्तिष्क पछि। यसले अन्तिम समयसम्म इमानदार भएर आफ्नो जिम्मेवारी पुरा गरिरहेको हुन्छ। मुटु र मस्तिष्कबीचको समन्वय कलालाई बुझ्न सकियो भने मानिसको जीवन र प्रकृतिको जगत् कला बुझ्न सजिलो हुन्छ।

ज्ञान उत्पादन कलाभित्र

पक्षाघात मुटुका कारणले हुँदैन। हामी ब्रेन ह्यामरेज भयो भन्दछौ हार्ट अट्याक भयो भन्दछौ। यो मुटुका कारणले भएको हैन। अन्य आन्तरिक अङ्गभित्र असर पुगेपछि त्यसको प्रभाव मुटुमा पर्दछ। मुटुका नियमित क्रिया असन्तुलित हुन पुग्दछ। रगतको प्रवाहमा रोकावट आउन थाल्दछ। मानिस बिरामी पर्न थाल्दछ। यसमा मानिसका आदत, वातावरणको प्रभाव जस्ता कुरा पर्दछन्। ज्ञान उत्पादन कलाभित्र यिनीहरू सामेल हुने हुँदा मैले स्वास्थ्य विज्ञानका बारे केही राख्ने जमर्को गरेँ। तर यो यसको विषय र क्षेत्र नभएकाले मूल विषयतर्फ केन्द्रित हुँदै छु।

आवश्यकता नै ज्ञानको जननी

आवश्यकता नै ज्ञानको जननी हो। ज्ञान आवश्यकताले सिर्जना गरेको हो। पहिलो आवश्यकता भनेको भोक नै हो। भोक मेटाउने आधार प्रकृति हो। भोक मेट्न मानिस सक्रिय रहन्छ। के खाने ? कहाँ जाने ? कहाँ के पाइन्छ ? के खान हुन्छ ? कसरी खाने ? आदि आदि कुराले चेतना शक्तिको जन्म दिन्छ। चिन्तन शक्तिको विकास गराउँछ र सक्रिय रहन (श्रम गर्न) प्रोत्साहित गर्दछ। जब ऊ श्रम गर्न थाल्छ। ऊभित्र उत्साह र कौतुहलता पैदा हुन्छ। विविध वस्तुहरू पाउँछ। पत्ता लगाउँछ। अब उसका विवेक चच्छुले त्यसको अवस्था पत्ता लगाउन थाल्दछन्।

प्राप्त वस्तु कुन हानिकारक रहेछ ? कुन राम्रो रहेछ ? कुन वस्तु कसरी प्रयोग गर्न सकिन्छ ? आफ्नो शारीरिक बनोट, सोचको बनोट, श्रमको बनोट पनि विस्तार विस्तार परिवर्तन हुँदै जाँदा मानिसको ज्ञान भण्डारभित्र प्रशस्त ज्ञान कुञ्जीहरू थुप्रिन पुगेका हुन्छन्। तिनै कुञ्जीहरू समुदायको पुँजी बनेर नयाँ पुस्तालाई खोज अनुसन्धानमा लाग्न प्रेरित गरिरहेको हुन्छ।

आवश्यकताबाट प्राप्त ज्ञान

विकास हुँदै आएको समाजबाटै साधन विकास भयो। ज्ञानको विकास भयो। मानिसलाई भोक पुरा भएपछि आरामको आवश्यकता पर्‍यो। आरामका लागि सुरक्षित ठाउँको आवश्यक पर्‍यो। घाम, पानी, हावा, हुरी, ठन्डी गर्मी, जङ्गली जनावर, मानिसका अरू समूहबाट सुरक्षित रहने किसिमको बस्ने र सुत्ने स्थान आवश्यक पर्‍यो। यसरी मानिसका आवश्यकताहरूमा विविधीकरण हुँदै जाँदा ज्ञानका क्षेत्रहरूमा पनि विविधीकरण हुन पुग्दछ।

जन्मिनासाथ कुनै पनि जीवको पहिलो चाहिने कुरा भनेको भोक मेटाउनु नै हो। भोक लाग्नु आवश्यकता हो। भोक आफै लाग्दैन। भोक त शारीरिक आवश्यकताले सिर्जना गरिदिने हो। शरीर चल्नका लागि शरीरभित्रका अङ्गहरूले काम गरिरहन पर्‍यो। शरीर एकै छिन चल्ने एक छिन नचल्ने हुँदैन। चल्न छोड्नासाथ मरेर जान्छ। शरीर बाँच्न भोक मेटाइरहन आवश्यक छ भन्ने ज्ञान प्राप्त गर्‍यो।

दिनानुदिनका व्यवहारबाट प्राप्त ज्ञान

मानिस चलिरहनका लागि शक्ति चाहिन्छ। शक्तिका लागि निरन्तर खानेकुरा चाहिन्छ। आगो बाल्दा दाउरा थप्दा थप्दैबाट यो विज्ञान मानिसले सिक्यो। जति दाउरा थप्यो त्यति आगो बलिरहेको देखेर शरीरलाई खाना र आगोलाई दाउरा तुलना गर्न थाल्यो। आगोको अग्नि र शरीरको अग्निको प्रकृति एकै ठान्न पुग्यो। यस्तै दिनानुदिनका व्यवहारले मानिसले नयाँ नयाँ विषय र क्षेत्रका ज्ञान प्राप्त गर्दै र त्यसलाई संवृद्ध तुल्याउँदै अरूमा बाँड्दै गयो।

भोकबाट प्राप्त ज्ञान

शरीरलाई शक्ति खानेकुराबाट मात्र प्राप्त हुन्छ। त्यो खानेकुरा चाहिएको संकेत भोक हो। खानेकुराबिना भोक त मेट्दैन। आफ्नो शारीरिक आवश्यकता अनुरूप मानिसले आफ्नो जीवन पद्धतिको विकास गर्‍यो। यसले मानिसलाई नियमित हुन, कुनै पद्धतिमा आबद्ध रहन र अनुशासित बन्ने ज्ञान दिलायो।

मानिसलाई छिन-छिनमा खाना चाहिने भयो। खानेकुरा जुटाउनु सबैभन्दा ठूलो चुनौती भयो। त्यो चुनौती पार गर्नेक्रममा उसले खानेकुरा पहिचान, उत्पादन र त्यसको प्रशोधन गर्न सिक्यो। पछि-पछि भण्डारण गर्ने, खेती पशुपालन गर्ने पेसामा मानिस आबद्ध हुन पुग्यो। भोकबाट सिर्जित यी आवश्यकता पुरा गर्न मानिसले गरेको संघर्षबाट ज्ञानको क्षेत्र झन् विशाल बन्दै गयो। मार्क्सले यसलाई उत्पादनका निम्ति संघर्षबाट प्राप्त ज्ञान भनेर उल्लेख गर्नुभएको छ। भोकबाट बाँच्नका लागि गरिएको संघर्षबाट मानिसले प्राप्त गरेको ज्ञान भएकाले हामी यसलाई भोकबाट प्राप्त ज्ञान भन्न सक्दछौ।

बाँच्नका लागि गरिएको संघर्ष

बाँच्नका लागि खाना र सुरक्षित बसोबास चाहियो। न्यानो कुरा चाहियो। भोकको संघर्ष बाँच्नका लागि गरिएको संघर्ष हो। किनकि, खानेकुरा प्राकृतिक तत्त्वबाट मात्र सम्भव छ। आफू बसेको वरपरको प्रकृतिलाई नबुझी, प्रकृतिका उत्पादनहरूका पहिचान नगरी कुनै फाइदा लिन सकिँदैन। प्रकृतिलाई बुझ्ने क्रममा मानिसले जुन ज्ञानको विकास गरे त्यो विकास बाँच्नका लागि गरिएको संघर्षको प्रतिफल हो।
मार्क्सले यसलाई उत्पादनसँग जोड्नु भएको छ। प्रकृति भनेको घाम, पानी, हावा, ताप र आकाशको योगबाट पैदा भएको संयोजन कला हो। यो कला उत्पादनशील छ। प्रकृतिको उत्पादन कलाले नै यो पृथ्वीमा जीवलाई बाँच्ने वातावरण पैदा गरेको छ। जन्मने, विकास हुने, (बाँच्ने) र मर्ने(रूपान्तरण) हुने कुरा लागि चाहिने हरेक तत्त्वहरूको भण्डार प्रकृति हो। भण्डारमा रहेका आवश्यक तत्त्वहरूको खोज अनुसन्धान गरी पहिचान गर्ने। पहिचान भएकाहरूलाई उपयोग र विकास गर्न सक्ने तुल्याउनु नै उत्पादन हो।

भाषाको उत्पत्ति र विकास

उत्पादन भनेको आवश्यकता पूर्ति गर्ने साधन हो। मानिसले आफ्नो जीवनको आवश्यकता पुरा आफूलाई काम लाग्ने वा चाहिने तत्त्वहरूको खोज गर्‍यो। त्यसलाई नियमित उत्पादन पद्धतिमा समाहित गर्‍यो। प्रकृतिको भण्डारमा रहेका हरेक तत्त्व र विषय वस्तुको खोज गरी उनीहरूबाट के कसरी फाइदा लिन सकिन्छ भनी उनीहरूले जुन सोच विचार तयार गरेका छन्। खोज अनुसन्धानका अवस्थामा जे कुरा देखे भोगे तिनीहरूलाई आवाजको माध्यमबाट बाहिर ल्याउन प्रयास गरे। जसले बोलीको विकास गरायो। पछि तिनै आवाजलाई आकारमा बदल्ने प्रयास स्वरूप भाषाको उत्पत्ति र विकास हुन पुग्यो।

जीवन जिउनका लागि गरिएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धिले एकतर्फी विकासको मात्र ढोका खोलेन। त्यसले त बहुअयमिक रूपले सम्भावनाका क्षितिजहरू उघारिदियो। त्यही सम्भावना पछ्याउँदै जानेक्रममा मानिसले वास्तविकताको खोजी गर्‍यो। समय अनुसारको परिवर्तन कला र त्यसले सिर्जना गरेको नयाँ ज्ञानले गर्दा मानिसले आफ्नो व्यक्तित्व र विकासलाई नयाँ सिराबाट माथि उठाउन सक्यो। …यसका थप सामग्रीहरू पछि क्रमिक रूपमा प्रकाशन हुनेछन्….। https://lokpati.com/

 

तपाईंको प्रतिक्रिया

थप खबर