काठमाडौ /२१ पुस – ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (BCA) मा कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ । कम्प्युटर (हार्डवेयर) भएर मात्र हुँदैन, कम्प्युटरलाई सरल र सहज रूपमा चलाउन एप्लिकेसन आवश्यक पर्छ ।
बीसीएले त्यो एप्लिकेसन बनाउन आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ । बीसीएअन्तर्गत Word processing software, Desktop Software, Internet Browsers, Email Programs आदिको एप्लिकेसन बनाउन सिकाइन्छ । त्रिविले २०७४/७५ देखि मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत यो कार्यक्रम सञ्चालन सुरु गरेको हो ।
४ वर्षे यो कोर्ष ८ सेमेस्टरमा अध्यापन हुन्छ । त्रिविले सुरुमा यो कार्यक्रम सञ्चालन गर्ने अनुमति ६ वटा आंगिक क्याम्पसलाई दिएको थियो । प्रत्येक आंगिक क्याम्पसमा जम्मा ३५ सीट छ । हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका ८७ वटा कलेजहरुमा यो विषय अध्यापन हुँदै आइरहेको छ । बीसीए आईटीसम्बन्धी कोर्स भए पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी संकायमा समावेश गरेको छ ।
अन्य विश्वविद्यालयले साइन्स एन्ड टेक्नोलोजी संकायमा समावेश गरेका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न क्याम्पसले बीसीए कोर्स सञ्चालन गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयमा सन् १९८९ तिर सुरु भएको बीसीए कार्यक्रम त्रिभुवन विश्वविद्यालयले केही वर्ष अघि बाट सुरु गरेका छन । भारतमा लगभग झण्डै १५/२० वर्ष अघि सुरु भएको यो विषय रोजगारका हिसाबले हेर्ने हो भने राम्रो विषयका रुपमा लिइन्छ ।
“बीसीए सफ्टवेयरसँग सम्बन्धित विषय हो, र नेपालमा सफ्टवेयरको बजार निकै ठूलो भएकाले यो अहिलेको समयमा अत्यावश्यक विषय हो । विद्यार्थीहरुले मैले किन बीसीए विषय पढ्ने, यसको स्कोप के छ भन्ने कुरा बुझेर मात्र पढ्दा राम्रो हुन्छ ।
अहिलेको समयमा आईटी सम्बन्धी सीप नभई कुनैपनि क्षेत्रमा जागिर पाउन गाह्रो छ । बीसीए यस्तो विषय हो जहाँ आईटी र व्यवस्थापन दुवै विषयलाई समेटिएको हुन्छ । यो विषय अध्ययन गरेका विद्यार्थीहरुसँग शैक्षिक योग्यताका साथै सीप पनि हुन्छ । जसले गर्दा रोजगारी पाउन सजिलो हुन सक्छ ।
कस्तो छ कोर्ष ?
सीएसआईटी र बीसीए विषयको कोष लगभग उस्तै–उस्तै हुन् । कम्प्युटर एपलिकेशनका कोर विषय, इलेक्टिभ कोर्ष, म्याथम्याटिक्स र तथ्यांकका कोर्ष, भाषाका कोर्ष, सोसल साइनस एण्ड म्यानेजमेन्टका कोर्षका साथै प्रोजेक्ट र इन्टर्नसिपलाई पनि कोर्षमा समेटिएको छ ।
बीसीए कोर्षमा १२६ क्रेडिट आवरको छ ।“बीसीएमा ९० क्रेडिट आवरको कम्प्युटर सम्बन्धी विषय अध्ययन गर्नुपर्छ । बीसीएमा क्रेडिट आवर, लेक्चर आवर, ट्यूटोरिकल आवर र ल्याव आवर भनेर छुटाइएको हुन्छ । यस कोर्षमा ३० क्रेडिट आवरको इन्टर्नसिप र प्रोजेक्ट गर्नु पर्ने हुन्छ ।
४, ६ र ८ सेमेष्टरमा प्रोजेक्ट गराइन्छ भने ७ औं सेमेष्टरमा विद्यार्थीहरुले इन्टर्नसीप गर्नुपर्ने हुन्छ । ब्याचलरमा यो विषय अध्ययन गरेका विद्यार्थीहरुले मास्टरमा म्यानेजमेन्ट र आईटी सम्बन्धि जुनसुकै विषय अध्ययन गर्छु भन्दा पनि पाउँछ । जस्तै : एमसीए, एमआईटी र एमबीए लगायतका अन्य विषयहरु ।
क–कसले पढ्न पाउँछन ?
यो विषय अध्ययन गरेका विद्यार्थीहरु कम्प्युटरसँग सम्बन्धित समस्याहरु समाधान गर्न सक्षम हुन्छ । यो विषय जुनसुकै संकायका विद्यार्थीहरुले पनि अध्ययन गर्न पाउँछन् भने यो विषय अध्ययन गर्नका लागि विद्यार्थीहरुले कक्षा ११ र १२ मा सबै विषयमा ‘डी’ प्लसभन्दा माथिको ग्रेड ल्याउनुपर्छ ।
यसैगरी जीपीए २ आएका विद्यार्थीहरुले मात्र यो विषय अध्ययन गर्न पाउँछन् । यो विषय अध्ययन गर्नका लागि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र सम्बन्धित कलेजहरुमा भर्ना हुन पाइन्छ ।
यो विषय अध्ययन गन कति लाग्छ खर्च ?
नेपालमा यो विषय अध्ययन गर्नका लागि कलेज अनुसार फरकफरक शुल्क लाग्ने गर्दछ । आंगिक तथा निजी कलेजहरुमा फरक–फरक शुल्क निर्धारण गरिएको छ ।
सरकारी क्याम्पसमा बीसीए विषय अध्ययन गर्नका लागि ३ लाख ५० हजार रुपैयाँ लाग्छ भने निजी कलेजहरुमा कलेजले प्रदान गर्ने सेवा सुविधाका आधारमा सामान्यता ३ लाख ५० हजार देखि ८ लाख सम्ममा पढाई भईरहेको छ ।
छात्रवृत्तिको व्यवस्था
विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको छ । तर, यति विद्यार्थीलाई नै निःशुल्क पढाउनुपर्ने भन्ने व्यवस्था नभएकाले क्याम्पसले आफ्नो क्षमताअनुसार छात्रवृत्ति दिने गरेका छन् ।
३५ जनाको मात्र कोटा भएकाले क्याम्पसले विद्यार्थीको आर्थिक अवस्था हेरेर छात्रवृत्ति दिने गरेका छन् । अन्य संघसंस्थाले पनि छात्रवृत्ति दिँदै आएका छन् ।
इन्टर्न्सिप
यो आईटीसम्बन्धी कोर्स भएकाले कम्तीमा तीन महिना कुनै पनि आईटी कम्पनीमा इन्टर्न्सिप गर्नुपर्ने हुन्छ । त्यसपछि प्रोजेक्ट वर्क अनिवार्य बनाउनुपर्छ । एप्लिकेसन कसरी निर्माण गर्ने भन्ने बारेमा इन्टर्न्सिप गर्दा सिक्न सकिन्छ । कम्पनीले इन्टर्न्सिपमा राम्रो गर्ने विद्यार्थीलाई रोजगार दिन सक्छ ।
कुन कुन क्षेत्रमा जान सकिन्छ ?
यो विषय अध्ययन गरेका विद्यार्थीहरु कम्प्युटर एण्ड इन्फरमेशन सिस्टम म्यानेजर, कम्प्युटर सपोर्ट स्पेसलिष्ट, कम्प्युटर सिस्टम एनलाइटिस, आईटी अफिसर, नेटवर्क एण्ड कम्प्युटर सिस्टम एडमिनिष्टे«र लगायतका क्षेत्रहरुमा जान सक्छ ।
यसैगरी सरकारी क्षेत्र, निर्माण उद्योगका क्षेत्र, बैंक, कर्पोरेट हाउस जस्ता क्षेत्रमा जान सकिन्छ । बीसीए अध्ययन गरेका विद्यार्थीहरुलाई नेपालमै काम गर्नका लागि पनि राम्रा अवसरहरु रहेको छ । बीसीए अध्ययन गरेका विद्यार्थीहरुको माग स्वदेश तथा विदेशमा बढ्दो छ ।
नेपालमा सरकारी र गैरसरकारी क्षेत्रहरुमा बीसीए अध्ययन गरेका विद्यार्थीहरुले राम्रो अवसर प्राप्त गर्न सक्छन् । यसैगरी बीसीए अध्ययन गरेका विद्यार्थी विदेशमा गएर काम गर्छु भन्दा पनि राम्रो अवसर छ ।