महोत्तरीको सोनमामा दुई पक्षबीच झडप, १ जनाको मृत्यु, २ घाइते

  असोज ०३, २०७८

असोज ३ महाेत्तरी / आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार आर्केस्ट्रा नृत्य वडा नम्बर ७ स्थित मुसहर बस्तीमा भएको थियो । मुसहर समुदायका युवा र मृतक रामप्रसाद पक्षमा राति नै झगडा भएको र पुन: बिहान झगडा हुँदा यादवको ज्यान गएको हो ।

झडपमा मृतक यादवका दुई छोरा गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । बर्षेनि विश्वकर्मा पूजाको अवसरमा आर्केस्ट्रा नृत्यकै कारण दुर्घटना निम्तिरहेको गुनासो बढ्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत आर्केस्ट्रा नृत्य रोक्ने भन्दै सजगता अपनाएको थियो । नृत्यकै लागि भारतबाट आएका तीन दर्जन कलाकारलाई प्रहरीले बाटैबाट फर्काएको थियो । स्थानीयले भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै उक्त अश्लील नृत्यलाई जारी नै राखेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

घटनाको संलग्न भएको आसङकामा स्थानीय दुईजना युवालाई प्रहरिले नियन्त्रणमा लिएको छ । दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर