साढे ४ महिनादेखि बन्द पशुपतिनाथको मन्दिर आजदेखि खुला

  भदौ २५, २०७८

भदौ २५ काठमाण्डाै / नयाँ भेरियन्टसहितको कोरोना त्रासका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर आज बिहान क्षमा पूजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गएको बैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ ।

एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने आजदेखि नै खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । साढे चार महिनापछि खुलेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर