वीरेन्द्रनगर- शिक्षा केवल किताब, परीक्षा र प्रमाणपत्रमा सीमित हुँदैन। वास्तविक शिक्षा त्यो हो, जसले बालबालिकालाई समाज बुझ्न, मानिससँग घुलमिल हुन, समस्या पहिचान गर्न र समाधान खोज्न सक्षम बनाउँछ। यही अवधारणालाई व्यवहारमा उतार्दै एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले ‘कक्षाकोठालाई समुदायसँग जोड्ने’ कार्यक्रमअन्तर्गत कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई लेकवेशी नगरपालिका–५ स्थित नेरा माध्यमिक विद्यालयमा एक साताको शैक्षिक क्याम्प सञ्चालन गरेको छ।
शिक्षालाई व्यवहारिक, जीवनोपयोगी र समुदायसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूलाई पुस्तकमा सीमित ज्ञानभन्दा धेरै परको संसारसँग परिचित गराएको छ। सहरमा हुर्किएका बालबालिकाले गाउँको वास्तविक जीवनशैली, गाउँका संस्कृति, सामाजिक संरचना, श्रमको महत्त्व, सहकार्य, नेतृत्व र सामुदायिक उत्तरदायित्वबारे प्रत्यक्ष अनुभव हासिल गरे।
एसओएस हर्मन माइनर विद्यालय विगत तीन दशकदेखि गुणस्तरीय, समावेशी र बालमैत्री शिक्षाको अभ्यास गर्दै आएको छ। विद्यालयले औपचारिक शिक्षासँगै नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, सामुदायिक सहभागिता र जीवनोपयोगी सीपमा समेत जोड दिँदै आएको छ।
एसओएस चिल्ड्रेन्स भिलेजका निर्देशक गोपालप्रसाद घिमिरेले कक्षाकोठालाई समुदायसँग जोड्ने कार्यक्रमअन्तर्गत एसओएस र नेरा माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच भएको सिकाइ हस्तान्तरण निकै प्रभावकारी भएको बताए। उनका अनुसार कक्षाकोठामा सिकाइएका विषयहरूलाई समुदायसँग जोड्नु कार्यक्रमको मुख्य उद्देश्य हो। ‘समाजमा धेरै यस्ता विषय छन्, जुन किताबमा पाइँदैनन् तर जीवनका लागि अत्यन्त आवश्यक हुन्छन्। ती विषयलाई व्यवहारमा सिकाउन गाउँमा क्याम्प सञ्चालन गरिएको हो’ उनले भने। आगामी दिनमा पनि लेकवेशी क्षेत्रका सामुदायिक विद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
एक सातासम्म सञ्चालन भएको क्याम्पमा सहभागी विद्यार्थीहरूले गाउँमै बसेर दैनिक जीवनका गतिविधिहरूमा प्रत्यक्ष सहभागिता जनाए। उनीहरूले आफैँ खाना पकाए, सामूहिक रूपमा काम गरे, सार्वजनिक स्थलको सरसफाइ गरे र गाउँका घर–घरमा पुगेर समुदायका समस्या पहिचान गर्ने अभ्यास गरे। एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेतले भने, ‘बालबालिकालाई प्रभावकारी सिकाइसँगै सामाजिक जीवनका विविध पक्षबारे जानकारी गराउन गाउँमा एक साताको क्याम्प सञ्चालन गरिएको हो। यो निकै उपलब्धिमूलक बन्यो। विद्यार्थीहरूले विद्यालयमा मात्र सिक्न नसक्ने सामाजिक व्यवहार, जीवनशैली, कला, संस्कृति र परम्पराबारे नजिकबाट बुझ्ने अवसर पाए। हाम्रो उद्देश्य विद्यार्थीलाई केवल राम्रो अंक ल्याउने बनाउनु होइन, असल नागरिक बनाउनु हो।’
सहर र गाउँबीचको अन्तर बुझ्नु पनि कार्यक्रमको महत्वपूर्ण पक्ष थियो। गाउँका विद्यार्थीहरू विद्यालय पुग्न दैनिक कति समय हिँड्नुपर्छ, उनीहरूले घरमा कस्ता काम गर्छन्, परिवारको जिम्मेवारी कसरी बाँडफाँट गर्छन् भन्ने विषयमा एसओएसका विद्यार्थीहरूले प्रत्यक्ष जानकारी पाए।
यसले बालबालिकामा संवेदनशीलता, आत्मनिर्भरता र सामाजिक चेतना विकास गर्न सहयोग पुगेको छ। क्याम्पका क्रममा विद्यार्थीहरूले गाउँका घर–घरमा पुगेर स्थानीय समस्याको सर्वेक्षण गरेका थिए। उनीहरूले विद्यालय, स्वास्थ्य चौकी तथा सार्वजनिक स्थलहरूको सरसफाइ गर्दै सामुदायिक सेवामा पनि सहभागिता जनाए।
विद्यालयले केवल पढाउने संस्था मात्र नभई समाज परिवर्तनको केन्द्र बन्न सक्ने सन्देश पनि यस कार्यक्रमले दिएको लेकवेशी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष चक्रबहादुर शाहीले बताए। उनले स्थानीय सरकारको कार्यप्रणाली, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण प्रक्रिया र सुशासनका विषयमा गरिएको अवलोकन भ्रमण प्रभावकारी भएको बताए।
यस्तै नेरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश रानाले एसओएसबाट आएका विद्यार्थीहरूले स्थानीय विद्यार्थीहरूसँग शैक्षिक विषयवस्तुका साथै अनुशासन, नेतृत्व र असल व्यवहारका विषयमा प्रभावकारी सिकाइ हस्तान्तरण गरेको बताए। उनका अनुसार सिकाइका लागि गरिने अभ्यास, सार्वजनिक स्थलको सरसफाइ, मानवीय सहयोग र सामूहिक कार्यजस्ता जीवनोपयोगी सीपहरूको आदानप्रदानले स्थानीय विद्यार्थीहरूलाई पनि थप प्रेरित गरेको छ।





