काठमाडौं –प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले नर्सिङ कार्यक्रमको भर्ना प्रक्रियामा योग्यता क्रम मिच्ने तथा नियमविपरीत विद्यार्थी भर्ना गर्ने शिक्षालयलाई आगामी शैक्षिक सत्रमा अतिरिक्त छात्रवृत्ति कोटा थप्नुपर्ने चेतावनी दिएको छ ।
कार्यालयले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका रिक्त सिटसम्बन्धी सूचना जारी गर्दै भर्ना प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विवादरहित बनाउन सम्बन्धित शिक्षालयलाई निर्देशन दिएको हो । सूचनाअनुसार सम्बन्धित कार्यक्रमको उत्तीर्ण सूची (पास लिस्ट) मा रहेका उम्मेदवारबाट मात्र आवेदन लिनुपर्ने व्यवस्था गरिएको छ ।
सीटीईभीटीका अनुसार केही शिक्षालयले योग्य उम्मेदवारबाट आवेदन नलिएको, इमेलमार्फत आवेदन दिने व्यवस्था नगरेको तथा सूचनामा उल्लेख गरिएका सम्पर्क नम्बरमा समेत सम्पर्क हुन नसकेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो । त्यसैले उम्मेदवारलाई स्वयं उपस्थित भएर वा शिक्षालयको आधिकारिक इमेलमार्फत निवेदन पेश गर्न सक्ने व्यवस्था मिलाउन शिक्षालयहरूलाई भनिएको छ ।
कार्यालयले भर्ना प्रक्रिया योग्यता क्रमका आधारमा सञ्चालन गर्नुपर्ने स्पष्ट पार्दै नियम उल्लंघन गरी विद्यार्थी भर्ना गरेको प्रमाणित भए सम्बन्धित शिक्षालयले आगामी शैक्षिक सत्रमा सोही संख्यामा अतिरिक्त छात्रवृत्ति कोटा थप्नुपर्ने वा अन्य आवश्यक व्यवस्था गर्नुपर्ने जनाएको छ ।
सीटीईभीटीले सबै शिक्षालयलाई निर्धारित मापदण्ड र निर्देशिकाअनुसार भर्ना प्रक्रिया सञ्चालन गर्न तथा विद्यार्थीको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।






