दाङ जिल्लामै पहिलो पटक थारू भाषामा पठनपाठन

  १५ घण्टा अगाडि

दाङ- दाङ जिल्लामै पहिलो पटक थारू मातृभाषामा पठनपाठन हुने विद्यालय सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित एक आधारभूत विद्यालयमा शिशु कक्षादेखि कक्षा ४ सम्म थारू भाषामै अध्यापन सुरु गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक किरण चौधरीका अनुसार विद्यालयमा अध्ययनरत ७१ विद्यार्थीमध्ये ६७ जना थारू समुदायका छन् । उहाँले स्थानीय बालबालिकालाई मातृभाषामै शिक्षा दिने उद्देश्यले विद्यालयमा थारू भाषाबाट पठनपाठन सञ्चालन गरिएको जानकारी दिनुभयो ।

थारू भाषामा विद्यालय सञ्चालनका लागि स्थानीय अगुवा रोहित चौधरीले लामो समयदेखि पहल गर्दै आउनुभएको थियो । तीन वर्षअघि विद्यालय सञ्चालनको अनुमति माग गर्दै तुलसीपुर उपमहानगरपालिकामा निवेदन दर्ता गराउनुभएका उहाँले भाषा अधिकारका विषयमा विभिन्न कार्यक्रम, छलफल र नीतिगत बहसमा निरन्तर आवाज उठाउँदै आउनुभएको थियो ।

उपमहानगरपालिकाको ४७ औँ कार्यपालिका बैठकले दक्षिण कुरहरियामा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले थारू राजा दङ्गीशरणको ऐतिहासिक विरासतसँग जोडिएको क्षेत्र भएकाले थारू भाषा, संस्कृति र पहिचान संरक्षणका लागि विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको बताउनुभयो ।

उहाँले विद्यालयलाई गुठीको अवधारणा अनुसार सञ्चालन गर्न अनुमति दिइएको जानकारी दिँदै पालिकाको तर्फबाट स्वयंसेवक शिक्षकको व्यवस्था गरिने बताउनुभयो ।  नगरप्रमुख खड्काले थारू भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि स्थानीय तह प्रतिबद्ध रहँदै मातृभाषामा शिक्षा प्रदान गर्दा सिकाइ उपलब्धिसमेत प्रभावकारी हुने विश्वास लिएको बताउनुभयो ।  विद्यालयमा हाल आठ जना शिक्षकशिक्षिका र एक जना कार्यालय सहयोगी कार्यरत हुनुहुन्छ ।  प्रधानाध्यापक चौधरीका अनुसार सबै नौ जना कर्मचारी थारू समुदायका हुनुहुन्छ ।

थारू मातृभाषिक विद्यालय सञ्चालनका अभियन्ता रोहित चौधरीले विद्यालय वरपर करिब चार सय घरधुरी चौधरी समुदायको बसोबास रहेकाले मातृभाषामा शिक्षा दिनु अझ प्रभावकारी हुने बताउनुभयो । उहाँका अनुसार बालबालिकाले आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिएर शिक्षा प्राप्त गर्दा सिकाइप्रति रुचि र आत्मविश्वाससमेत बढ्ने गर्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर