शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक: मन्त्री शर्मा

  चैत १४, २०८०

१४ चैत, घोराही- सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न सामुदायीक विद्यालयको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराहीस्थित जन जागृति र जयशेर माबिमा खेलकुदा सामग्री सहयोग कार्यक्रममा बोल्दै मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

विद्यालयमा पठनपाठनको अवस्था, नियमित मुल्यांकन, अनुगमन, आवश्यकता अनुसारको अध्ययन अध्यापनमा ध्यान दिने हो भने सामुदायिक विद्यालयको स्तरपनि बढ्दै जाने उहाँको भनाई थियो । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजनाका साथ यसवर्ष सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने काम गरिरहेको बताउनुभयो । यसअघि पुस्तक छाप्न आवश्यक पर्ने कच्चा पदार्थको अभाव, समयमै रकम निकासा नहुने, वितरण केन्द्रमै किताब थन्किने, दुर्गममा ढुवानीको समस्यालगायतका कारण पुस्तक छपाइमा ढिलाई हुने र विद्यार्थीले समयमा पुस्तक नपाउने समस्या थियो । तर गएको वर्षदेखि व्यवस्थापन मिलाएर सबै जिल्लाका विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीको मुल्यांकन कापी र किताबका पानामा भन्दा बढी क्षमता, रुचि, प्रस्तुतिलाई ध्यान आग्रह गर्नुभयो । सबै विद्यार्थी सबैमा उत्कृष्ट नहुने भन्दै यसका लागी उनीहरुको क्षमताअनुसार प्रेरणा, पठनपाठनमा विशेष सहयोग र उनीलाई पटक पटक हौसला दिइरहन आवश्यक रहेको बताउनुभयो ।

समाजमा मर्यादाका साथ जीवनयापन गर्ने योग्यता आचरण र उपयुक्त व्यवहार विद्यालयबाट नै सिकाइने भएकाले प्रत्येक समुदायको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहने मन्त्री शर्माको भनाई थियो ।।

तपाईंको प्रतिक्रिया

थप खबर