घोराही दाङ, माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित मेचीकाली आवासीय सेकेन्डरी स्कुलले आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ ।
आज बुधबार विद्यालयमा एक समारोहको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेले मेचीकाली विद्यालयले शिक्षामा खेलेको भूमिकाको प्रशंसा गरे । साथै उनले बालबालिकाहरुको शिक्षाका लागि अभिभावकहरु समेत जिम्मेवार बन्नु पर्नेमा जाेड दिए । ‘शिक्षा आर्जनका लागि विद्यालयको मात्रै दायित्व हुँदैन,’ पाण्डेले भने ‘अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी हुन्छ, आफ्ना सन्ततिलाई उचित संस्कार सहितको शिक्षाका लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’
कार्यक्रममा प्याब्सन दाङका वरिष्ठ जिल्ला उपाध्यक्ष विजयमान जिएमले विद्यालयले पठनपाठनसँगै अतिरिक्त ज्ञान समेत दिलाउनुपर्ने बताए ।
कार्यक्रममा प्याब्जस घोराही नगर अध्यक्ष बीरेन्द्र चन्द,प्याब्सनका जिल्ला निवर्तमान उपाध्यक्ष निर्मल न्यौपाने,नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष सविन प्रियासन,शिक्षक अभिभावक संघका अध्यक्ष मौसम आचार्य,विकास नगर टोल समितिका अध्यक्ष बेचन वली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल चक्रबहादुर रावतले विद्यालयको शैक्षिक प्रगति विवरण पेश गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । यसैगरि विद्यार्थीहरुले निर्माण गरेका चित्रकला समेत प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमको सहजीकरण विद्यालयका इन्चार्ज नवराज खत्रीले गरेका थिए ।
हिजाे मङ्गलबार रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियो । विद्यालयका २६ जना शिक्षक कर्मचारीले रक्तदान गरेका थिए । साथै वाषिर्कोत्सवकाे पूर्वसन्ध्यामा विद्यालयमा गठित पिस क्लबले बृद्धाश्रममा फलफूल वितरण पनि गरेका थिए ।