राप्ती इञ्जिनियरिङ कलेजको १५औं वार्षिकोत्सव

  माघ १, २०८०

घोराही । दाङको घोराही-१६ मा राप्ती इञ्जिनियरिङ कलेजको १५औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गरी सो वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रवन्ध निर्देशक डा. भिमसेन गिरीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन गर्दै  प्रमुख अतिथि पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक सह- प्राध्यापक तुलसीराम भण्डारीले हरेक विद्यार्थीले  कलेजमा विताएका समय नै माइल स्टोन हुने बताउनुभयो । उहाँले वर्तमानमा समयमा रोजगारीको लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने भएकोले  विद्यार्थीको पहिलो प्राथमिकता पढाइमा हुनुपर्नेमा कुरामा जोड दिनुभयो । अतिरिक्त क्रियाकलाप पनि शैक्षिक संस्थामा  आवश्यक पर्ने भन्दै परीक्षाको तालिका सार्वजनिक भएको हुँदा अब विद्यार्थीहरुले बाह्य क्रियाकलापलाई सहायक बनाउदै आफ्नो पढाइमा विशेष ध्यानदिनुपर्ने  सह- प्राध्यापक भण्डारीको जोड थियो ।  कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका नगर प्रवक्ता राममणी पाण्डेले यस कलेजले सूचना तथा प्रविधि क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो  ।

यो शैक्षिक संस्थाले  सामज र राष्ट्रलाई चाहिने प्राविक दक्ष जनशक्ति उत्पादन गरी देशलाई विशेष योगदान पुर्याएको कुरामा जोड दिँदै  समाज तथा देश परिवर्तन गर्नका लागि भाषण भन्दापनि  काममा लाग्नुपर्ने उहाँको भनाइ थियो  । कलेजका प्रीन्सीपल रेशम गिरीले २०६५ सालमा स्थापना भएको कलेजले लुम्बिनी प्रदेशमै उत्कृष्ट प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

कलेजले देशलाई आवश्यक  पर्ने पक्ष जनशक्ति उत्पादन गर्दै आएको र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा विशेष जोड दिएको उहाँले बताउनुभयो । दाङलाई इञ्जिनियरिङ क्षेत्रको हव बनाउनका लागि कलेज आफ्ना सम्पूर्ण गतिविधिहरु अगाडि बढाउदै  र कलेजबाट उत्पादित जनशक्ति  राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा सहज रुपमा रोजगारी प्राप्त गरिरहेको प्रीन्सीपल गिरीको भनाइ थियो । स्थानीय बुद्दिजीवी तथा अभिभावक सविन सीले यो कलेज घोराहीको सुन्दर गहना भएको बताउनुभयो  ।

उहाँले यस कलेजले प्राविधिक दक्ष जनशक्ति उत्पादन गरी देश तथा विदेशमा प्रतिस्पर्धा गराएको भन्दै थप शैक्षिक  प्रगति र सफलताको  शुभकामना व्यक्त गर्नुभयो ।  कार्यक्रममा फरक धारण राख्दै  अभिभावक सविनले आज नेपाली समाजमा ठूलो निराशाको डढेलो सल्किएको बताउदै वर्तमान आक्रोश र निराशालाई सितलता दिनतिर एक पटक विद्यार्थीहरुले गम्भीर भएर ध्यानदिनुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष तथा घोराही बनाउन अभियानका संयोजक  सविन प्रीयासनले  यो कलेजले स्थापना भएको छोटो समयमै नमूना कलेजको रुपामा स्थापित भएको बताउनुभयो । उहाँले  देशको विकास र समृद्धिका लागि इञ्जिरियरिङ फिल्डको महत्त्वपूर्ण भूमिका रहेको कुरामा जोड दिनुभयो । इञ्जिनियरिङ फिल्डले समाज हरेक काम गर्न सक्ने भन्दै कलेजको समयभन्दा अघिपछिको समयमा घोराहीलाई कस्तो बनाउने भन्ने विषयमा योजना बनाउनुपर्ने उहाँको भनाइ थियो ।

लाइन्स क्लब  इनटरनेशल डिस्ट्रीक ३२५ एनका एक्जकेटिभ चिफ  लव अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य नोर्बु तामाङ, सिस्नो पानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका उप प्रमुख केशरमान बुढाथोकी, पद्मोदय पब्लिक नमूना माविका लोकबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस कलेजले दाङ जिल्लामा प्राविधिक शिक्षाको जग बसाल्नमा अतुलनीय भूमिका निर्वाह गरेको कुरामा जोड दिनुभयो ।  शैक्षिक क्षेत्रलाई उत्कृष्ट बनाउनका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा उहाँहरुको भनाइ थियो ।

कलेजले वार्षिकोत्सवको असरमा कलेजको समग्र विकासलागि उत्कृष्ट योगदान पुर्याउने शिक्षक तथा कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान पत्र प्रदान गरेको थियो । जसमा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने शिक्षक डा. खेमराज मल्ल, शैक्षिक कार्यमा योगदान पुर्याउने इञ्जिनियर प्रोज्वल आचार्य, उत्कृष्ट कर्मचारीमा धनेश्वर चौधरी, शिक्षण क्रियाकलापमा योगदान पुर्याउने शिक्षक विश्वबन्धु थापा, शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने इञ्जिनियर शर्मिला दहित, शिक्षण कार्यमा योजना पुर्याउने इञ्जिनियर सुमन डाँगी, शिक्षण सिकाइ क्रियाकलापमा योगदान पुर्याउने इञ्जिनियर तिलकराज अधिकारी, प्रयोगात्मक शिक्षण सिकाइ क्रियाकलापमा योगदान पुर्याउने शिक्षक ओमप्रकाश नेपाली, वृद्धि विकासमा योगदान पुर्याउने शिक्षक लोकेन्द्र डाँगी, लाइब्रेरीमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारी अशोक गिरी, लेखामा  उत्कृष्ट योगदान पुर्याउने कर्मचारी भूमिका जिसी र सरिता जिसी, परीक्षा शाखामा  उत्कृष्ट योगदान पुर्याउने कर्मचारी हेमराज वैद्य, रोजगार तथा परामर्श क्षेत्रमा योगदान पुर्याउने कर्मचारी करिना खड्का, यातायात क्षेत्रमा योगदान पुर्याउने कर्मचारी केशवराज गिरी,  सुरक्षागार्डमा योगदान पुर्याउने सुरजमान चौधरी, कलेजको वृद्धि विकासमा योगदान पुर्याउने कर्मचारी सरदमान कँवर, कलेजको सरसफाइमा योगदान पुर्याउने कर्मचारी टीका लुहार लगायत सम्मानित भएका थिए । भने शैक्षिक वर्षको अध्ययन पूरा गरी पास आउट भएका  विद्यार्थीहरुलाई पनि विभिन्न विधामा  पुरस्कार वितरण गरेको थियो । त्यस्तै कलेजले आफ्नो वार्षिकोत्सबको अवसरमा कलेजमा भएका विभिन्न विधाका खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः ट्रफी, मेडेल र पुरस्कार  वितरण गरेको थियो । कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए । कलेजका डाइरेक्टर मधुसूदन वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कलेजका आइटी बिभागका प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर