मोरङ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए । नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् । केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै नेता कोइरालाले
‘अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उद्यमशील बनाउन सक्दैन तबसम्म देश समृद्धिको बाटोमा जान सक्दैन’ कोइरालाले भने ।
अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा वैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउने र स्वदेशमै बस्नेले पनि राम्रो आय आर्जन गर्न सक्ने उनको भनाई थियो ।
शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए ।