प्रविधिमैत्री बन्दै त्रिवि

  माघ १४, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिन भोग्नुपर्दै आएको ढिलासुस्ती र सास्ती हट्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यही माघ १५ देखि लागु हुने गरी अनलाइन प्रणाली सुरु गर्न लागेको हो । अब त्रिविमा परीक्षा र शैक्षिक प्रमाणसँग जोडिएका ११ प्रकारका काम अनलाइनबाटै हुनेछन् ।

अनलाइन प्रणालीबाट प्रमाणपत्र लिन सबैभन्दा पहिला त्रिविको वेबसाइट टीयूएक्जाम डट ईडीयू डटएनपीमा लगइन गर्नुपर्नेछ । त्यसपछि सर्टिफिकेट लिंकमा क्लिक गर्ने । साइनअप गरेपछि विद्यार्थीको इमेलमा एउटा लिंक देखिन्छ, त्यसमा क्लिक गरेपछि रजिस्ट्रेसन स्लिप अपलोड गरी ट्रान्सक्रिप्टमा गएर आवश्यक सूचना भर्नुपर्ने व्यवस्था छ । अनलाइनबाट जुन सेवा लिने हो त्यसअनुसारको आवश्यक कागज पेस गर्दै क्लिक गर्ने । सबै प्रक्रिया मिलेपछि परीक्षा नियन्त्रण कार्यालयले समन्धित क्षेत्रीय कार्यालय र क्याम्पसहरुमा पठाउने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

विद्यार्थीले अनलाइनमार्फत प्रोभिजनल सर्टिफिकेट, पुनर्योग, नाम सच्याउनेलगायत ११ प्रकारका काम गर्न सक्नेछन् । यसबाट विगतमा पाउँदै आएको सास्ती हट्ने विद्यार्थीहरुको अपेक्षा छ ।

त्रिभुवन विश्वविद्यालयमा बर्सेनि नियमित र आंशिक ६ लाख हाराहारीमा परीक्षार्थी सहभागी हुन्छन् । तर परीक्षासम्वन्धी जनशक्ति २६६ दरबन्दी रहेकामा ५५ प्रतिशतभन्दा बढी रिक्त हुँदा नतिजा प्रकाशन शैक्षिक प्रमाणपत्र वितरणमा ढिला हुने गरेको परीक्षा नियन्त्रक जोशीको भनाइ छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले छिटोछरितो सेवाका लागि अनलाइन प्रणालीमा जाने निर्णय दुई वर्षअघि नै गरे पनि सूचना प्रविधिसँग सम्बन्धित दक्ष जनशक्ति नभएको भन्दै कार्यान्वयनमा ढिलाइ भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर