शैक्षिक गुणस्तर सुधार्न अतिरिक्त कक्षा

  माघ १३, २०८०

गढवा । बालकल्याण आधारभूत विद्यालय गढवाले शैक्षिक गुणस्तर सुधार गर्न बिहान र साँझ गरी दुई÷दुई घण्टा अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले अतिरिक्त कक्षाको उद्घाटन गर्नुभएको हो । कक्षा उद्घाटन गर्दै पालिका प्रमुख पोखे्रलले शैक्षिक गुणस्तर सुधार गर्ने अभियानअन्तर्गत पालिकाका विभिन्न विद्यालयहरुमा अन्य गतिविधिहरु सञ्चालन हुँदै गरेको अवस्थामा बालकल्याण आधारभूत विद्यालयको पहलमा अतिरिक्त कक्षा आरम्भ भएको र यो पहिलो परीक्षण रहेको बताउनुभयो । विद्यार्थीहरुलाई पठन–पाठनमा व्यस्त राख्ने र विद्यामलयमै अतिरिक्त क्रियाकलापहरु समेत गराएर पढाइप्रति आकर्षण बढाउने पालिकाको योजना रहेको उहाँले बताउनुभयो ।

यस विद्यालयबाट आउने नतिजाअनुसार अन्य विद्यालयहरुमा पनि कार्यान्वयन गर्ने उहाँको भनाइ थियो । गढवा गाउँपालिकाका विद्यालयहरुमा गत वर्षको कक्षा ८ को रिजल्टमाथि गम्भिर समीक्षा गर्दै शिक्षाविद् कमल सिलवाललाई जिम्मेवारी दिई शैक्षिक गुणस्तरका थुपै्र योजनाहरु बनाएर कार्यान्वयन तर्फ लागेको अध्यक्ष पोख्रेलले बताउनुभयो । गाउँपालिकाले हाम्रो गढवा नामक नयाँ र स्थानीय पाठ्यक्रम छपाई गरी सबै विद्यालयहरुमा पठन–पाठनमा ल्याइसकेको भन्दै विद्यार्थीहरुमा नैतिक र सामाजिक जागरणको समेत विकास गर्ने योजना कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

गढवा गाउँपालिका, वडा कार्यालय, शिक्षा क्षेत्रका विज्ञ ब्यक्तित्व र विद्यालयको पहलमा निजी स्रोतमा छजना शिक्षकहरु नियुक्त गरी अतिरिक्त कक्षा सञ्चालनमा ल्याइएको र यसप्रति विद्यार्थीहरुको लगाव र आकर्षण बढ्दै गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीले बताउनुभयो । विद्यार्थीहरुलाई बुधबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमै राखी नियमित रुपमा पठन–पाठन र अतिरिक्त क्रियाकलाप गराई शैक्षिक सुधारको अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुंगानाले बताउनुभयो । अतिरिक्त कक्षा सञ्चालनसँगै विद्यालयले शिक्षाविज्ञलाई ल्याएर बिहान–साँझ शिक्षकहरुलाई मोटिभेसन क्लास समेत सञ्चालन गरेको विद्यालयले जनाएको छ । ‘अतिरीक्त कक्षा शुरु भएपछि विद्यार्थी तथा शिक्षकहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म पठन–पाठनमा ब्यस्त भएका छन् । यसको आकर्षण बढेको छ । जाडो मौसम नभनेर सबैजसो विद्यार्थीहरु नियमित उपस्थित भएका छन्’– बिद्यालयका अध्यक्ष सुवेदीले भन्नुभयो ।

विद्यालयमा कार्यरत १० देखि ४ बजेसम्मका शिक्षकहरुका अतिरिक्त छजना निजी स्रोतका शिक्षकहरु नियुक्त गरी कक्षा शुरु गरिएको विद्यालयले जनाएको छ । सो विद्यालयमा चार जना स्थायी, चारजना राहत, दुई गाउँपालिकाका स्वयंसेवक, एक संघीय अनुदान, वालबिकास र आठ जना निजी स्रोतका गरी १९ जना शिक्षकहरु र चार सयको हाराहारीमा विद्यार्थीहरु रहेको विद्यालयले जनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा आयोजित अतिरिक्त कक्षा उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले मगर, शिक्षा प्रमुख श्याम बिक, वडा सदस्य तथा शिक्षा समितिका सदस्य दीनमणि आचार्य, बिब्यसका पूर्वअध्यक्ष उमाकान्त पन्त, शिक्षाविज्ञ कमल सिलवाललगायतले अतिरिक्त कक्षा सञ्चालन प्रभावकारी रहने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रअ ताराप्रसाद ढुंगानाले विषय प्रवेशसहित स्वागत मन्तब्य राख्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर