तुलसीपुर, ९ माघ । माध्यमिक विद्यालय अश्वाराले विभिन्न कार्यक्रम गरेर ६४ औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको समापन अवसरमा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई संस्कार र जीवन उपयोगी शिक्षामा जोड दिन पर्ने बताएका थिए ।
सोअवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिका –९ का वडा अध्यक्ष घनश्याम ढकाल, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओेपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका–८ का वडा सदस्य तुलप्रसाद खराल, नेकपा एमालेका टोपबहादुर वली, काँग्रेसका दशरथ वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण बहादुर शाह, अश्वारा खानेपानीका अध्यक्ष शिवहरी भण्डारी, ताराबहादुर बस्नेत, मुक्ति प्रसाद न्यौपाने, मुकुन्दप्रसाद काफ्ले, लगायतले बोल्नु भएको थियो ।
सोअवसरमा विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपाने वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयको वार्षिक उत्सवका अवसरमा भलिबल, कपर्दी, लङजम्प, हाइजम्प, जाप्लीङ थ्रो लगायतका विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको विभिन्न प्रतियोगितामा खेलाडीलाई पुरस्कृत गर्नुका साथै शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने कक्षा १ देखि १२ सम्म तथा वन विज्ञानतर्फका विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा पत्रकार ओपेन्द्र बस्नेतको परिवारले स्थापना गरेको एक लाख २ हजार राशीको स्वर्गीय वुद्धिमान तथा रामकुमारी बस्नेत अनाथ जेहनदार बालबालिका अक्षयकोषबाट दुईजना छात्रछात्रालाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, केशवकुमार लामिछाने र उहाँकी धर्मपत्नी विनिता लामिछानेले आफ्ना स्वर्गीय छोरा कृतेश लामिछानेको स्मृतिमा १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको शिक्षक खगेन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमकाे सहजीकरण शिक्षीका द्धाेय अनिमा वैद्य र स्मृति याेगीले गर्नु भएकाे थियाे ।