घोराही, ५ माघ । घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमाकुमारी डिसीले प्राविधिक शिक्षाको आवश्यकता र महत्व बढेर गएको बताउनुभएको छ । राप्ती इञ्जिनियरिङ कलेज घोराही १६ ले नयाँ विद्यार्थीलाई स्वागत गर्नका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै डिसीले यस्तो बताउनुभएको हो । कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उप प्रमुख डिसीले घोराही उपमहानगरपालिकामा प्राविधिक शिक्षाको विकासका लागि राप्ती इञ्जिनियरिङ कलेजले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
२०६५ सालमा स्थापना भएको कलेजले विभिन्न प्राविधिक विषयमा अध्ययन अध्यापन गराइरहेको छ । कार्यक्रममा बोल्दै उप प्रमुख डिसीले सन्ततीलाई राम्रो शिक्षा दिन सकियो भने त्यो नै सवैभन्दा ठूलो योगदान हुने भन्दै शिक्षाको सुधारका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा पछिल्लो समय प्राविधिक शिक्षाको माग बढ्दै गएको भन्दै नेपालमा प्राविधिक जनशक्तिको आवश्यकता अझै रहेको बताउनुभयो ।
उक्त अवसरमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख इञ्जिनियर युवराज पौडेलले घोराही उपमहानगरपालिकामा रहेको इञ्जिनियर जनशक्ति मध्य करिव ३० प्रतिशत राप्ती इञ्जिनियरिङको जनशक्ति रहेको बताउनुभयो । उहाँले पहिलेको तुलनामा प्राविधिक जनशक्तिको माग बढेको भन्दै अभिभावकले निश्चिन्त भएर प्राविधिक शिक्षामा आफ्ना सन्ततीलाई लगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले प्राविधिक शिक्षामा जाने भनेको पैसा कमाउनका लागि नभएर सेवाका लागि हो भन्ने भावना विद्यार्थीमा हुनुपर्ने बताउनुभयो । केही बर्ष अघिसम्म दाङ जिल्लामा थोरै मात्रै विषयहरु पढ्न पाइने भएपनि अहिले अनेकन विषय बढ्न पाउने सुविधा रहेको बताउनुभयो । राप्ती इञ्जिनियरिङ कलजेले दक्ष जनशक्ति उत्पादन गरिरहेको भन्दै राम्रो शिक्षा पाउनका लागि राजधानी धाउनै पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कलेजका प्रवन्धक मधुसूदन बैद्य, इञ्जिनियर बावुराम जोशी, विद्यार्थी रोहित कुमार पहाडी लगायतले बोल्नुभएको थियो । राप्ती इञ्जिनियरिङ कलेजमा पहिलो पटक पढाइ संचालन भएको बिई कम्प्युटरकम्प्युटर र बिई सिभिलका तेह्रौ व्याचका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।बिई सिभिलका तेस्रो बर्षका विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रस्तुती राखेका थिए । कार्यक्रमको संचालन विद्यार्थीहरु अमृता अधिकारी र अमृत रावतले गर्नुभएको थियो ।