पाकिस्तानद्वारा इरानमा प्रत्याक्रमण, कम्तीमा नौ जनाको मृत्यु

  माघ ०४, २०८०

  • फ्रान्सिस माओ र केरी डेभिस
  • सिङ्गापुर र पाकिस्तान

गत मङ्गलवार अबेर इरानले पाकिस्तानी भूमिमा गरेको आक्रमणको प्रतिक्रियास्वरूप पाकिस्तानले इरानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। पाकिस्तानको प्रत्याक्रमणमा इरानतर्फ कम्तीमा नौ जनाको ज्यान गएको विवरण आएको छ।

पाकिस्तानले क्षेप्यास्त्र प्रहार गरेर इरानको सिस्तान-बलोचिस्तान प्रान्तस्थित “आतङ्ककारीका शिविरहरू” ध्वस्त पारिएको दाबी गरेको छ।

इरानको सरकारी टेलिभिजनले चार बालबालिकासहित नौ जनाको मृत्यु भएको जनाएका छन्। मृतकमध्ये तीन महिला पनि छन्।

मध्यपूर्वमा एकपछि अर्को गरी विभिन्न स्थानमा द्वन्द्व उत्पन्न भइरहेकै बेला इरानमाथि पाकिस्तानले प्रत्याक्रमण गरेको हो।

इजरेलले गाजामा प्यालेस्टिनी समूह हमासँग लडिरहेको छ भने लेबननस्थित इरान समर्थित हिजबुल्लाहसँग पनि उसको द्वन्द्व जारी छ।

 

मध्यपूर्वको द्वन्द्वमा इरानको संलग्नता

इरानबाट समर्थन प्राप्त समूहहरूले इराक र सिरियामा अमेरिकी सेनालाई निसाना बनाइरहेका छन्।

यूके र अमेरिकाले यमनमा इरान समर्थित हूथी विद्रोहीहरूमाथि आक्रमण गरेका छन्।

हूथी लडाकुहरूले रेड सीमा कार्गो पानीजहाजहरूमा आक्रमण गरिरहेका छन्।

पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएका छन्।

ती समूहहरूले एउटा देशबाट अर्को देशतर्फ आक्रमण गर्ने गरेका छन्।

पाकिस्तानले के भन्यो?

बिहीवार पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो सेनाले इरानी भूमितिर आक्रमण गरेको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यमहरूले सराभान सहरमा ती आक्रमणहरू भएको जनाएका छन्।

पाकिस्तानले “ठूलो मात्रामा आतङ्ककारी गतिविधिहरू हुन सक्ने विश्वसनीय गोप्य सूचनाका आधारमा” कारबाही गरेको र त्यहाँ कैयौँ “आतङ्ककारीहरू” मारिएको बताएको छ।

उसले इरानको “सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता” लाई “पूर्ण रूपमा सम्मान” गर्ने तर बिहीवारको कारबाही “सबै खतराविरुद्ध आफ्नो राष्ट्रिय सुरक्षाको सुनिश्चितताका लागि पाकिस्तानको अटल सङ्कल्पको अभिव्यक्ति” भएको जनाएको छ।

पाकिस्तानले मङ्लवार इरानले गरेको आक्रमणको कडा ढङ्गले निन्दा गरेको थियो।

इरानले पाकिस्तानको बलोचिस्तान प्रान्तमा गरेको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको इस्लामाबादले बताएको थियो।

इरानले आफ्नो आक्रमण बलोच जातीय समूहको सुन्नी मुस्लिम सशस्त्र समूह जैश अल-अदलविरुद्ध मात्र भएको र पाकिस्तानी नागरिकविरुद्ध नभएकोमा तर्क गरेको थियो।

उक्त समूहले इरानभित्र आक्रमणहरू गर्ने गरेको थियो।

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,

इरानले पाकिस्तान, इराक र सिरियाका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ (फाइल तस्बिर)

सिरिया र इराकमा पनि इरानको हमला

यसै साता इरानले इराक र सिरियाभित्र पनि उस्तै किसिमका आक्रमणहरू गरेको थियो। उसले ती देशहरुमा इस्लामिक स्टेट र इजरेलको गुप्तचर निकाय मोसादलाई लक्षित आक्रमण गरिएको दाबी गरेको थियो।

ती दुवै यसै महिनाको सुरुमा इरानको केर्मन सहरमा भएको बम विस्फोटनमा संलग्न रहेको इरानको दाबी छ। उक्त विस्फोटनमा परेर ८४ जनाको ज्यान गएको थियो।

विश्लेषकहरूले पाकिस्तानी प्रतिक्रिया अस्वाभाविक नभएको र विद्रोहीहरूविरुद्धको विशेष आक्रमणको रूपमा प्रस्तुत गरिएको इरानी हमलासँग मेल खाएको बताएका छन्।

“पाकिस्तानको प्रतिशोधले द्वन्द्वको चर्किने जोखिम बढाउँछ तर यसले पछि हट्ने अवसर पनि प्रदान गर्छ। वास्तवमा दुई पक्ष अहिले समान स्थितिमा छन्,” विल्सन सेन्टरका दक्षिण एशिया निर्देशक माइकल कुगेलम्यानले भने।

“पुनः शक्ति सन्तुलन कायम गर्ने प्रयास गर्न पाकिस्तानसँग बलियो कारण थियो, विशेष गरी इरानसँगको कारबाहीका लागि। बृहत् क्षेत्रमा सीधा आक्रमण गरेर र छद्मयुद्धबाट खतरा र प्रतिद्वन्द्वीलाई प्रहार गर्न। वास्तवमा यदि पाकिस्तान चुप लागेको भए उसले थप आक्रमण भोग्नुपर्ने जोखिम थियो।”

दुवै राष्ट्रको निकट सहयोगी चीनले पाकिस्तान र इरानलाई संयमित हुन र तनाव बढ्ने गतिविधि नगर्न आह्वान गरेको छ।

विश्लेषकहरू मध्यपूर्वमा अहिले देखिएको अस्थिरताका कारण आक्रमण गर्न इरान प्रेरित हुन सक्ने ठान्छन्।

यद्यपि तेहरान आफू व्यापक द्वन्द्वमा संलग्न हुन नचाहेको बताउँछ। तर इरानबाट समर्थनप्राप्त समूहहरूले लामो समयदेखि प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन इजरेल र उसका सहयोगीमाथि हमला गर्दै आएका छन्। विविसी

 

तपाईंको प्रतिक्रिया

थप खबर