शिक्षा क्षेत्रको समग्र सुधारको लागि राष्ट्रव्यापी शैक्षिक अभियान

  माघ ०४, २०८०

४ माघ, काठमाण्डौ । शिक्षा क्षेत्रको समग्र सुधारको लागि राष्ट्रव्यापी शैक्षिक अभियान २०८०प्राज्ञिक विद्यार्थी परिषद् नेपालले संचालन गर्ने भएको छ ।
बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो ।

देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकोले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको महासचिव विष्णुप्रसाद पंगेनीले बताए ।
महासचिव पंगेनीले विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्ने, नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्नु पर्ने, कक्षा १२ सम्म संविधानमा निर्दिष्ट गरिएको निशुलल्क शिक्षालाई छिटो भन्दा छिटो लागू गर्नु पर्ने जस्ता मागहरू राख्दै शैक्षिक अभियान सञ्चालन गर्न लागेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले त्रिविको मुल्यांकन पद्धति ठिक नभएको र स्नातक तहसम्म नेपाली मिडियममा अध्ययन गरेका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र बुझन नसकेर फेल भएको विषय बताउदै छिटो भन्दा छिटो दुवै भाषामा प्रश्नपत्र तयार गर्न माग गरेका थिए ।

राष्ट्रिय सचिव जानकी आचार्यले अभियानको विज्ञाप्ति सार्वजनीक गर्दै अभियानमा माग गरिएका शैक्षिक मुद्दाहरुलाई आवश्यकताको आधारमा तुरुन्तै लागु गर्न माग गरेकी थिइन् ।

अभियानमार्फत् उठान गरिने मुद्दाहरू एवं आग्रहका विषयहरू

शिक्षामा वैदेशिक लगानीको अन्त्य गर्दै कुल बजेटको २० प्रतिशत बजेट विनियोजन तथा लगानी सुनिश्चित गरियोस्
संविधानले निर्दिष्ट गरेको माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गरियोस्
विश्वविद्यालयमा प्राध्यापक नियुक्तिका लागि अनिवार्य रूपमा योग्यता परीक्षा उत्तीर्ण (ल्भ्त्) गर्नुपर्ने नीतिलाई यथाशीघ्र कार्यान्वयन गरियोस् ।
नेपालमा अनुमतिविना र नियम विपरीत चलिरहेका विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूको अनुगमन तथा खारेजी प्रक्रियालाई तुरुन्त अगाडि बढाइयोस् ।
हरेक विश्वविद्यालयको एकीकृत शैक्षिक पात्रो निर्माण गर्दै विद्यालय र विश्वविद्यालयको पात्रोमा एकरूपता कायम गरियोस् । शैक्षिक पात्रोमा अतिरिक्त क्रियाकलाप अनिवार्य रूपमा समावेश गरियोस् ।
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्दै प्राज्ञिकता तथा बौद्धिकताका आधारमा कुलपति नियुक्त गर्ने नीति निर्माण गरी कार्यान्वयन गरियोस् ।
विश्वविद्यालयका पदाधिकारी एवम् कर्र्मचारीसँगै शिक्षाक्षेत्रको सबै स्तरमा हुने नियुक्तिमा दलीय राजनीतिको प्रभाव, हस्तक्षेप र भागबण्डाको अन्त्य गर्दै दक्ष, क्षमतावान् व्यक्तिलाई स्वच्छ प्रतिस्पर्धामार्फत् नियुक्ति गर्ने पद्धतिको विकास गरियोस् ।
विद्यार्थी भर्नादर, उत्तीर्ण र सिकाईको विश्लेषण गर्दै वर्तमान समयको हाम्रो पाठ्यक्रम, मूल्याङ्कन पद्धति र शिक्षण विधिलाई परिमार्जन गरियोस् ।
मौलिक कुराको सिकाईमा विशेष जोड दिँदै मातृभाषा वा नेपाली भाषामा माटो सुहाउँदो पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गराउने र सबै स्तरका परीक्षामा प्रश्नपत्र नेपाली भाषामा पनि सोध्ने पद्धतिको विकास यथाशीघ्र गरियोस् ।
सबै तहका पाठ्यक्रममा नेपाली भाषा, संस्कृति, भूगोल, इतिहास, जीवनपद्धति, मानवीय मूल्य, महापुरुषको जीवनी र नागरिक शिक्षा, अर्थतन्त्रका आधार कृषि, पर्यटन जस्ता विषयहरू अनिवार्य समावेश गरियोस् ।
राज्यले विद्यालयलाई दिने दरबन्दी तथा स्रोतको विभाजन भूगोल, विद्यार्थी संख्या र परिस्थितिका आधारमा सुनिश्चित गर्दै संख्या कम हुँदै गएका विद्यालय समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाइयोस् ।
शिक्षक सेवा आयोग, शिक्षकको दरबन्दी, नियुक्ति, सरुवा–बढुवा प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त गर्दै शिक्षकको सेवा सुविधामा वृद्धि गरियोस् ।
माध्यमिक तहदेखि नै सिक्दै कमाउँदै कार्यक्रमलाई अनिवार्य गर्दै त्यसको कार्यान्वयन यथाशीघ्र होस् ।
शिक्षाक्षेत्रबाट उत्पादित जनशक्तिले राष्ट्रियताको भावना बोक्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गराउन सकोस् जसका लागि देशको समग्र विषयको जानकारी विद्यार्थीवर्गलाई गराउनका लागि सोही अनुसारका पाठ्यक्रम तयार गरियोस् ।
विश्वजगत्मा संस्कृतप्रति बढिरहेको आकर्षण र प्रविधि अनुकुल बन्दै गइरहेको संस्कृतको महत्वलाई विशेष प्राथमिकतामा राख्दै प्रविधि र संस्कृतको संयोजन गर्दै पाठ्यक्रम निर्माण गरी अध्यापनको वातावरण निर्माण गरोस् ।

विद्यार्थी परिषद्ले पत्रकार सम्मेलन मार्फत शिक्षा क्षेत्रको समग्र सुधारका लागि गरिने यो राष्ट्रव्यापी शैक्षिक अभियान हरेक विद्यार्थीहरूका मुद्दा भएकाले देशभरका शिक्षाप्रेमी विद्यार्थी, शिक्षक, शिक्षाविद्, प्राध्यापक, अभिभावक, राजनीतिकदलहरु, पत्रकारलगाय सम्पूर्ण व्यक्तिहरूलाई यस अभियानमा जोडिएर सफल बनाउन समेत आग्रह गरेको छ ।

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर