फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड आज प्रदान गरिँदै

  माघ ०२, २०८०

काठमाडौं । फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड आज राती लन्डनमा प्रदान गरिँदै छ । पुरुषतर्फ विश्व कप विजेता लियोनल मेस्सी र महिलातर्फ आइटाना बोनमाटी यस पटकको अवार्डका प्रमुख दाबेदार हुन् ।

म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेसँगै मेस्सी उत्कृष्ट पुरुष खेलाडीको अन्तिम प्रतिस्पर्धामा छन् । बोनमाटीले महिला अवार्डका लागि आफ्नै देश स्पेनकी जेनिफर हर्मोसो र कोलम्बियाकी लिन्डा क्यासेडोसँग प्रतिस्पर्धा गर्नेछिन् । हर्मोसो र बोनमाटीले स्पेनका लागि महिला विश्वकप जितेका थिए ।

ट्रेबल विजेता पेप ग्वार्डियोलाले उत्कृष्ट पुरुष प्रशिक्षकका लागि इन्टर मिलानका सिमोन इन्जाघी र इटालीका मुख्य प्रशिक्षक लुसियानो स्पालेट्टीसँग प्रतिस्पर्धा गर्ने छन् । महिला टोलीको उत्कृष्ट प्रशिक्षकका लागि बार्सिलोनाका जोनाटन जिराल्डेजसहित सरिना विगमन र एम्मा हेज सटलिस्टमा छन् ।

उत्कृष्ट पुरुष गोलकिपरका लागि मोरक्कोका यासिन बोनोउ, म्यानचेस्टर सिटीका एडर्सन र रियल म्याड्रिडका टिबो कोट्वा कोर्टोइस मनोनयनमा परेका छन् । इङ्ल्यान्डकी नम्बर एक मेरी अर्प्स उत्कृष्ट महिला गोलकिपर अवार्डकी प्रबल दाबेदार हुन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर