अल्फा बोर्डिङको ३५ औं वार्षिकोत्सव सम्पन्न

  पुष २, २०८०

घोराही । अल्फा इङ्लिस बोर्डिङ स्कूल घोराही–१४ को ३५ औं वार्षिकोउत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद नेपालीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका शिक्षा विकास महाशाखा अधिकृत नारायण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिति पौडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन जीवनोपयोगी सीप सिकाउनुपर्ने बताउनुभयो । ‘धेरै विद्यालयमा पढाउने र घोकाउने प्रवृत्ति छ’– प्रमुख अतिथि पौडेलले भन्नुभयो– ‘अहिले विदेश जाने लहर पनि सीप नसिकाउने घोकाउने शिक्षाले गर्दा नै हो ।’ उहाँले युग अनुसारको व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेयले छोरा छोरीलाई दुव्र्यसनबाट जोगाउन आग्रह गर्नुभयो । ‘अहिले प्लस टु भन्दा तलका बच्चा दुव्र्यसनमा फसेका देखिन्छन्’– वडा प्रहरी प्रमुख पाण्डेयले भन्नुभयो– ‘अभिभावक लाख कमाउन मात्रै कुद्दा आफुसँग भएका छोरा छोरी बिग्रिन सक्छन् ।’ उहाँका अनुसार दुव्र्यसनको अवस्था भयावह छ । अभिभावक जतिसुकै राम्रा भए पनि बच्चा बिग्रिएपछि सफलता मिल्दैन । सूक्ष्म अध्ययन गर्नुपर्छ । स्कूल गयो र आयोमा मख्ख हुने होइन । शिक्षक पनि पढाएँ भन्दैमा हाइसुक्क पर्ने होइन ।

सो अवसरमा अनुशासनमा कक्षातह अनुसारका प्रथम काव्या वली, सुशान्त गुरुङ, शिष्टता धिताल, आदित्य पुन पुरस्कृत हुनुभएको थियो । यसैगरी सरसफाइमा रोनिन भण्डारी, कृपा वली, अपसन डाँगी र सिमरन चन्द ठकुरी पुरस्कृत हुनुभयो । सबैभन्दा धेरै दिन विद्यालय उपस्थित हुनेमा सौगात रामजाली, शुभम पोख्रेल, रेविका गुप्ता र सुप्रिया बुढा पुरस्कृत हुनुभएको छ । विद्यालय प्रथम रोसनी रोका, आतिथ्य पुनलगायत कक्षा प्रथमलाई पुरस्कार प्रदान गरिएको थियो । रनिङ शिल्डका विजेतालाई पनि सम्मान गरिएको थियो । शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले योगा, कल्चर शो, नृत्यलगायत विविध कला प्रस्तुत गरेका थिए । विद्यार्थीहरु विद्यालयले रचना गरेको स्वागत गीत गाएका थिए ।

अभिभावक लुमाकान्त कँवर मगर, विद्यार्थी रिदीमान रावत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुविन्द्र बुढा मगरले प्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । भाइस प्रिन्सिपल गुरुप्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा १० की छात्रा मनिषा बुढा मगरले गर्नुभएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर