दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी अधिकारीलाई

  पुष २४, २०८०

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेश गरेको राजीनामा स्वीकृत गरेको छ ।

खनालको नेतृत्वमा रहेको प्राधिकरणले गरेका टेरामक्स, एमडिएमस प्रविधिलगायतका विभिन्न खरिदमा भ्रष्टाचार भएको आशंकासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको बेला आज विहान खनालले राजीनामा दिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उनलाई २०७६ साउन ६ मा खनाललाई नियुक्ति गरेको थियो ।

सरकारले रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने र रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले राष्ट्रिय विकास परिषदमा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिहरु मध्येबाट २५ जना सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट सहिदहरुको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल सम्बन्धमा उठेका विषयहरुको सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने र हाललाई उद्योगीहरुको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर