शिक्षाको गुणस्तर सुधारका लागि डिजिटल कक्षादेखि दिवा बोडससम्म

  कार्तिक २६, २०८०

२६ कार्तिक,रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुममा विष्णु जनज्योति मावि छ । १२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा प्राविधिक धार अन्तर्गत कृषि विषयमा पठनपाठन हुने गरेको छ ।

अहिले यो विद्यालयले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षण सिकाइका नयाँ विधि अवलम्बन गरिरहेको छ । शिक्षाको गुणस्तर सुधारका लागि यो विद्यालयले डिजिटल कक्षादेखि दिवा बोर्डससम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ । पुरानै प्रक्रियाले पठनपाठन गरेर सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार हुन नसक्ने निष्कर्षसहित नयाँ विधि प्रक्रिया अवलम्बन गरिएको विद्यालयका शिक्षक दीपक राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई तीन समूहमा विभाजन गरी दिवा बोर्डर सञ्चालन गरिएको छ । “कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय समयबाहेक बिहान एक घण्टा र चार बजेपछि थप एक घण्टा विद्यालयमा नै राखेर पढाउने गरिएको छ । कक्षा ५ देखि ७ सम्मका विद्यार्थीलाई थप तीन घण्टा र कक्षा ८ देखि माथिका विद्यार्थीलाई दैनिक थप पाँच घण्टा कक्षा सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो ।

विद्यालय समयमा मात्रै पढाएर शिक्षाको गुणस्तर सुधार गर्न सकिँदैन भन्ने निष्कर्षका साथ बिहान ६ देखि साँझ ६ बजेसम्म विद्यार्थीलाई विद्यालयमा नै राखेर पढाउन लागिएको उहाँको भनाइ छ । सो विद्यालयले विद्यार्थीलाई बुझ्न सजिलो होस् भनी डिजिटल माध्यमबाट समेत पढाउने गरेको छ । हरेक कक्षाकोठामा एलइडी मनिटर राखेर डिजिटल कक्षा सञ्चालन हुने गरेको छ ।

खाँडादेवी गाउँपालिकाले पनि चालु आर्थिक वर्षलाई शिक्षाको वर्ष घोषणा गरेको छ । सामुदायिक विद्यालयको पठनपाठन सुधार गरी शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक प्रबन्ध मिलाउन गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि विशेष बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले दिवा कक्षाका लागि खाजाको व्यवस्थाका साथै माथिल्लो योग्यता भएका शिक्षकको लागि थप भत्ता, प्रधानाध्यापकलाई विद्यालयमा नै आवास सुविधासहितको भत्तालगायतको व्यवस्था गरेको खाँडादेवी गाउँपालिकाका शिक्षा अधिकृत मीनबहादुर थापाले बताउनुभयो । “गाउँपालिकाले चालु आवलाई शिक्षाको वर्ष घोषणा गरी आवश्यक बजेट तथा कार्यक्रम बनाएको छ । सोही अनुसार शिक्षकको क्षमता विकासका लागि विभिन्न तालिमका कार्यक्रम अन्तर्क्रिरया र छलफलसमेत निरन्तर सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो ।

शिक्षाको विकास नगरी समग्र विकासको सम्भव नभएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा गुणस्तरीय शिक्षा नभएकै कारण अभिभावक आफ्ना बच्चालाई पढाउन सहर पसेका छन् । यही कारण गाउँमा खेतीपाती नहुँदा खेतबारी बाँझो छ । त्यसैले शिक्षाको गुणस्तर सुधारका लागि यस वर्षलाई हामीले शिक्षाको विशेष वर्ष घोषणा गरेका छौँ ।”गोरखापत्रमा समाचार छ ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर