फिफा विश्वकप छनोट : नेपालले घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्ने

  कार्तिक २१, २०८०

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र यमनबीचको खेल घरेलु मैदानमा मंसिर ५ गते हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी र आयोजनाबारे जानकारी दिएको हो ।

दशरथ रंगशालामा नेपालले छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो । यमनमा गर्मी हुने र काठमाडौंमा राति ७ बजे चिसो बढ्ने भएकाले घरेलु मैदानको फाइदा उठाउने नेपालको योजना छ ।

एन्फाले यो खेलका लागि भीआईपीतर्फ टिकट मूल्य एक हजार रुपैयाँ तोकेको छ । साधारणतर्फ भने चार सय तोकिएको छ । अहिले राष्ट्रिय टिममा २६ खेलाडी छन् । उनीहरुलाई मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले प्रशिक्षण गराइरहेका छन् ।

फिफाको विश्व वरीयतामा नेपाल १७३औं स्थानमा छ । यमन १५६औं स्थानमा छ । विश्वकप छनोटका लागि च्यासल मैदानलाई अभ्यास मैदानको रुपमा राखिएको छ । खेल आयोजना हुने दशरथ रंगशालाको मैदान मर्मत भइरहेको छ ।

प्रतियोगिता आयोजनाका लागि ७३ लाख लाग्ने एन्फाले अनुमान गरेको छ । नेपालले घरेलु मैदानमा यमनसँग खेल्नुअघि यही कात्तिक ३० गते यूएईसँग खेल्नेछ । यो खेल भने यूएईमै हुनेछ । नेपाली टिम यही कात्तिक २६ गते यूएई प्रस्थान गर्ने तालिका छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर