विद्यार्थीको असहमतिकैबीच त्रिविले बढायो इन्जिनियरिङ अध्ययन शुल्क

  कार्तिक २१, २०८०

काठमाडौं । आर्थिक संकट बेहोरिरहेको त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीको असहमतिका बीच स्नातक तहको शुल्क वृद्धि गरेको छ । स्नातक तहको ४ वर्षे शैक्षिक कार्यक्रमको शुल्क ३ लाख १८ हजार रुपैयाँबाट १ लाख ७२ हजारले वृद्धि गरी ४ लाख ९० हजार रुपैयाँ पुर्‍याइएको हो । यसअघि शुल्क वृद्धिका कारण प्रभावित भएको प्रवेश परीक्षा पनि डेढ महिनापछि लिइएको छ ।

२०५५ सालमा तोकिएको स्नातक तह ४ वर्षे शैक्षिक कार्यक्रमको ३ लाख १८ हजार रुपैयाँ शुल्कले क्याम्पसहरू चल्नै नसक्ने अवस्था भएपछि इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौमा शुल्क वृद्धि गरी आङ्गिक क्याम्पसका लागि ७ लाख ७५ हजार पुर्‍यायो ।

विद्यार्थीको विरोधका कारण प्रवेश परीक्षा पनि अवरुद्ध भयो । अहिले आन्दोलन नभए पनि विद्यार्थीको असहमति जारी रहेकै बेला शुल्क ४ लाख ९० हजार बनाइएको छ । सम्बन्धनप्राप्त क्याम्पसका लागि लाख र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५ सय तोकिएको छ । शुल्क वृद्धि पछि रोकिएको प्रवेश परीक्षा पनि डेढ  महिनापछि लिइएको छ ।

यसपटक इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने देशभरका १० हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६ सयले बढी हो । कम्प्युटर विधिमार्फत लिइएको परीक्षामा उत्तीर्ण हुन १ सय वटा प्रश्नमा कम्तीमा ४० वटा मिलाउनु पर्ने हुन्छ । गुणस्तरीय शिक्षाका कारण त्रिविको इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।

प्रवेश परीक्षाको ढिलाइले स्नातक तहको पढाई पनि दुई महिना पछि धकेलिने भएको छ । मंसिरबाट पढाई सुरु गर्ने योजना बनाएको संस्थानले शैक्षिक क्यालेन्डरमा प्रभाव नपर्ने गरी माघदेखि पठनपाठन सुरु गर्ने भएको छ ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत ५ वटा आङ्गिक र १० वटा सम्बन्धनप्राप्त क्याम्पसका स्नातक तहमा १२ विषयको अध्ययन अध्यापन हुन्छ । सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिल, आर्किटेक्चरलगायतका विषयमा ४ हजार ३ सय ४८ सिट छन् ।कान्तिपुर टीभी

 

तपाईंको प्रतिक्रिया

थप खबर