महानवमी नवौँ दिन विधिपूर्वक नवदुर्गा भगवतीको पूजा पूजाआजा

  कार्तिक ०६, २०८०

६ कार्तिक, राप्ती उपत्यका (देउखरी) । दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ । घटस्थापना देखि सुरु हुने आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ । ‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ ।आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा र दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर