काठमाडौँ / असोज – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले एमफिल र पिएचडीमा भर्नाका लागि आवेदन माग गरेको छ । सन् २०२४ को फेब्रुअरी ब्याचको लागि अनलाइन र फेसटुफेसमा एमफिल र पिएचडीका लागि आवेदन माग गरेको हो । एमफिल इन डेभलपमेन्ट स्टडीज, एमफिल इन एजुकेशनल लिडरशीप र एमफिल इन स्टीम एजुकेशनमा आवेदन दिनका लागि कुनै पनि विधाको मास्टर्समा न्यूनतम ५०% प्राप्ताङ्क वा सिजिपिए ४ मध्ये ३.० अनिवार्य ल्याएको हुनपर्ने प्रावधान रहेको छ ।
एमफिल इन ईङ्गलिस ल्याङ्ग्वेजको हकमा भने मास्टर्स विषय अङ्ग्रेजी साहित्य, अङ्ग्रेजी भाषा, ईङ्गलिस ल्याङ्ग्वेज टिचिङ्ग वा ईङ्गलिस ल्याङ्ग्वेज एजुकेशनमा न्यूनतम ५०% प्राप्ताङ्क वा सिजिपिए ४ मध्ये ३.० अनिवार्य हुनुपर्ने छ ।
त्यस्तै पिएचडी आवेदनको हकमा कम्तीमा १७ वर्षको औपचारिक शिक्षा पुरा गरेको, पछिल्लो सम्बन्धित विषयमा न्यूनतम ५०% प्राप्ताङ्क वा सिजिपिए ४ मध्ये ३.० अनिवार्य ल्याएको हुनुपर्नेछ । यसका लागि आवेदकहरूले आवेदनको साथमा अनुसन्धान प्रस्तावना पनि पेस गर्नुपर्नेछ भने एमफिल डिग्री भएको र अनुसन्धानात्मक लेखहरू प्रकाशन भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ ।
दुबै कार्यक्रमहरूमा अनलाइन आवेदन दिने अन्तिम आगामी मंसीर २५ गते रहेको छ भने लिखित परीक्षा पुस १ गते दिउँसो १२ः३० बजे र अन्तर्वार्ता २०८० पुस २ गते दिउँसो १२ बजेबाट सञ्चालन गर्ने जनाएको छ । त्यसैगरी भर्नाका लागि आगामी माघ १ गते भित्र गर्नुपर्ने छ ।
नयाँ विद्यार्थीहरूका लागि संवर्धन (इन्रिचमेन्ट) कार्यक्रम माघ ७ गते देखि २०८० माघ २१ गतेसम्म र अभिमुखीकरण (ओरियन्टेशन) कार्यक्रम माघ २३ गते तोकिएको छ । साथै कक्षा सञ्चालन माघ २४ गते साँझ ५ः३० बजेदेखि ८ः३० बजेसम्म हुनेछ । उल्लेखित सम्पूर्ण कार्यक्रमहरू अनलाइन मार्फत हुनेछ भने विस्तृत जानकारी https://soed.ku.edu.np/admission-mphil-phd बाट पाउन सकिनेछ । खबर एजुकेशन