घोराहीमा शिक्षकलाई पठन सीप तालिम

  असोज २२, २०८०

दाङ । नेशनल प्याव्सन घोराही उपमहानगरपालिका कमिटीको आयोजनामा एन प्याब्सन आबद्घ घोराही उपमहानगरपालिका–६ का विद्यालयका शिक्षकहरुका लागि एकदिने स्थानीय पाठ्यक्रममा आधारित शिक्षण, निरन्तर मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन तथा प्रश्न निर्माण सीप सम्बन्धी तालिम घोराहीमा सम्पन्न भएको छ ।

तालिम उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत नारायणप्रसाद पौडेलले अबको शिक्षण पढाइमा नभई सिकाइमा आधारित हुनुपर्ने भएकाले स्थानीय पाठ्यक्रमले सिकाइमा आधारित पढाइलाई जोड दिएको बताउनुभयो ।

आयोजक एन प्याब्सनले शिक्षण सिकाइमा प्रभावकारिता ल्याई विद्यार्थीको शैैक्षिक उपलव्धि बढाउने उद्देश्यले स्थानीय पाठ्यक्रममा आधारित शिक्षण सिकाइ, विद्यार्थीको निरन्तर मूल्याङ्कन, प्रयोगात्मक मूल्याङ्कन, प्रश्न निर्माण तरिका तथा स्थानीय विषयको पाठ्यक्रम अध्यापन तरिकाका बारेमा शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको जनाएको छ । तालिमका प्रशिक्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजाल र पूर्वश्रोतव्यक्ति मुकुन्दराज रिजाल हुनुहुन्थ्यो । तालिम उद्घाटन तथा समापन अवसरमा नेसनल प्याब्सन घोराही कमिटी अध्यक्ष रबिन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगर शिक्षक महासंघका अध्यक्ष निशान्त आचार्य, एन प्याब्सनका जिल्ला अध्यक्ष भोजराज न्यौपाने, प्रदेश सहकोषाध्यक्ष नरेश आचार्य, जिल्ला सदस्य कुमार नेपाली, अम्बिकेश्वरी शिक्षा सदनका प्रिन्सिपल अमृत घर्ती, इभरग्रीन बोर्डिङका प्रिन्सिपल पोषण पोख्रेल, परोपकार पाठशालाका सहायक प्रिन्सिपल रिजनहरि सुवेदी, विद्याकुञ्जका सहायक प्रिन्सिपल भुपेन्द्र चौधरी, सुनिता घिमिरे, घनश्याम बस्नेत, बहुआयामिक तथा परोपकार पाठशालाका शिक्षक प्रतिनिधिलगायतका वक्ताहरुले तालिम अहिलेको सन्दर्भमा ज्यादै उपयोगी भएको भन्दै आगामी दिनमा तालिममा सिकेका कुरालाई कक्षा शिक्षणमा उपयोग गर्ने प्रतिबद्घता जनाउनु भएको थियो ।

तालिमको अवसरमा विद्यालयमा हाल भइरहेको शिक्षण सिकाइको समीक्षा गर्दै स्थानीय पाठ्यक्रम अध्यापन सीप विद्यार्थी केन्द्रित सिकाइ विधिलाई कसरी बढावा दिने, सिकारुलाई अझ जिज्ञासु कसरी बनाउने, आधारभूत तहमा लागु भइरहेको एकीकृत पाठ्यक्रम तथा स्थानीय विषयको पाठ्यक्रमका साथै कक्षा १–३ को १ सय पूर्णाङ्कको निरन्तर मूल्याङ्कन प्रक्रिया, ४–८ को ५० पूर्णाङ्कको प्रयोगात्मक तथा कक्षा ९–१२ को २५ पुर्णाङ्कको प्रयोगात्मक परीक्षाको मुल्याङ्कन विधि, प्रश्न निर्माण तरिका तथा स्थानीय विषय हाम्रो घोराहीको अध्यापन सीपका बारेमा प्रयोगात्मक सिकाइ आदानप्रदान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर