इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन ःआयोग

  भदौ ०१, २०८०

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ । आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो ।
आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताउनुभयो । “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उहाँले भन्नुभयो,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ ।”
बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको छ । उहाँले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्कुल पुगेर साउन ७ गते इन्जिनियरको लिखत परीक्षा दिएको दाबी गर्नुभएको छ । साथै, परीक्षामा करिब एक हजार परीक्षार्थी सहभागी भएको समेत उहाँले जिकिर गर्नुभएको छ ।
तर, जेके सेकेण्डरी स्कुलका प्रिन्सिपल दीपक ओझाले साउन ७ गते आफ्नो विद्यालयमा कुनै पनि परीक्षा सञ्चालन नभएको बताउनुभयो । “लोकसेवा आयोगको परीक्षा सञ्चालनका लागि अत्तरियाका विद्यालय परीक्षा सेन्टर हुँदै होइन”, उहाँले भन्नुभयो,“सेन्टरै होइन भने आयोगको परीक्षा हाम्रो यहाँ कसरी सञ्चालन हुन्छ रु”
ओझाले भ्रामक समाचारसँग आफ्नो विद्यालयको नाम जोडेर आएकोप्रत्ति आपत्ति जनाउनुभयो । “हाम्रो यहाँ लोकसेवाको नाममा कुनै परीक्षा सञ्चालन नभएको कुरा सीसी टिभी फुटेजबाट पनि पुष्टि गर्न सकिन्छ”, उहाँले भन्नुभयो,“हाम्रो विद्यालयलाई जोडेर गलत समाचार प्रकाशित भएकोमा हामी अदालत जान्छौँ ।”
आयोगले पनि अत्तरियाका विद्यालयहरू लोकसेवा आयोगको परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम नरहेको जनाएको छ ।
समाचार अनुसार सुरेन्द्र डाँगी नामका व्यक्तिले लोकसेवा आयोगको परीक्षाको नाममा मनिष शर्मालाई ठगी गरेको देखिन्छ । कर्णाली प्रदेशको विज्ञापनमा सफल भएका उम्मेदवारको नामको ठाउँमा शर्माको नाम राखेर झुकाइएको पाइएको प्रवक्ता चौधरीले बताउनुभयो । “सफल उम्मेदवार अमृत चौधरीले हाम्रो कार्यालयमा फोन गरेर आफू जागिर गरिरहेको र आफ्नो नामको ठाउँमा एडिट गरेर मनिष शर्माको नाम राखिएको जानकारी गराउनुभएको छ”, उहाँले भन्नुभयो,“विज्ञानमा नाम रहेको अरू व्यक्ति पनि जागिर गरिरहेका छन् ।”
समाचार प्रकाशनपछि सम्बन्धित सबैसँग आयोगले कुरो बुझेको प्रवक्ता चौधरीले बताउनुभयो । आयोगले समाचार लेख्ने बाँकेस्थित गोरखापत्रका समाचारदाता, पीडित भनिएका शर्मा र परीक्षा सञ्चालन भएको भनिएका विद्यालयसँग कुरा बुझ्ने कार्य गरेको छ । “हाम्रो कार्यालयले बुझ्दा पीडित भनिएका शर्माको कतिखेर के, कतिखेर के जवाफ आयो”, प्रवक्ता चौधरीले भन्नुभयो ।एजुकेशन पत्र

तपाईंको प्रतिक्रिया

थप खबर