सरोकारवाला भन्छन : शिक्षा ऐन नल्याउने गरी षड्यन्त्र सुरू भयो, आयोगको प्रतिवेदन आवश्यक

  श्रावण ३०, २०८०

काठमाडौं/३० साउन-नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष तथा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य बाबुराम थापाले शिक्षा ऐन नै नल्याउने गरी षड्यन्त्र सुरू भएको दाबी गरेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरोकारवालालाई भेला गरेर आयोजना गरेको संघीय शिक्षा ऐनमा खबरदारी कार्यक्रममा बोल्दै शिक्षा ऐन नै नल्याउने गरी षड्यन्त्र सुरू भएको दाबी गरेका हुन् ।
उनले आफुहरूले २०७५ सालमा तयार पारेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्नका लागि उपाय सुल्झाएको तर सरकारले सार्वजनिक समेत नगराएको बताए ।
उनले भने ‘निकै लामो मिहेनत र छलफल गरेर प्रतिवेदन तयार पारेका थियौं । त्यो प्रतिवेदन कार्यान्वयनमा आएको खण्डमा शिक्षा क्षेत्रमा रहेका विद्यमान समस्या समाधान हुने भने सुझाव समेत दिएका थियौं । तर, सरकारले प्रतिवेदन लागू गर्नु त कताको कुरा सार्वजनिक समेत गरेन’ ।


उक्त प्रतिवेदनले शिक्षकहरूको बारेमा दुईवटा कुरा गरेको बताए । एउटा टिचिङ एकेडेमी र अर्को भनेको टिचिङ काउन्सिल । यी दुई विषयको सम्बोधन गरिएको खण्डमा शिक्षकका धेरै समस्या त्यहीबाट हल हुने उनको भनाई थियो ।


त्यसैगरी उक्त कार्यक्रममा बोल्दै आयोगकै अर्का सदस्य लक्ष्मण शर्माले ५ सय पेजको विशाल प्रतिवेदनमा धेरै कुरा समेटिएको बताए । प्रतिवेदनमा निःशुल्क शिक्षा भनिएको कसरी सम्भव हुन्छ भन्ने प्रश्नको जवाफ रहेको बताए । त्यस्तै प्रदेशको रोल के हुने ? लगानीको समन्यायिक वितरण कसरी गर्ने जस्ता विषयमा समेत सुझाव दिएको उनको भनाई छ । विद्यालय शिक्षा ऐनको विधेयकमा स्वार्थ समूहको इन्ट्रेष्ट प्रष्ट देखिएको बताए । जिल्ला शिक्षा कार्यालय ब्यूताउने, शिक्षा विभाग ब्यूताउने जस्ता विषय राखिएको र त्यसमा कर्मचारीको स्वार्थ रहेको उनको भनाई छ ।


‘यसमा नीजि क्षेत्रका साथीहरूको छुट्टै इन्ट्रेष्ट देखियो । शिक्षक महासंघको छुट्टै खालको स्वार्थ देखियो । कर्मचारीको स्वार्थ त हुने नै भयो । यस्तै खालका इन्ट्रेष्टले गर्दा ऐनमा समस्या देखियो ।’ उनले भने । अहिलेको सरकारले ऐन ल्याउने ल्याकत नदेखिएको भन्दै त्यसका लागि सरोकारावाला निकायहरूले दबाब तथा आन्दोलन गर्नुपर्ने उनको धारणा थियो । खबरएजुकेशन

 

तपाईंको प्रतिक्रिया

थप खबर