फिफा महिला विश्वकप : इंग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा 

  श्रावण २८, २०८०

सेमिफाइनल खेल
स्पेनविरुद्ध स्विडेन : मंगलबार दिउँसो ०१:४५ बजे 
अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड : बुधबार दिउँसो ०३:४५ बजे

आयोजक अस्ट्रेलिया र युरो च्याम्पियन इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा पराजित गरेको हो । इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले हरायो । योे नतिजासँगै न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । नवौँ संस्करणले नयाँ च्याम्पियन पाउने पक्का भइसकेको छ । साबिक चारपटकको विजेता अमेरिका, दुईपटकको च्याम्पियन जर्मनी र समान एकपटकको विजेता जापान र नर्वे प्रतियोगिताको अन्तिम आठबाट माथि बढ्न सकेनन् । 

शुक्रबार स्विडेन र स्पेन अन्तिम चारमा प्रवेश गरेका थिए । विश्वकपको सेमिफाइनलमा युरोपबाट तीन टोलीले स्थान बनाउँदा एसियाबाट अस्ट्रेलिया एक्लो टोली बन्यो । अब, फाइनल प्रवेशका लागि मंगलबार स्पेन र स्विडेनबीच न्युजिल्यान्डको अकल्यान्डमा प्रतिस्पर्धा हुनेछ । यता, सिड्नीमा बुधबार घरेलु टोली अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने तालिका छ । 

अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलमा 
४९ हजार चार सय ६१ घरेलु समर्थकमाझ फ्रान्सलाई सडनडेथमा हराउँदै अस्ट्रेलियाले पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ । निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय सडनडेथमा भएको थियो । जहाँ अस्ट्रेलिया ऐतिहासिक जित निकाल्न सफल भयो । कोर्टनी भिनीले सडनडेथमा गोल गर्दै अस्ट्रेलियालाई पहिलोपटक अन्तिम चारमा पुर्‍याएकी हुन् । अस्ट्रेलियन प्रशिक्षक टोनी गुस्टाभसनले अविश्वसनीय जितका लागि खेलाडी र समर्थकलाई बधाई दिएका छन् । ‘हामीलाई साथ दिन यहाँ आउने सबैलाई धन्यवाद ! यो अविश्वसनीय जितबाट निकै गौरवान्वित छु,’ टोनीले भने । सन् १९९५ को दोस्रो संस्करणबाट विश्वकप खेल्न थालेको अस्ट्रेलिया पहिलोपटक अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि सन् २००७, २०११ र सन् २०१५ मा अस्ट्रेलियाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । 

फ्रान्सको तीन पेनाल्टी प्रहार बचाएकी गोलकिपर म्याकेन्जिया अर्नाेल्डले जितपछि बोल्ने र प्रशंसा गर्ने कुनै शब्द नै भएको बताइन् । प्लेयर अफ दी म्याच म्याकेन्जियाले निकै मिहिनेतले यो सफलता प्राप्त गरेको बताइन् । ‘यसअघि यो जित कहिल्यै महसुस गर्न पाइएन । निकै गर्व लाग्छ । हामीले धेरै मिहिनेतपछि यो जित प्राप्त गरेका छौँ,’ म्याकेन्जियाले भनिन् । फ्रान्सका प्रशिक्षक हार्भे रेनार्डले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहने स्थान रहेको बताए । ‘खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुनुपर्ने धेरै स्थान छन् । सबैको मिहिनेतले यो सफलता पाएका छौँ । अबको ध्यान ओलम्पिकमा हुनुपर्छ,’ प्रशिक्षक हार्भेले भनेका छन् ।

गोलकिपर म्याकेन्जिया ‘प्लेयर अफ दी म्याच’ 
ब्रिसबन मैदानमा सिड्नी एफसीबाट खेलिरहेकी कोर्टनीसँगै पेनाल्टीमा एली कारपेन्टर, तामेका यालोप, कट्रिना गोरी, मेरी फाउलर, कप्तान साम केर र क्याटलिन फर्डले गोल गरेका थिए । स्पेफनी क्याटली र क्लेयर हन्टको प्रहार गोलकिपर म्याकेन्जियाले रोक्दा म्याकेन्जी आर्नाेल्डको प्रहार बाहिरियो । फ्रान्सकी मेली लाक्रर, सकिना कचाओई, ग्रेस गेयोरो, युजेनी लि समर, वेन्डिई रेनार्ड र कडिडियातोउ डियानीले गोल गरेका थिए । केन्जा डाली, इभ पेरिससेट र सेल्मा बाचाको प्रहार गोलकिपरले रोक्दा विकी बेकोको प्रहार बाहिरिएको हो । यसअघि अस्ट्रेलियाले डेनमार्कलाई २–० तथा फ्रान्सले मोरक्कोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

इंग्ल्यान्डको संघर्षपूर्ण जित
कोलम्बियामाथि २–१ को रोमाञ्चक जित निकाल्दै इंग्ल्यान्ड लगातार तेस्रोपटक सेमिफाइनल प्रवेश गरेको छ । इंग्ल्यान्डले सन् २०१९ को संस्करणमा चौथो र २०१५ मा तेस्रो स्थान हासिल गरेको हो । इंग्ल्यान्डले सन् २०२२ मा जर्मनीलाई २–१ ले हराउँदै युइएफए युरो उपाधि जितेको थियो । 

जितपछि इंग्ल्यान्डकी प्रशिक्षक सरिना विंघमले खेल प्रतिस्पर्धात्मक भएको बताइन् । ‘खेल निकै कठिन र प्रतिस्पर्धात्मक भयो । तर, हामीले सजिलो जित हुने सोचेका थिएनौँ,’ सरिनाले भनिन् । ‘पहिलो हाफ हामीले राम्रो खेलका थियौँ । तर, गोल बेहोर्दा दबाबमा आयौँ,’ उनले थपिन्, ‘कोलम्बियाले काउन्टर अट्याकमा धेरै दबाब दियो । यद्यपि, खेल हामीले जितेका छौँ ।’ सरिनाले अस्ट्रेलियाविरुद्धको खेल निकै गाह्रो हुने र त्यसको तयारीमा लाग्ने बताइन् । 

सिड्नीको एलियन्ज रंगशालामा इंग्ल्यान्डले पुनरागमन जित निकालेको हो । इंग्ल्यान्डको जितमा लोरेन हेम्प र एलेसिया रुसोले समान एक गोल गरेका थिए । कोलम्बियाकी लेसी सान्तोसले ४४औँ मिनेटमा अग्रता लिइन् । कोलम्बियाको यो अग्रता लामो समय टिकेन । ६ मिनेटको इन्जुरी समयमा हेम्पले गोल गरेपछि इंग्ल्यान्ड बराबरीमा फर्कियो । दोस्रो हाफमा इंग्ल्यान्डले अग्रता बनायो । ६३औँ मिनेटमा रुसोले गरेको गोल नै निर्णायक बन्दा इंग्ल्यान्डले अन्तिम चार पक्का गरेको हो । यसअघि इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम आठ यात्रा तय गरेको थियो । 

तपाईंको प्रतिक्रिया

थप खबर