शिक्षकहरुसँग छलफल नगरी शिक्षा ऐन ल्याए आन्दोलन गर्ने चेतावनी

  श्रावण १०, २०८०

काठमाडौंँ/९ साउन-नेपाल शिक्षक महासंघले संघीय शिक्षा ऐन मार्फत शिक्षक र विद्यालय कर्मचारीहरुका माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।


महासंघले विद्यालय शिक्षाको व्यवस्थापन र नयाँ संघीय शिक्षा ऐन विषयबारे मंगलबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरूसँग गरेको छलफलमा अब बन्ने नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधन गर्न माग गरेको हो ।


महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षकहरु राज्यको प्राथमिकतामा नपारेको जहिले पनि हेपिएको बताउँदै अब पनि त्यस्तै व्यावहार भए शिक्षकहरु आन्दोलनमा उत्रिने बताइन । उनले शिक्षा ऐनको ड्राफ्ट बजारमा आएको तर शिक्षकहरुसँग अहिलेसम्म छलफल नगरिएको बताउँदै छलफल र आन्दोलन सँगसँगै अगाडि बढ्ने गरी तयारी थालिएको जानकारी दिइन ।


सरकारले कर्मचारी र शिक्षकबीच विभेद गर्दै आएकोले विद्यालयका शिक्षक र कर्मचारी सबै एक भएर आन्दोलनमा जानुपर्ने बाध्यकारी अवस्था सरकारले नै सिर्जना गरेको तुलाधरको भनाइ थियो । नयाँ ऐनमा शिक्षकका समस्या सम्बोधनका लागि पहलकदमी लिन सांसदहरूलाई आग्रह गर्दै नेपाल शिक्षक महासंघका माग सम्बोधन नगरी र छलफल नगरी ऐन आए कसैले रोक्न नसक्नेगरी आन्दोलमा जाने चेतावनी दिइन । साथै आन्दोलनको तयारीमा रहन सबै शिक्ष तथा विद्यालय कर्मचारीहरुलाई आग्रह गरीन ।

तपाईंको प्रतिक्रिया

थप खबर