बालेनले गरिवको पेटमा लात हानेपछि बस्नेतद्वारा आर्थिक सहयोग, दुःखमा साथ दिन पुग्यो कांग्रेसI

  असार २२, २०७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को आदेशमा सडक पेटीमा पोलेको मकै बेचेर गुजारा गर्दै आएका एक दम्पत्तिलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले आइतबार चन्द्रनाथ आचार्य दम्पत्तिलाई रु. ५१ हजार आर्थिक सहयोग गरेका हुन् ।

नेता बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकमा पर्छ । काठमाडौंका मेयर साहले आचार्य दम्पत्तिको मकै र ठेला खोसेर लगेपछि बिचल्ली भएको छ ।

आचार्य दम्पत्तिले आफ्नो परिवारको जीविकोपार्जन गर्दै २ जना बच्चाको पठनपाठन गर्दै आएका थिए ।

मेयर साहको आदेशमा आचार्य दम्पत्तिको महानगरपालिकाका सुरक्षाकर्मीले ठेलागाढा जफत गरिदिएको छ ।

पीडितहरूको जीविकोपार्जन र बच्चाहरूको पठनपाठनमा समस्या भएको कुरा पीडितहरूले व्यक्त गरेको समाचार थाहा पाएपछि कांग्रेस नेता बस्नेतले आचार्य दम्पत्तिलाई आर्थिक सहयोग गरेका हुन् ।

सिन्धुपाल्चोक कांग्रेसका नेता एवम् महासमिति सदस्य श्रवणकुमार जिसी ‘विनोद’ र सिन्धुपाल्चोक कांग्रेसको जिल्ला कार्यसमिति सदस्य कृष्णकुमार तामाङ ‘समिर’को व्यक्तिगत सहयोगमा आचार्य दम्पत्तिलाई नेता बस्नेतले एकाउन्न हजार रुपियाँ हस्तान्तरण गरेका छन् ।

नेता बस्नेतले आगामी दिनहरूमा पनि जीविकोपार्जन र बच्चाहरूको पठनपाठनमा अझ समस्या परेको खण्डमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहयोग कार्यमा सहयोगी भूमिका खेल्ने कांग्रेसका सबै साथीहरूलाई बस्नेतले धन्यावाद दिएका छन् ।

‘आफ्नो दैनिक गुजाराका निमित्त सडक पेटीमा विभिन्न पेशा व्यवसाय गर्नुहुने सबै जनमानसमा सडकमा मानिसको आवतजावत र सवारी साधनहरूलाई प्रभाव नपर्ने गरी आफ्ना कार्यहरू अगाडि बढाउँदै जीवन निर्वाह गर्नुहुन हार्दिक अपील गर्दछु’, नेता बस्नेतले भनेका छन् ।

काठमाडौं महानगरपालिकाका जनताले ठूलो अपेक्षा राखेर स्वतन्त्रबाट मेयरमा उम्मेदवार बनेका साहलाई भारी मत दिएर जिताएका थिए ।

साहले गरिव जनताको पक्षमा काम गर्ने र अव्यवस्थित व्यवसायलाई व्यवस्थित गर्छन् भन्ने धेरैलाई अपेक्षा थियो । तर, मेयर साहले सुरक्षाकर्मी लगाएर पोलेको मकै बेचेर दैनिक गुजारा गर्दै आएका दम्पत्तिको मकै र ठेला जफत गरेर आलोचना खेप्न पुगेका छन् ।

मेयर साह स्वतन्त्र हुन् । उनी कसैप्रति जवाफदेही छैनन् । उनको एउटा सम्भ्रान्त वर्गसँग मात्रै सम्बन्ध छ । त्यो सम्भ्रान्त वर्गको लागि मात्रै साहले काम गरेको देखिएको छ ।

मेयर साहले गरिव जनताको पेटमा लात हाने पनि कांग्रेसले ती जनताको आवाज बोलेको छ । कांग्रेस नेता बस्नेतले साहलाई कुनै आलोचना गरेका छैनन् । तर, साहको व्यवहारबाट आचार्य दम्पत्तिले दैनिक गुजारा गुमाउनु पर्दा कांग्रेस नेता बस्नेतले आर्थिक सहयोग गरेर कांग्रेस भन्ने पार्टी जनताप्रति जवादेही र जिम्मेवार छभन्ने सन्देश दिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवार बनेका साहको हर्कतले गरिव जनता दिक्क भएका छन् ।

मेयर साहले गरिव जनताको सामानहरू जफत गर्नुभन्दा अगाडि ती सडक पेटीमा बसेर व्यवसाय गर्ने समूहको व्यवस्थापन गर्नुपर्छ । मेयर साहले आफ्ना सुरक्षाकर्मीका प्रमुख धनपति सापकोटाको असली हर्कत बुझ्नुपर्छ ।

सापकोटासँग काठमाडौं महानगरका जनता कति दिक्क छन् भन्ने अध्ययन पनि गर्नुपर्छ । सापकोटा जहिलेदेखि काठमाडौं महानगरको सुरक्षाकर्मीमा जागिर खाएका छन् त्यस बेलादेखि जनतालाई दुःख दिन छाडेका छैनन् ।

तपाईंको प्रतिक्रिया

थप खबर