म मधेसबाट काँग्रेसको शीर्ष स्थानमा छु, देउवा खेमाको नेतृत्व गर्छु

  जेठ ३१, २०७

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै लगेका छन् । १४ औं महाधिवेशनमा मधेसी कोटाबाट सहमहामन्त्रीमा निर्वाचित यादव काँग्रेसको आन्तरिक राजनीतिमा जबरजस्त हावी भएका छन् ।

पूर्वउपसभापति विमलेन्द्र निधि सभापति शेरबहादुर देउवाको खेमाबाट बाहिरिएपछि मधेसको राजनीतिमा काँग्रेसभित्र यादव निर्णायक बन्दै गएको देखिन्छ । यादवका लागि प्रदेश कार्यसमिति पनि अनकुल छ । उनी निकट कृष्ण यादव काँग्रेस मधेस प्रदेशका सभापति छन् ।



महेन्द्र यादव देउवा समूहमा निधिको रिक्तता भर्ने गरी अगाडि बढेको पाइन्छ । ‘निर्वाचित सहमहामन्त्री भएकाले कार्यकर्ता र जनतालाई देउवा खेमाबाट मधेसको नेतृत्व मैले गर्छु भन्ने लाग्नु अस्वाभाविक पनि होइन,’ रातोपाटीसँग उनले भने, ‘किनभने पार्टीको शीर्ष तहमा म छु । पदाधिकारीका रुपमा संसदीय समिति र कार्यसम्पादन समितिमा छु । हिजो अरु थिए, आज म छु ।’



स्थानीय तह निर्वाचन, सत्तारुढ घटकबीच तालमेल, आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी र काँग्रेसको आन्तरिक शक्ति संघर्ष लगायतका विषयमा रातोपाटीले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग रातोपाटीका लागि लोकेन्द्र भट्ट र एसके यादवले गरेको कुराकानीको सम्पादित अंश–



स्थानीय निर्वाचनमा मधेस प्रदेशमा काँग्रेसले ४५ पालिका प्रमुख जितेको छ । मधेसमा काँग्रेस सबैभन्दा ठूलो पार्टी पनि बनेको छ । काँग्रेसले ल्याएको उक्त नतिजा अपेक्षित नै थियो ?



मधेसमा काँग्रेसले यसपटक राम्रो नतिजा ल्याएको छ । हाम्रो अपेक्षा अनुसार नै नजिता आएको छ । पछिल्लो समय काँग्रेस मधेसमा कमजोर भएकै थियो । अहिले मधेसमा काँग्रेसको राम्रो वातावरण बन्दै गएको छ । काँग्रेसप्रति मधेसका जनताको विश्वास बढ्दै गएको छ । त्यसैको नतिजा हो अहिले मधेसमा काँग्रेसले सबैभन्दा बढी पालिका प्रमुख जितेको छ । काँग्रेसले गुमेको जनमत फर्काइरहेको छ ।



मधेसमा काँग्रेस आफ्नै सामर्थ्यले पहिलो पार्टी भयो कि गठबन्धनका सहाराले यो परिणाम आयो ?



यो दुवै कुरा हो । केही ठाउँमा गठबन्धन भएको छ भने केही ठाउँमा काँग्रेसको सामर्थ्यले पनि हो । गठबन्धन देशभरिका लागि राम्रै छ तर मधेसमा काँग्रेसको आफ्नै बलियो जरा छ । विगतको नेतृत्वले मधेसमा काँग्रेसप्रति विश्वास दिलाउन सकेको थिएन । मान्छेमा काँग्रेसलाई भोट हाल्छु भन्ने थियो तर नेतृत्वले विश्वास दिलाउन नसकेका कारण मनमा काँग्रेस भए पनि भोट अर्कैैलाई दिन्थे । शेरबहादुर देउवा नेतृत्वमा आएपछि जनमत काँग्रेसतिर फर्किँदै छ । काँग्रेसले राम्रो पनि गर्न खोजेको छ । नागरिकताको विषय सम्बोधन गर्ने तयारी भइरहेको छ । काँग्रेस विस्तार ०४८ सालको अवस्थामा फर्किँदै छ ।

गठबन्धनको साथ लिएर पनि ०७४ को भन्दा जम्मा ५ पालिकामात्र बढी जित्दैमा मधेसमा काँग्रेसले ‘कम ब्याक’ गरेको मान्न सकिन्छ र ?

पार्टीको नेतृत्व तहबाटै अन्तरघातलाई प्रोत्साहन नभएको भए हामीले मधेसमा करिब ८० पालिका प्रमुख जित्ने अवस्था थियो । महोत्तरी, बारा, सिरहा, रौतहटमा राम्रो नतिजा ल्याउन सक्थ्यौं । नेतृत्वबाट पार्टीको विरुद्ध जान प्रोत्साहन गरेको पाइएको छ ।

मधेसमा काँग्रेसभित्र यति अन्तरघात किन हुन्छ ?

काँग्रेसभित्र अन्तरघात सबै ठाउँमा छ । मधेसका जनता जागरुक पनि छन् । मधेसमा वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रमा काँग्रेसका धेरै नेता छन् । सबैलाई व्यवस्थापन गर्न कहिलेकाहीँ गाह्रो पनि हुन्छ ।

मधेसकै केही नेताहरु पार्टीलाई बलियो पार्नुभन्दा आफूलाई बलियो पार्ने दृष्टिकोणले काम गर्दा कार्यकर्ताले न्यायोचित अवसर पाउनु भएको छैन ।  नेताहरुको उचित व्यवस्थापन नभएपछि अन्तरघात बढेको देखिन्छ । साथै नेताहरुले व्यक्तिगत फाइदाका लागि कार्यकर्तालाई उकासिदिने काम भएको छ । ‘तँ अन्तरघात गर । म तेरो पछि छु’ भन्ने प्रवृत्ति हावी भएको छ । ०५१ सालदेखि नै नेताबाटै अन्तरघात सुरु भएको हो । त्यो रोग अहिले पनि जारी छ ।

ती अन्तरघातीलाई पार्टीले किन कारबाही गरिरहेको छैन ?

कुरा उठिरहेको छ । केही मान्छेलाई कारबाही पनि भयो । जनताको बीचमा त्यस्ता नेताको पर्दाफास भइसकेको छ । केन्द्रीय समितिले कारबाही नगरे पनि जनताले उनीहरुलाई कारबाही गर्छन् । पार्टीलाई कसरी अनुशासित ढंगले अगाडि बढाउने भन्ने विषयमा केन्द्रमा छलफल भइरहेको छ । यो विषयमा केन्द्रीय समितिमा गम्भीर समीक्षा र छलफल हुन्छ ।

मधेस प्रदेशमा गठबन्धनमा बढी गडबड भएको देखिन्छ । प्रदेश र संघको निर्वाचनबारे कसरी सोचिराख्नु भएको छ ?

स्थानीय निर्वाचनमा भएको घटनाबाट हामी सबक लिन्छौं । गठबन्धन कायम हुन्छ । पाँच दलबीच गठबन्धन गरेरै संघ र प्रदेशको निर्वाचनमा हामी अगाडि बढ्छौं । काँग्रेसभित्र गठबन्धनलाई असफल पार्ने काम भएको छ । त्यसलाई हामी समीक्षा गर्छौं । अन्तरघातलाई नेताहरुले संरक्षण गरेको विषयमा पनि छलफल हुन्छ । यसमा ठोस निर्णय लिएर केन्द्र र प्रदेशको चुनावमा जान्छौं । धेरैभन्दा धेरै सिट काँग्रेसले जित्छ ।

मधेस प्रदेशमा ३२ वटा मात्र निर्वाचन क्षेत्र छन् । माओवादी, जसपा, एकीकृत समाजवादीलाई भागबण्डा गर्दा काँग्रेसले अहिले जितेको सिटमात्र पाउने अवस्था छ । त्यसमा अहिले लोसपालाई पनि थप्ने तयारी छ । गठबन्धन सम्भव छ र ?

चुनाव लड्नु, भाग पाउनु एउटा कुरा हो तर जितेर सांसद हुनु ठूलो कुरा हो । ०७४ मा नेपाली काँग्रेसले ३२ मा जम्मा ६ सिट जितेको छ । ०७४ मा मधेस केन्द्रित दलले ३२ मध्ये हामीलाई १६ वटा सिट दिएका थिए । बाँकी १६ वटामा संघीय समाजवादी फोरम र राजपाले लिने कुरा थियो । त्यस्तो भएको भए जनता विरोधी शक्ति एमालेको पत्तासाफ हुने थियो । हाम्रो अहिलेको भन्दा १० सिट बढ्थ्यो । विगतमा भूल भएको छ ।

यसपाली तालमेल र भागबण्डा लिएरै पनि बढीभन्दा बढी सिट जित्ने हाम्रो रणनीति छ । गठबन्धनले काँग्रेसलाई बलियो बनाउँछ । साझेदार दललाई पनि फाइदा हुन्छ ।

मधेसमा गठबन्धन हुनेमा ढुक्क हुनुहुन्छ ?

म ढुक्क छु । गठबन्धन हुन्छ हुन्छ ।

स्थानीय निर्वाचनमा मधेसमा काँग्रेसले धोका दिएको माओवादी, जसपा र एकीकृत समाजवादीको निष्कर्ष छ । यसले संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने विषयमा आशंका र प्रश्न जन्माएको छ नि ?

गठबन्धनलाई काँग्रेस पार्टीले असहयोग गरेको छैन । काँग्रेस पार्टीका केही नेताले मात्र असहयोग गरेका छन् । यसबारे केन्द्रीय समितिमा छलफल हुन्छ । जनता गठबन्धनको खिलाफमा छैनन् ।

मोरङका कार्यकर्ताहरुको अहिले चेत खुलेको छ । तालमेल नगर्दा मोरङमा डिजास्टर भयो भन्ने उनीहरुको बुझाइ छ । मोरङमा अहिले विगतमा जितेको सिट पनि जित्न सकेन ।

गठबन्धनमा रहेका दललाई काँग्रेसबाट कमजोरी भयो भन्ने लागेको छ । हामीलाई पनि उहाँहरुबाट कमी कमजोरी भएको लागेको छ । त्यसलाई हामी आगामी दिनमा सुधार गर्छौं । मेरो निर्वाचन क्षेत्र ढल्केवरमा कार्यपालिकाको निर्वाचनमा माधव नेपालकै पार्टी काँग्रेसको खिलाफमा एमालेसँग मिलेको छ । कार्यपालिका र स्थानीय तहको चुनाव लोकल इन्ट्रेस्टमा हुन्छ । संघ र प्रदेशको चुनाव राष्ट्रिय इन्ट्रेस्टमा हुन्छ ।

स्थानीय तहमा पाँच दलबीच चुनावी तालमेल सन्तोषजक थियो तर कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबीच तालमेल टुटेको देखिन्छ । यसले गठबन्धनको भविष्यमाथि खतरा देखाएको हो ?

स्थानीय निर्वाचनमा व्यक्तिगत स्वार्थ पनि हुन्छ । पार्टीको स्वार्थ भन्दा आफ्नो स्वार्थ हावी भइरहेको हुन्छ । जिल्ला समन्वय समितिमा धेरै भोट छ । त्यहाँ हिसाब किताब हुन्छ । त्यसपछि मान्छे पार्टी छोडेर व्यक्तिगत रुपमा हेरेर अगाडि बढ्छ ।

प्रदेश र संघको चुनावमा व्यक्तिगत कुरा हुँदैन । जिल्ला समन्वय समिति र कार्यपालिकामा देखिएका केही असझदारीले संघ र प्रदेशको चुनावका लागि तालमेलमा कुनै असर पार्दैन

तपाईंको प्रतिक्रिया

थप खबर