पर्वत। वाम लोकतान्त्रिक गठबन्धनको पैयुँ गाउँपालिका चुनाव परिचालन समितिले निर्वाचनमा हुने अवाञ्छित क्रियाकलाप रोक्न आग्रह गरेको छ। स्थानीय तह निर्वाचनको मौनअवधि सुरु भइसकेको अवस्थामा केही राजनीतिक दलका नेता कार्यकर्ताबाट अवाञ्छित क्रियाकला भइरहेकोले त्यस्ता गतिविधि रोक्न प्रशासन र सम्बन्धित राजनीतिक दलसँग आग्रह गरेको छ।
गएराति पैयुँ गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवारहरू सम्मिलित एक टोलीले नगद रकमको प्रलोभन देखाएर दलित बस्तीका मतदाताहरूलाई प्रभावित पार्न खोजेको वाम लोकतान्त्रिक गठबन्धनको चुनाव परिचालन समितिले जनाएको छ। एमाले कार्यकर्ताहरू नगद पैसा बोकेर दलित बस्तीमा पुगेको र सोही समयमा स्थानीयले उनीहरू मध्ये केहीलाई नियन्त्रणमा लिएर प्रशासनलाई बुझाएको छ।
प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट नगद ५४ हजार पाँच सय रुपैयाँ फेला पारेको गठबन्धनको चुनाव परिचालन समितिका संयोजक एक नारायण न्यौपानेले जानकारी दिए। मुचुल्का तयार गरी उनीहरूलाई नगदसहित गएराति नै ईलाका प्रहरी कार्यालय लगिएको पैयुँ ४ का सभापति रेशम रिजालले जानकारी दिए। गठबन्धनले मतदाता प्रभावित पार्न प्रयास गरेका उम्मेदवारहरूमाथि कारबाही गर्न माग गरेको छ।
संयोजक न्यौपानेले निर्वाचन आचारसंहिता विपरीतका गतिविधिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुनेमा शंका व्यक्त गरेका छन्। फेरि पनि यस्ता घटना दोहोरिए त्यसबाट हुने दुष्परिणामको जिम्मेवारी सोही दलले लिनुपर्ने उनले चेतावनी दिएका छन्। पैयुँमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन्। गठबन्धनबाट अध्यक्ष पदमा ताेरण मल्ल राज र उपाध्यक्ष पदमा जानकी प्रधान उम्मेदवार छन्। यसैगरी नेकपा एमालेबाट अध्यक्ष पदमा महेन्द्र श्रेष्ठ र उपाध्यक्ष पदमा यामकुमारी रानालाई उम्मेदवारी दिएका छन्।