संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपील

  बैशाख २८, २०७

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनका शीर्ष नेताहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बहुमतका साथ विजयी गराउन सबैमा अपील गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आज एक अपील जारी गर्दै विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका हुन् ।

संविधानसभामार्फत नेपाली नागरिकले जारी गरेको संविधान र नागरिकले निर्वाचित गरेको संसद्माथि भएको प्रहारलाई परास्त गर्दै आन्दोलनबाट प्राप्त परिवर्तनका उपलब्धिलाई जोगाउन गठबन्धन भएको उनीहरुले उल्लेख गरेका छन् ।

“दुई–दुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘सङ्कीर्ण र निषेध’ को राजनीतिका विरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको हो । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो । यो एकतालाई अक्षुण्ण राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच तालमेल गरी हामीले उम्मेदवारी दिएका छौँ । आजको दिन लोकतन्त्र, मानवअधिकार, कानूनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताका लागि गठबन्धनका हामी पाँच दल सदा अविचलित रहने प्रण गर्दछौँ,” गठबन्धनका नेताहरुद्वारा जारी अपिलमा उल्लेख छ ।

“प्रतिगमनविरुद्धको सङ्घर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुव सत्य हो । असंवैधानिकरूपमा संसद् विघटन गरिएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शक्तिपृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता विषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय सङ्कटको अवस्थामा थियो । पटकपटक संसद् विघटनपछि दशकौँ लडेर ल्याएको लोकतन्त्र सङ्कटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन सङ्घारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ,” अपीलमा जनाइएको छ ।

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित भएको उल्लेख गर्दै नेताहरुले स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सही ढङ्गले लोकतन्त्रको बाटोमा डो¥याउन सक्ने बताएका छन् । जनताले दिएको जिम्मेवारीलाई अवसरका रूपमा लिँदै मुलुकको बृहत्तर हितका खातिर जनभावनानुरूप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागिपर्ने गठबन्धनका नेताहरुले प्रणसमेत गरेका छन् ।

गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव भएकाले गठबन्धनको पक्षमा मतदानका लागि सबैले विवेकको प्रयोग गर्ने नेताहरुको विश्वास छ । यस क्षणमा आफूहरु सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दै उनीहरुले सबै क्षेत्र, वर्ग, समुदायलगायतको हक अधिकार सुनिश्चित गर्न समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

अपीलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । रासस

तपाईंको प्रतिक्रिया

थप खबर