काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतलाई ७७ वटै जिल्लाको चुनावी कोर्डिनेसन कमाण्डर बनाएको छ ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी दिएका हुन् । उपसभापति खड्काले आफ्नो समितिको वैशाख २ गते बैठक राखेर बस्नेतलाई उपसमितिको संयोजक मनोनित गरेका हुन् ।
उपसमितिले ७७ वटै जिल्लामा समन्वय गरी परिचालन समितिलाई सघाउनेछ । जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी पाएका बस्नेतलाई ४ वटा कार्यादेश दिइएको छ ।
संघीय प्रादेशिक राजधानीमा रहेका जिल्ला सम्पर्क समितिलाई स्थानीय तहको निर्वाचनमा सम्बन्धित स्थानीय तहमा परिचालित भई पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय भई कार्य गर्न आवश्यक निर्देशन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी स्थानीय तह भन्दा बाहिर जिल्लामा रहेका मतदातालाई सम्बन्धित स्थानीय तहमा गई मतदान गर्न प्रेरित गर्ने भनिएको छ ।
जिल्ला सम्पर्क समिति र जिल्ला/पालिका/वडा पार्टीसँग समन्वय गराई परिचालन गर्ने र उपसमितिसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने र गराउने जिम्मेवारी तोकिएको छ । बस्नेतले दिइएका जिम्मेवारी पूरा गरेर कांग्रेसलाई विजयी गराउने महाभियानमा कटिबद्ध भई लाग्ने प्रतिबद्धता जनाएका छन् ।