तुलसीपुर उपमहानगर : चर्चामा बित्यो पाँच वर्ष, अधुरै स्मार्ट सिटी

  चैत २८, २०७८

स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरे पनि तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट सिटी जस्ता अधिकांश योजना चर्चामै सीमित भए ।

१५ चैत, दाङ । ०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिमा मेयर जितेपछि घनश्याम पाण्डेले नगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरे । त्यसो त उनले चुनावी घोषणा पत्रमा नै स्मार्ट सिटी बनाउने प्रतिवद्धता जनाएका थिए ।

तुलसीपुरमा परिवर्तन गर्ने भन्दै उनी चुनाव जितेकै वर्षदेखि नै अवलोकनका लागि पटक-पटक विदेश उडे । चीन, ताइवान, थाइल्याण्डलगायतका देशको अवलोकन भ्रमण गरे । तर त्यहाँको विकासको सिको गर्न सकेनन् ।

करको भार थपेको आरोप

मेयरमा पाण्डेका प्रतिस्पर्धी कांग्रेस नेता गेहेन्द्र गिरी मेयर पाण्डेले नगरवासीमा करको भारी थप्ने काम गरेको आरोप लगाउँछन् । ‘करको दर बढेको बढ्यै छ’, उनले भने, ‘तर कर तिरेका जनताले पाउनुपर्ने विकास पाएनन् ।’

तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर अहिले भूमि, व्यवसाय, घरबहाल, विज्ञापन, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी करहरु लिने गरेको बताए ।

‘विगतमा नगरपालिका हुँदा, संरचना पनि सानो हुँदा करको दायरा पनि सानो थियो,’ उनले भने, ‘अहिले संरचना थपिएका छन्, खर्च बढेपछि केही करको दायरा र दर पनि बढेको छ ।’

‘विकास निर्माणको काम तीव्र रुपमा गर्नु राम्रो हो’ कांग्रेस नेता गिरी भन्छन्, ‘तर, विकास निर्माणका नाममा ऋणको भारी थोपर्नु राम्रो होइन ।’ उनले मेयर पाण्डेले जाँदाजाँदै करोडौंको ऋण भारी थमाएर जान थालेको आरोप लगाए ।

५७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी, कोष रित्तै

उपमहानगरले पूर्वाधार विकासका कामको ५७ करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्नेछ । भुक्तानी लिन निर्माण व्यवसायी र उपभोक्ता समितिले ताकेता गरिरहेका छन् । तर कोषमा पैसा नभएपछि सम्पन्न भइसकेका योजनाको भुक्तानी दिन नसकेको उपमहानगर प्रशासन बताउँछ ।

‘करलगायत आन्तरिक स्रोतबाट पैसा उठ्छ भनेर योजना अघि बढाइयो’ प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले भने, ‘आँकलन गरेको आन्तरिक स्रोत नउठेपछि भएका कामको भुक्तानी दिन समस्या भइरहेको छ ।’

लक्ष्य अनुसार कर नउठेका कारण चालु आर्थिक वर्षको अन्त्यसम्ममा भुक्तानी दिनुपर्ने रकम अर्ब पुग्ने अनुमान छ ।

जनप्रतिनिधि आएको तीन वर्षसम्म नगरको आम्दानी खर्च बराबर जस्तै थियो । पछिल्ला दुई वर्षमा उपमहानगरले आवश्यक बजेटको स्रोत नै पहिचान नगरी धमाधम महत्वकांक्षी योजना अघि बढाउँदा ५७ करोड रुपैयाँ उधारो तिर्न बाँकी रहेको हो ।

प्राविधिक शिक्षामा जोड

तुलसीपुर उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यमा भने केही उल्लेखनीय काम गरेको छ । नगरले प्राविधिक शिक्षालय र मेट्रो अस्पताल सञ्चालन गरेको छ । प्राविधिक शिक्षालय ‘मेट्रो कलेज’ मा सीटीईभीटीईतर्फ डिप्लोमा तहका वन विज्ञान, वाली विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ पढाइ हुन्छ । यस्तै बीएएलएलबी पनि अध्यापन भइरहेको छ ।

मेट्रो कलेजमा सामुदायिक विद्यालयबाट एसईई गरेका छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराएको शिक्षालयका प्रमुख बसन्त आचार्यले बताए । उनका अनुसार कलेजमा अहिले १ सय २६ छात्राले निःशुल्क प्राविधिक शिक्षा पढिरहेका छन् ।

‘तुलसीपुरलाई प्राविधिक शिक्षाको  केन्द्रका रुपमा विकास गर्न पालिकाबाट प्राविधिक कलेज सञ्चालन गरेका छौं,’ उनले भने, ‘तुलसीपुरलाई आवश्यक पर्ने जनशक्ति यहीं उत्पादन गर्न सकियोस् भनेर कलेज स्थापना गरेका हौं ।’

उपमहानगरभित्रका नौ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापन भइरहेको छ । जहाँ एक हजार बढी विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन् ।

यसअघि प्राविधिक शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो भने दुई लाख बढी तिर्नुपर्ने अवस्था थियो ।

कोभिड संक्रमण रोक्न गरेको काम उदाहरणीय

उपमहानगरले स्थापना गरेको मेट्रो अस्पतालले कोभिड संक्रमणको समयमा निकै उल्लेखनीय काम गर्‍यो । कोभिडको दोस्रो लहरसँग जुधिरहेको अवस्थामा तुलसीपुर उपमहानगरले स्थापना गरेको मेट्रो अस्पताल कोभिड पछि अहिले २५ बेडको जनरल अस्पतालका रुपमा सञ्चालित छ ।

कोभिडको दोस्रो लहरको संक्रमणका बेला ५५ बेड एचडीयुसहितको उपचार सेवा दिंदै मेट्रो अस्पतालले महत्वपूर्ण भूमिका खेलेको थियो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक विमल केसीले मेट्रो अस्पतालमा अहिले ३ जना डाक्टरबाट विषशेज्ञसहितको सेवा प्रदान गर्दै आएको बताए । अस्पतालले ओपीडी, इमर्जेन्सी, ल्याब र भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा दिँदै आएको छ ।

‘उज्यालो तुलसीपुर’ले फर्काउँदै छ आँखाको ज्योति

०७४ सालदेखि ‘उज्यालो तुलसीपुर’अभियान अन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले मोतिया विन्दु भएकाको निःशुल्क शल्यक्रिया गराउँदै आएको छ । अहिलेसम्म २ सय ५७ जनाको मोतियाविन्दुको उपचार गरिएको केसीले बताए ।

मेयर पाण्डेले यो अभियान सञ्चालन गर्ने देशकै पहिलो उपमहानगर तुलसीपुर भएको भन्दै उज्ज्यालो अभियान अहिले अरु स्थानीय तहले सिको गरिरहेेको बताउँछन् ।

कांग्रेस नेता गिरी भने उपमहानगरले प्रचारात्मक काम मात्र गरेको बताउँछन् । ‘तुलसीपुर उपमहानगरको नेतृत्वले लोकपि्रयता बटुल्ने गरी चुनावी घोषणा पत्र ल्यायो, मतदाताले विश्वास गरेर चुनाव जिताए’, उनले भने, ‘पाँच वर्षमा प्रचार भयो, हेर्न लायक विकास केही भएन ।’

उपमहानगरले उदाहरणीय र उल्लेखनीय काम गर्न नसकेको उनले बताए । ‘विकास भयो भनेर हेर्नलायक कुनै काम देखिएको छैन’, गिरीले भने, ‘शहर बजारभित्रकै सडकका खाल्डा खुल्डी पुर्ने जस्ता सामान्य काम समेत हुन सकेन ।’

तर मेयर पाण्डेले भने आफ्नो समग्र कार्यकालमा उत्कृष्ट काम गरेको बताउँछन् । ‘हिजो चुनावका बेला जनता समक्ष जे प्रतिवद्धता गरेका थियौं, आज त्यो पूरा गरेका छौं’ उनले भने ।

मेयर पाण्डेले तुलसीपुरले शिक्षा, स्वास्थ्य खानेपानी र प्रविधिका क्षेत्रमा देशभरीका लागि नमुना योग्य काम गरेको दावी गरे । उनले स्थानीय तहको स्वमूल्यांकनमा ८० प्रतिशत उपलब्धि हासिल गरेको भन्दै आफ्नो बचाउ गरे ।

 

तपाईंको प्रतिक्रिया

थप खबर