र्वाचनमा तीन तहका सरकारबीच सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा नेतृत्व गर्न सक्ने व्यक्ति उम्मेदवार हुनुपर्छ ।

  चैत २७, २०७८

नेपालमा संघीयता लागू भएपछि स्थानीय तहको दोस्रो पटक निर्वाचन हुँदैछ । यसमा कस्तो उम्मेदवार हुनुपर्छ भन्ने विषयमा चर्चा सुरु भएको । यसर्थ, संघीय शासन प्रणालीको आधारका रूपमा रहेको स्थानीय तहको निर्वाचनमा तीन तहका सरकारबीच सहकारिता, समन्वय र सहअस्तित्वका आधारमा नेतृत्व गर्न सक्ने व्यक्ति उम्मेदवार हुनुपर्छ ।

नेपालको संविधानको अनुसूची ८ मा उल्लेख गरिएको २२ वटा कामहरू समुचित ढंगले सम्पादन गर्न सक्ने व्यक्ति नै उत्तम उम्मेदवार हुन सक्छ । त्यसैले स्थानीय तहको अधिकार क्षेत्रका विषयमा सर्वप्रथम विवेचना गर्न जरुरी छ ।

संविधानको अनुसूची ८ मा गाउँ र नगर प्रहरी भर्ना गर्ने कानुनी व्यवस्था छ । उक्त प्रहरीले तत्कालका लागि नेपाल सरकारको सुरक्षा निकायसँग समन्वय गरी काम गर्नुपर्छ । साथै, सामान्य शान्ति सुरक्षा र अमनचैन कायम राख्ने, रात्रिको समयमा गस्ती गर्ने, सार्वजनिक जमिनको सुरक्षा, छाडा चौपायाको व्यवस्थापन गर्ने काम गर्नुपर्छ । फुटपाथमा अनाधिकृत पसल राख्न नदिने, जथाभावी पार्किङ्ग गर्न नदिने, मदिरा पसललाई तोकिएको अवधिपछि बन्द गराउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने, लाउड स्पीकर बजाउने, सार्वजनिक स्थलमा कसैले कब्जा जमाउने कामको नियन्त्रण गर्ने काम गर्नुपर्छ । यी काममा पारख व्यक्ति उम्मेदवार हुनुपर्छ ।

यसैगरी, संविधान अनुसार सहकारी संस्थाको दर्ता, नवीकरण, सञ्चालन, नियमनको जिम्मेवारी स्थानीय तहमा छ । यसर्थ, सहकारीका सुपथ मूल्य पसल खोल्नुपर्छ । पालिकाभित्रको माग र आपूर्तिको व्यवस्थापन गर्ने जिम्मेवारी सहकारीलाई दिनुपर्छ । सहकारी खेती र सामूहिक खेती गर्ने तथा नागरिकमा बचत गर्ने बानीको विकास गर्नेर् र उन्नत जातका बीउ बिजन बिक्री गर्ने, अर्गानिक खेती गर्ने, प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, जैविक विषादी उत्पादन र उपयोग गर्ने, सिँचाई सुविधा व्यवस्थापन गर्ने कामको व्यवस्थापन गर्नुपर्छ । यी कुराको नेतृत्व लिन सक्ने व्यक्ति उम्मेदवार हुनुपर्छ ।

पालिकाहरूले एफएम पनि सञ्चालन गर्नुपर्छ । यो भनेको काम गर र ‘मार्केटिङ्ग’ गर भनेको हो । यस स्थितिमा पालिकाहरूले नयाँ एफएम खडा गर्ने, केही सञ्चार विज्ञलाई रोजगारी दिने, जनतामा निरन्तर सूचना प्रवाह गर्ने र भएका एफएमहरूलाई सुव्यवस्थित गर्ने काममा जुट्नु बुद्धिमानी हुनेछ ।

स्थानीय कर, सेवा शुल्क उठाउने जिम्मेवारी पनि पालिकाको काँधमा छ । यसर्थ, पालिकाहरूले सेवा प्रवाह गर्नुका साथै कर पनि असुली गर्नुपर्छ । हाल कर उठाएर सिंह आएको अनुभूति भएको, तर सेवा प्रवाह नहुँदा दरबार आएको अनुभूति भएन भनी आलोचना भैरहेको छ । अबको नेतृत्वले यस भ्रमलाई चिर्नुपर्छ ।

स्थानीय सेवा संचालानका लागि कानुन जारी हुन बाँकी छ । यसर्थ, सेवाका शर्तहरू तयार गर्ने, कर्मचारी व्यवस्थापनको नीति निर्माण गर्ने, वृत्ति विकास योजना तयार गर्ने लगायतको काम गर्न सक्ने जनप्रतिनिधि उम्मेदवार बन्नुपर्छ ।

स्थानीय तहले तथ्यांक र अभिलेख व्यवस्थापन गर्नुपर्छ । यसका लागि स्थानीय तहले नगर र गाउँ प्रोफाइल तयार गर्नुपर्छ । यस्ता तथ्याङ्कहरूमा घरधुरी, परिवार र जातजातिको तथ्याङ्क संकलन गर्नुपर्छ । जग्गा जमिनको वर्गीकरण, सार्वजनिक जमिन, वन क्षेत्र, खोला र मैदानको विवरण तयार गर्नुपर्छ ।

यसैगरी, कृषि उब्जनी, पशुपालन, पंक्षी, चराचुरुङ्गी, वन्यजन्तुको संख्या यकीन गर्नुपर्छ । स्कुल, विद्यार्थी, शिक्षक, स्वास्थ्य चौकी, बिरामी संख्या, हुलाक, पत्राचारको संख्या, सहकारीका बचतकर्ता, घरेलु उद्योगका लागि तालिम लिएका व्यक्तिहरूको ‘इन्भेण्टरी’ तयार गर्नुपर्छ । साथै, स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरूको प्रोजेक्ट बैंक बनाउनु पर्छ ।

त्यो उम्मेदवार उत्कृष्ट ठहरिनेछ, जो दलीय स्वार्थबाट माथि उठ्न सक्छ । जसले व्यक्तिगत स्वार्थ राख्दैैन । जसमा जिम्मेवारी बोध गर्ने क्षमता छ । जसले विषयगत समिति गठन गरी सबैलाई ‘अनबोर्ड’ गर्न सक्छ

संघीय र प्रदेशका योजना कार्यान्वयन र समन्वय गर्ने, बस्ती विकास योजना तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कामका लागि एकजना विकास विज्ञ नियुक्ति गरी निरन्तर आयोजना अपडेट गर्नुपर्छ । यी कामको अनुभवी व्यक्ति उम्मेदवार बन्नुपर्छ ।

स्थानीय तहले आधारभूत र माध्यमिक शिक्षा सञ्चालन गर्नुपर्छ । नेपालको संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरेको छ । यस अन्तर्गत, मातृ भाषामा पठनपाठन गर्ने, पाठ्यक्रम तर्जुमा गरी लागु गर्ने, विद्यालयको नामाकरण गर्ने, छात्रवृत्ति दिने र तालिम दिनेसम्मका काम पालिकाहरूले गर्नुपर्छ ।

आधारभूत स्वास्थ्य र सफाईको जिम्मेवारी पनि स्थानीय तहको काँधमा छ । यसर्थ, आम गाउँबासी वा नगरबासीले आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति पालिकाबाट पाउनुपर्छ । साथै, आम नागरिकमा स्वास्थ्य शिक्षा दिनुपर्छ । पालिकाले फोहोर व्यवस्थापन गर्नुपर्छ । जनतामा सफाईको शिक्षा दिनुपर्छ । जनतामा कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्ने तालिम दिनुपर्छ । फोहोरलाई मोहोरमा रूपान्तरित गर्नुपर्छ । पोषण र प्रजननसम्बन्धी जानकारी दिने तथा खानेपानी, सरसफाई, औषधि लगायतको व्यवस्थापन पनि पालिकाले गर्नुपर्छ ।

स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधताको व्यवस्थापन गर्ने र पालिकाभित्रको स्थानीय उत्पादन बिक्री गर्न कोसेली घर स्थापना गर्ने काम पनि पालिकाकै हो । प्रत्येक वडामा हाट बजार लाग्ने व्यवस्था गर्नुपर्छ । नियमितरूपमा बजार अनुगमन गर्नुपर्छ । मूल्यसूची लगायतको अनुगमन गर्नुपर्छ । प्रत्येक पालिकाले माग र आपूर्तिको व्यवस्थापन गर्नुपर्छ । यी काममा पनि व्यवहारिक ज्ञान भएको व्यक्ति उम्मेदवार बन्नुपर्छ ।

यस अतिरिक्त, स्थानीय तहले स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिँचाईको पनि व्यवस्थापन गर्नुपर्छ । स्थानीय सडक र ग्रामिण सडक गाउँ बस्तीसम्म पुग्ने हुनुपर्छ । तर, कृषि सडक घडेरीमा पुग्ने होइन, खेतीमा पुग्ने हुनुपर्छ । साथै, कृषि भूमिमा सिँचाई सुविधा पुर्‍याउनु पर्छ । सिँचाई सुविधा प्राप्त भूमिको प्लटिङ्ग रोक्नु पर्छ । बस्ती बसाउन ‘ल्याण्ड पुलिङ्ग’ गर्नुपर्छ । यी कुरामा खरो उत्रिने व्यक्ति नै उपयुक्त उम्मेदवार हुनेछ ।

गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यबस्थापन गर्ने काम पनि पालिकाकै हो । यसैगरी, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारीको जिम्मेवारी पनि पालिकामै रहेको छ । यस अन्तर्गत पालिकाहरूले कृषि क्षेत्रमा अर्गानिक उत्पादनलाई बढावा दिनुपर्छ । रसायनिक मल र विषादीकोे सट्टा क्रमशः प्राङ्गारिक मल र जैविक विषादीको खपत बढाउनु पर्छ । उन्नत जातका बीउ बिजनको माध्यमद्वारा सहकारी र सामूहिक खेतीमा जोड दिनुपर्छ । खेती-किसानीसँगै पशुपालनलाई एकीकृत ढंगले विकास गर्नुपर्छ । शित भण्डार, चरन विकास, पशु बधशाला, प्रकोप नियन्त्रण लगायतको काम गर्नुपर्छ ।

प्रत्येक पालिकाले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्नुपर्छ । यसैगरी, बेरोजगारको तथ्यांक संकलन गर्ने खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा सम्बन्धी काम पनि गर्नुपर्छ । यसर्थ, सबै पालिकाहरूले आफ्ना प्रत्येक नागरिकको घरसम्म खानेपानीको पाईप पुर्‍याई दिनुपर्छ । गाउँबासी वा नगरबासीलाई चौबिसै घण्टा विद्युत सेवा प्रदान गर्नुपर्छ । यदि नेशनल ग्रीड पुगेको छैन वा लोडसेडिङ्ग हुने गरेको छ भने साना जलविद्युत आयोजनामा लगानी गर्नुपर्छ । जलविद्युतका लागि उपयुक्त खोला वा नदी छैन भने वैकल्पिक ऊर्जा अर्थात् सोलार, टर्बाइन, गोबर ग्यास प्लाण्ट वा अन्य विकल्पको खोजी गर्नुपर्छ ।

हरेक पालिकाले विपद व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण गर्ने र भाषा, संस्कृति र ललितकताको संरक्षण र विकास सम्बन्धी काम पनि गर्नुपर्छ । यी सबै कामको समन्वय र नेतृत्व गर्न सक्ने व्यक्तिनै आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्नुपर्छ ।

यसर्थ, आगामी स्थानीय तहको निर्वाचनमा सक्षम नेतृत्वको खाँचो छ । संस्थागत एवं स्वमूल्यांकनको नतिजामा उत्कृष्ट ठहरिएको पालिकाको नेतृत्वलाई पुनः मौका दिनुपर्छ । महिलाको संख्या साविकको भन्दा घटी नहुने कुराको प्रत्याभूति गर्नुका साथै नगरप्रमुख र अध्यक्ष एवं वडाअध्यक्षको उम्मेदवारमा उनीहरूलाई उच्च प्राथमिकता दिनुपर्छ । यथार्थमा, आगामी निर्वाचनको उम्मेदवार चरित्रवान हुनुपर्छ । समावेशी योजना बनाउन सक्ने र समूह गतिशीलतामा विश्वास गर्ने हुनुपर्छ ।

त्यो उम्मेदवार उत्कृष्ट ठहरिनेछ, जो दलीय स्वार्थबाट माथि उठ्न सक्छ । जसले व्यक्तिगत स्वार्थ राख्दैैन । जसमा जिम्मेवारी बोध गर्ने क्षमता छ । जसले विषयगत समिति गठन गरी सबैलाई ‘अनबोर्ड’ गर्न सक्छ । जोसँग अनुभव छ, तथा समाजमा उच्च नैतिक चरित्र प्रमाणित गरेको छ, त्यही व्यक्ति सही उम्मेदवार हो ।

स्थानीय सरकार बुझेको, जनताको अपेक्षा अनुसार काम गर्न सक्ने र पाँच वर्षको योजना निर्माण गरी काम गर्ने व्यक्ति चाहिएको छ । जसको भिजन होस्, अन्य पालिकासँग सहकार्य गरोस् । करको दर होइन, दायरा बढाओस् । रोजगारीको योजना ल्याओस् । गरिबी घटाओस् । जनतालाई अनावश्यक आश्वासन नदेओस् । त्यागी र स्वच्छ छविको व्यक्ति होस् । ऊसँग कम्तिमा सामान्य प्राविधिक ज्ञान होस् । भ्रष्टाचार र बेरुजू विरुद्ध काम गर्न सकोस् । उत्तरदायित्व र जवाफदेहिता बहन गरोस् । व्यक्तिगत र दलगत स्वार्थ नराखोस् । निर्वाचनमा लगानी गरेर चुनावमा उठेपछि असुली गर्ने नहोस् । जनताको कुरा सुन्ने र कर्मचारीसँग मिलेर काम गर्ने व्यक्ति होस् । यी गुण भएका व्यक्ति उम्मेदवार हुनुपर्छ । आम मतदाता पनि यी कुरामा सजग हुनुको आजको आवश्यक्ता हो ।

तपाईंको प्रतिक्रिया

थप खबर