हैदरबाद, भारत — कम्तीमा १० अर्ब रुपैयाँ खर्च गरेर ७४ वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारीमा रहेको नेपालले विश्वभरका वायुसेवा कम्पनीलाई व्यवसायिक उडानका लागि निम्तो दिएको छ ।
दक्षिण भारतको तेलंगानास्थित हैदराबादमा आयोजित ‘विंग्स इन्डिया : ग्लोबल एभिएसन समिट २०२२’ मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले शनिबार उद्घाटन समारोहमा भने, ‘नेपालले भगवान बुद्धको जन्मजयन्तीको साइत पारी १६ मेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनको लागि तयारी पूरा गरेको छ । म उडानसँग सरोकार राख्ने सबैलाई बुद्धको जन्मथलोमा निमन्त्रणा गर्न चाहन्छु ।’
सरदार पटेलरोडस्थित बेगमपेट विमानस्थलमा बिहीबारबाट सुरु भएको चारदिने हवाई मेलामा मन्त्री आलेले नेपालको नागरिक उड्डयन नीति वैदेशिक लगानीकर्तामैत्री भएको उल्लेख गर्दै भारत लगायत सहभागी मुलुकका विमान उत्पादक, वायुसेवा–कार्गो संचालक, एमआरो (जहाज मर्मत गर्ने संस्था), विमानस्थल लगानीकर्ता लगायत उड्डयन व्यवसायसँग सरोकार राख्नेहरुलाई नेपालको खुला आकास नीतिको अधिकतम लाभ उठाउन आग्रह गरे ।
भारत सरकारको निम्तोमा नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका पदाधिकारी–कर्मचारीसहितको टोलीको नेतृत्व गर्दै शुक्रबार नयाँदिल्ली हुँदै हैदरबाद आइपुगेका मन्त्री आलेले भारतलाई श्रीलंकाका बौद्धमार्गी पर्यटकलाई लुम्बिनीमा सहजै पुर्याउन बैंलोरबाट कोलम्बो उडानका लागि नेपाली वायुसेवाको बाटो खोलिदिन भने । पछिल्ला वर्ष बैंलोर नेपाली विद्यार्थीहरुले रुचाएको शैक्षिक हब मानिन्छ । त्यहाँको श्रमबजारमा पनि थुप्रै नेपालीहरु वर्षौंदेखि आउजाउ गर्दै आइरहेका छन् ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार चारवटा जेट विमान भएको निगमले बैंलोर– कोलम्बो उडान गर्ने योजना बनाइरहेको छ । काठमाडौंबाट बैंलोर हुँदै श्रीलंकाको कोलम्बो जान निगमले भारतलाई फिफ्थ फ्रिडम राइट (पाँचौं स्वतन्त्रता अधिकार) उपयोग अन्तर्राष्ट्रिय उडान अनुमति माग्दै आइरहेको छ । यो अधिकारमा वायुसेवालाई तेस्रो गन्तव्यका यात्रु लैजाने–ल्याउने विशेषाधिकार रहन्छ ।
नेपालसहित १५ मुलुक तथा भारतका २५ प्रदेश सरकार सहभागी कार्यक्रममा मन्त्री आलेले भैरहवा संचालन भएको ६ महिनापछि नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि संचालनको तयारीमा रहेको बताए ।
१५ वर्षयता दक्षिण एशियाकै सबैभन्दा ठूलो उड्डयन शिखर सम्मेलन गर्दै आएको भारतलाई मन्त्री आलेले नेपाली विमानलाई भारतको कोलकत्ता र हैदरबादमा पनि व्यवसायिक उडानका लागि बाटो खोलिदिन आग्रह गरे ।
‘हामी हाम्रा सबै छिमेकीहरूसँग हाम्रा स्रोतहरूबाट अधिकतम लाभ लिनको लागि हात मिलाउनेछौं,’ भारत सरकारका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिधियालाई सम्बोधन गर्दै आलेले भने, ‘बैङ्लोरदेखि कोलम्बोसम्म पाँचौं स्वतन्त्रता अधिकार प्रदान गर्न सकिएमा यो धेरै सराहनीय हुनेछ । त्यसैगरी महामारीबाट भर्खरै तंग्रिएको नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाली ध्वजावाहक वायुसेवालाई कोलकाता र हैदरावादमा उडान खोल्न सहयोग गरिदिनुहुन माननीय मन्त्री सिन्दियालाई अनुरोध गर्न चाहन्छु ।’
पर्यटन मन्त्री आलेले अब संचालनमा आउन लागेको पोखरा र भैरहवा विमानस्थललाई जोड्न लिमा–६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन पनि समकक्षी सिन्दियालाई अनुरोध गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेका अनुसार पश्चिम नेपालका भैरहवा र महेन्द्रनगर वायुक्षेत्रबाट जहाज निस्किने मात्रै एकतर्फी रुट छन् । मध्यपूर्वी मुलुक तथा नयाँदिल्ली हुँदै यी रुटबाट जहाज नेपाली वायुक्षेत्रभित्र काठमाडौंका लागि प्रवेश गर्न पाउँदैनन् ।
प्राधिकरणका अनुसार नेपालले ०७५ कात्तिकमा भारतसँग दुईपटक संयुक्त प्राविधिक बैठक गर्दै महेन्द्रनगरको वायुक्षेत्रबाट नयाँदिल्ली हुँदै पश्चिमी मुलुकहरुतर्फ जाने रुटलाई दुईतर्फी बनाउन सहमति नजिक पुगिसकेको थियो । तर, भारतले तीन वर्षयता प्राविधिक बैठकले ‘सदर गरेका’ विषयमा अन्तिम निर्णय गरिसकेको छैन ।
मन्त्री आलेले महेन्द्रनगरमाथिको लिमा–६२६ हवाई रुटलाई दुईतर्फी बनाइदिन यसअघि कात्तिकमा नयाँदिल्ली पुगेर सिन्धियालाई भनेका थिए ।यसपटक पनि उनले यो विषयलाई प्राथमिकता दिँदै दोहोर्याए । ‘नेपाल हालको लिमा ६२६ हवाई रुटलाई द्विपक्षीय रुटका रूपमा बनाउन चाहन्छ । यदी यो रुट दुईतर्फी भएमा यसले हवाई इन्धन खपत घटाउने तथा कार्बन उत्सर्जनमा पनि कमी ल्याउने छ,’ शनिबार उद्घाटनपछि आयोजित फ्रान्स, लावस, भारतसहितका पर्यटन तथा उड्डयन मन्त्रीस्तरीय छुट्टै बैठकमा पनि बोल्दै आलेसहित नेपाली प्रतिनिधिमण्डलले सिन्धियालाई नेपाल र भारतसँग जोडिएका विषयबारे पत्र पनि बुझाए ।
आलेसँगको भेटमा भारतीय समकक्षी सिन्धियाले नेपालको मागबारे आफू सकारात्मक रहेको बताएका छन् । ‘भारतीय नागरिक उड्डयन मन्त्रीले नेपालको मागमा सकारात्मक भएको बताउँदै गरिदिन्छु भन्नु भएको छ,’ दुई मन्त्रीबीच भएको भेटवार्तामा सहभागी एक नेपाली अधिकारीले कान्तिपुरसँग भने ।
उक्त भेटमा आलेले मध्य नेपालमाथिको आकास भएर चीन जोड्ने प्रस्तावित हिमालय–२ हवाई रुटबारे बोलेका थिए । एशिया जोड्ने यो रुटले चीनको ल्हासा हुँदै जहाजलाई नेपाल निस्किन सजिलो हुने भनिएको छ । यो हवाईरुटले यात्रुहरुको हवाई समय घटाउने तथा कार्वन उत्सर्जनमा पनि योगदान दिनेछ ।
पछिल्ला वर्षहरूमा भारतले उड्डयन क्षेत्रमा आक्रमक शैलीमा लगानी गरिरहेको छ । विश्व बजारमा भारत उडान संख्या र यात्रुतर्फ आन्तरिक उडानमा तेस्रो र अन्तर्राष्ट्रिय उडानमा सातौं स्थानमा छ ।
हैदराबादमा भारत उड्डयन मन्त्री सिन्धियाले सबैका लागि उडान अवधारणामा रहेर आफ्नो मुलुकले ड्रोन, कार्गो, व्यवसायिक उडान लगायतमा नीति बनाइरहेको सुनाए । ‘हामी सन् २०३० सम्म नागरिक उड्डयन क्षेत्रमा विश्वमै पहिलो स्थानमा पुग्ने लक्ष्यमा छौं,’ सिन्धियाले भने, ‘७ वर्षमा ६० वटा विमानस्थल थप्यौं सन् २०२५ सम्म थप ८० वटा विमानस्थल बनाउने योजना छ ।’
हाल भारतको हवाई यातायात क्षेत्रले दैनिक ४ लाख यात्रुलाई सेवा दिँदै आइरहेको छ । यसले कम्तीमा ४ सय वटा विमानस्थल संचालन गर्दै आइरहेको छ ।
७ दशकपछि ७ वर्ष खर्चेर १० अर्ब रुपैयाँ ऋण तथा अनुदानमा भैरहवाको आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालले हाल काठमाडौंमा रहेको एक अन्तर्राष्ट्रियसहित तीन दर्जन विमानस्थल संचालन गर्दै आइरहेको छ । नेपालमा कोभिडअघि हवाई यातायातबाट १० हजारसम्म यात्रुले एक दिनमा सेवा लिएको रेकर्ड छ ।