तातोपानीबाट भित्रियो ५३९ टन मल

  चैत १२, २०७८

सिन्धुपाल्चोक — तातोपानी नाकाबाट शुक्रबारसम्म ५३९ टन युरिया मल भित्रिएको छ । अहिलेसम्म १५ सयमध्ये ५ सय ३९ टन मल सीमा क्षेत्रमा भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बुधबारयता १९ कन्टेनर आइपुगेकामा धेरैमा युरिया मल आइरहेको र केहीमा कुखुराको दाना र स्याउ रहेको उनले बताए ।

बाँकी कन्टेनर मल पनि चीनबाट नेपालका लागि छुटिसकेका छन्, भन्सार प्रक्रिया पूरा गर्नुपरे पनि कृषिजन्य सामग्री आयातमा भन्सार महसुल पूर्ण छुट दिइएको छ,’ गौतमले भने । भन्सार प्रक्रियाबीच युरिया मलको नमुना परीक्षणका लागि भन्सार विभाग पठाइएको र ल्याबको रिपोर्ट आएपछि काठमाडौंका लागि छुट्ने उनले उल्लेख गरे । यसअघि चीनबाट रासायनिक मल आयात गर्न टेन्डर पाएको सिल्क मार्केट कम्पनीले युरिया भित्र्याएको हो ।

६ महिनाअघि सिल्कले पहिलो चरणमा केही कन्टेनर मल भित्र्याएको थियो । केही समय चिनियाँ पक्षले कृषिजन्य सामग्री आयातमा रोक लगाएपछि अहिले प्रतिदिन आठ कन्टेनरबाट बाँकी भित्र्याइँदै छ । ‘बाँकी मलसहित अन्य फलफूल बोकेको कन्टेनर खासा र न्यालमबाट आउँदै छन् । अन्य व्यापारिक सामग्री कन्टेनरमा खासै आएका छैनन्,’ उनले भने । यसअघि सिल्क मार्केटले चीनको छिन्हाई सहरस्थित उत्पादकसँग मल खरिद गरेकामा ग्लोबल टेन्डरमा प्रतिटन मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो ।

सिल्कले उताबाट व्यावसायिक रूपमा किनेको कृषि सामग्री मल संस्थानलाई टेन्डरअनुरूप बुझाउनेछ । ‘मलको अभाव बेहोरिरहेका स्थानीय किसानबीच यस खबरले केही उत्साह थपिदिएको छ, यो धेरै खुसीको कुरा हो,’ भोटेकोसी–३ का अध्यक्ष कैलाश पौडेलले भने । ग्लोबल टेन्डरपछि नेपाल सरकारले सिल्क मार्केटलाई चीनबाट १० हजार टन रासायनिक मल आयात गर्ने ठेक्का दिएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर